विमानस्थल बनाउन ‘टाँगिया बस्ती निर्विकल्प’

विमानस्थल बनाउन ‘टाँगिया बस्ती निर्विकल्प’

सिमरा : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाराको टांगिया बस्तीको विकल्प नभएको बताएका छन् । स्थगलगत अवलोकनका क्रममा बिहीबार नेता नेपालले विमानस्थलको काम छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताए।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक रहेका पूर्वप्रधानमन्त्री नेपाल संसदीय टोलीसहित बारा आएका थिए। उनले रूख काटेर सहर बसाउने नभई विमानस्थल बनाउन लागिएकाले विरोध गर्नुको औचित्य नरहेको बताए। आफूले धेरै रूख काट्नुपर्ने अवस्था नदेखेको उनले सुनाए ।‘मैले एक महिनाअघि हवाई निरीक्षण गरें। अहिले विमानस्थल निर्माणस्थलमै आएर अवस्था बुझेको छु’, उनले भने, ‘अब यो ठाउँको विकल्प छैन। धेरै रूख नकाटिने गरी विमानस्थल बनाउन सकिने अवस्था छ। त्यसैले यसको काम रोक्नु हुँदैन। विमानस्थल बन्ने हो, सहर होइन ।’

उनले काठमाडौं–तराई द्रुत मार्गका कारण पनि विमानस्थलको विकल्पका विषयमा अब कसैले आवाज उठाउन नहुने बताए। विमानस्थल निर्माणमा स्थानीयको भूमिका सहयोगी हुनुपर्ने उनको भनाइ थियो। उनका अनुसार बस्तीका १ हजार ४ सय ७६ घरलाई मुआब्जा दिनेभन्दा पनि बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

समिति सदस्य दिव्यमणि राजभण्डारीले टांगिया बस्तीको विकल्प खोज्नुभन्दा यहीं नै विमानस्थल निर्माण गर्नुपर्ने बताए। यसअघि रूख काट्न नहुने अभिव्यक्ति दिएका सांसद उमाकान्त चौधरीले विमानस्थलको काम रोक्न नहुने बताएका थिए । जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले टांगिया बस्तीका बासिन्दालाई स्थानान्तरण गर्न आयोजनालाई विकल्प दिएको सुनाए।

जितपुरसिमरा र कोल्हवी नगरपालिकाको क्षेत्रको अवस्था बुझ्न आएको संसदीय टोलीलाई आयोजना प्रमुख ओम शर्माले सिमरामा ब्रिफिङ गरेका थिए। नीतिगत निर्णय गरेर विमानस्थल निर्माण अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनका अनुसार विमानस्थल निर्माण क्षेत्रको चारकिल्ला डीजीपीएस प्रविधिबाट सीमांकन गरिएको छ। पूर्व, पश्चिम र दक्षिणी सिमानामा पिलर गाड्ने र तारले बार्ने काम भइरहेको छ। १ सय १० मध्ये ५८ बिघा जग्गा नागरिक उड्ययन प्राधिकरणका नाममा आइसकेको उनले सुनाए। पश्चिमतर्फ पसाहा खोलामा तटबन्ध निर्माण भइरहेको छ ।

आयोजनाको डीपीआर तयार गर्न अन्तर्राष्ट्रिय स्तरका ६ परामर्शदाताको आसयपत्र स्वीकृत भई मूल्यांकनका क्रममा रहेको जानकारी पनि उनले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.