राजदूतको मर्यादा

राजदूतको मर्यादा

मुलुकको प्रतिनिधित्व गर्ने राजदूत विवादित हुने र तिनलाई फिर्ता गर्नुपर्ने घटना सामान्य बन्दै छन्। लोकतन्त्र बहालीयता दुई राजदूत विवादमा तानिएर फिर्ता भए। दूतावासको उपप्रमुखको पनि मिसन परिवर्तन भएका घटना उत्तिकै छन्। कार्यवाहक भएका पनि कारबाहीमा परेका घटना पनि परराष्ट्र मन्त्रालयको अभिलेखमा छन्। सुन्दा सामान्य लाग्ने तर यस्ता गहन सवाल पछिल्लो समय हुर्कंदो छ। विवादमा परेपछि राजदूतले त्यो मुलुकमा पदीय हैसियत गुमाउँछन्।

यतिबेला राजदूत लक्की शेर्पा विवादमा परेकी छन्। राजदूतबाट आकलन नै गर्न नसकिने मानव तस्करीको आरोप छ। आरोप मात्र हो या त्यस्तो क्रियाकलापमै संलग्न भएको हो, त्यसको सत्यतथ्य छिट्टै बाहिर ल्याउन जरुरी देखिन्छ। यसखाले धन्दा अन्य मुलुकका दूतावासमा पनि नहोला भन्न सकिन्न। त्यसमा सरकारले चनाखो हुनुपर्ने देखिन्छ।

राज्यले पुराना घटनाबाट शिक्षा लिँदै राजदूत नियुक्तिकै बेला सक्षम, उच्च नैतिकता पहिलो सर्त राख्नुपथ्र्याे। त्यसअतिरिक्त विद्वता, तीक्ष्ण चेत, धैर्य र सहनशीलता खोजिनुपथ्र्याे। तर, शासकीय वृत्तले भागबन्डा र लेनदेनलाई आधार मान्दै नियुक्तिको खेल भित्याएपछि त्यस्ता खराब दृश्य सामान्न बन्न पुगेका हुन्। 

अझ अनेकन आर्थिक कारोबारमा संलग्न भएकाहरू नियुक्ति दिने प्रचलनले पनि विकृति भित्रिएको हो। हामीकहाँ नगन्य मात्र सक्षम र योग्य छविका राजदूतको सूची बन्नुको कारण पनि नियुक्तिमा हाबी ‘कैफियत’ नै कारक हो। राजदूत नियुक्तिको बहीखाता केलाउने हो भने लामो सूची भेटिन्छ, ‘आए, कमाए र गए’। किन यस्तो भयो त ? यो सवालमा जवाफ खोज्ने हो भने अबका राजदूत नियुक्तिको रेखाचित्र कोर्न सघाउ पुग्छ। बिरानो मुलुकमा रहेका नागरिकको आ श्रयस्थल हो, दूतावास।

 सँगै राजदूत अभिभावक पनि हुन्। तर, तिनै राजदूत पैसाका लागि मानव बेचविखनमा उत्रन्छन् भने मुलुकको छवि कहाँ पुग्छ ? गम्भीर प्रश्न उब्जिएको छ।

दलीयकरण र सहज आम्दानीको कारण नेपाली कूटनीति उदांगो हुँदै छ। विकृतिको जरा पहिले नै गाडिएको भए पनि लोकतन्त्र बहालीपछि उदांगो हुँदै गएको हो। कुनै सत्तारुढ दलले अनेकन स्वार्थमा जेलिएर राजदूत नियुक्त गरेर पठाइदिने प्रवृत्तिमा पूर्णविराम लागेको छैन। भारत, युनाइटेड अरब इमिरेट्स, इजरायल र मलेसियाका निम्ति प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै छ।

 त्यो सुनुवाइ प्रक्रिया बिरालो बाँध्ने प्रथामा सीमित नराखी वास्तविक सुनुवाइमा परिणत गर्नुपर्छ। यतिबेला आफ्ना राजदूतले के काम गरे र प्रगति कस्तो छ ? सरकारले मूल्यांकन पद्धतिको विकास गर्नु आवश्यक छ। कुन उद्देश्यले दूतावास खोलिएको हो र त्यसले त्यो उद्देश्य पूरा गरेको छ या छैन भन्ने पनि लेखाजोखा गर्र्नु आवश्यक छ। राजदूतका कार्यसम्पादन लेखाजोखा नहुँदा पनि समस्याले निरन्तरता पाइरहेको हो।

परराष्ट्र सेवाबाट राजदूत भएकाहरूमा अनुभवको कमी वा भद्दा बढुवा लिएका छन्, अर्थात् विशेषज्ञता प्रायः शून्य छ। परराष्ट्र मन्त्रालयमा पनि नातावाद, निकटवाद र दलवादको हाबी छ। दलीय र सेवा दुवैले समग्र कूटनीतिक प्रणालीलाई क्षतविक्षत पुर्‍याइरहेका छन्। अन्य मुलुकले यो पदलाई विशिष्टीकरण गर्दै क्षमतावानलाई पठाउने गरेको दृष्टान्त हामीसामु छ। नेपालमा ठीक उल्टो अर्थात् हल्का बनाइँदै छ।

कूटनीति मूलतः कला हो। यसमा जागिरे मनोवृत्तिका नभई अध्ययन गर्ने लगनशील शैलीका व्यक्ति राजदूत बनाइनुपर्छ। कसैले दुःख पायो भने राजदूत पदमा जागिर दिने, राजनीतिमा ठाउँ नपाए राजदूत बनाइदिने, नातेदार पोषित गर्ने रोग भित्रिएको छ। यसको उपचार खोज्दै राजदूत बनाउँदा उसको पृष्ठभूमि, आचरणलाई आधार बनाइनुपर्छ। राजदूत नियुक्तिको सन्दर्भमा तमाम बेथिति मापदण्डले निर्देशित गर्दै नियन्त्रण हुने आशा गरिएको थियो तर त्यसअनुरूप कार्यशैली भने देखिएको छैन। दुईपक्षीय÷बहुपक्षीय सम्बन्धको महत्वपूर्ण कडी कूटनीति भएकै कारण सक्षम, योग्य, उच्च चेतयुक्त, बफादार र स्वच्छ चरित्रको पात्र खोज्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.