'पाएदेखि म नांगै हिँडिदिन्छु तर, अरुको पनि इज्जत राख्नुपर्छ'

'पाएदेखि म नांगै हिँडिदिन्छु तर, अरुको पनि इज्जत राख्नुपर्छ'

गायक योगेश्वर अमात्य ‘जब सन्ध्या हुन्छ...’ बोलको गीतबाट नेपाली गीतसंगीत क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले दर्जनभन्दा बढी गीत गाइसकेका छन्। हिजोआज उनी गायन क्षेत्रमा सक्रिय छैनन्। भन्छन्, ‘गीतसंगीतमा लाग्ने जाँगरै छैन।’ उनको जीवनशैली, अध्ययन, गीतसंगीत, राजनीतिलाई लिएर अन्नपूर्ण (शैली)का लागि किरण दहालले गरेको कुराकानी :


हिजोआज कता व्यस्त हुनुहुन्छ ?       

म बेरोजगार मान्छे। बेरोजगारीले के गर्छ र ? बेरोजगार भए पनि अचम्म के छ भने दिनमा चारपाँच थरीका मान्छेसँग भेटिरहेको हुन्छु। एकातिर बेरोजगार, अर्काेतिर म जति व्यस्त कोही नभएजस्तो। त्यसकारण म आफैंदेखि छक्क पर्छु।

गीतसंगीततिर लाग्नुभएको छैन ?       

गीतसंगीततिर लाग्ने कुनै जाँगर छैन। साथीभाइसँग बसेर गाउँछु। पहिलापहिला मात लाग्न थाल्यो भने गीत त्यत्तिकै आउँथ्यो। हिजोआज रक्सी लाग्यो कि इतिहासका बारेमा गफ गर्न मन लाग्छ। के भएको होला ? अहिले मैले इतिहासकै किताब पढिरहेको छु। मैले भारतमा पढेको। भारत र नेपालको इतिहासको बारेमा मलाई ‘एभरेज’ भन्दा जानकारी छ।

पहिलापहिला तपाईंलाई रक्सी लाग्न थालेपछि देशभक्तिको गीत आउँथ्यो हैन र ?       

(हा हा हा) हो। सुन्दाखेर अचम्म छ। भक्तिको भावना मनमा बगाउन रक्सीले महŒवपूर्ण भूमिका खेल्छ। रसियामा हेर्नुस् या यूकेको कुनै ‘पव’हरूमा हेर्नुस्, जति रक्सी खायो उति देशको गीत गाउँछन्। मलाई पनि बच्चैदेखि बियर खायो कि देशको गीत गाउन आइहाल्छ। कसैले केटीहरूको आँखा, परेली, ओठको गीत गाउँछन्। मचाहिँ देशभक्तिको गाउँछु।

गीतहरू कत्तिको सुन्नुहुन्छ ?       

म सुन्दिनँ गीत। मलाई नयाँ आर्टिस्टहरूको नाम नै थाहा छैन। गाडीमा हिँड्दा पनि समाचार नै सुन्छु। बीबीसी बजिरहेको हुन्छ।

मोबाइलमा पनि गीत राख्नुभएको छैन ?       

मोबाइलमा मैले मेरा गीतहरू राखेको छु। साथीहरूलाई फर्वाड गर्नुपर्छ क्या कहिलेकाहीँ। मेरो आफ्नै गीत पनि सबै छैन। कुनैकुनै छ। धेरै गीत पनि गाएको छैन, १८÷२० वटा गाएँ हुँला। ती सबै मैसँग छैनन्। हिजोआज गीत रेकर्ड गरेको छैन। जाँगर पनि चल्दैन। किनकि मलाई मेरो स्वर पटक्कै मन पर्दैन। यो साँचो कुरा हो। सानो हुँदाखेर टेपरेकर्डरमा आफ्नो स्वर खुबै रेकर्ड गरियो। त्यति बेला अश सबैको स्वर उनीहरूकै जस्तो लाग्थ्यो। आफ्नोचाहिँ के नमिलेनमिले जस्तो लाग्ने। अहिले पनि मलाई त्यस्तै हुन्छ।

आफ्नै गीत पनि गाउनुहुन्न ?       

अहिले अलिअलि अभ्यास गर्न थालेको छु। दिनमा दुईतीनवटा गीत अभ्यास गर्छु। कसैले भन्नेबित्तिकै ठाउँको ठाउँ गाउन सकिँदैन। अहिले घरमै बसेर आफ्ना गीत मेमोराइज गरिरहेको छु। मलाई हिजोआज गीत पनि बोझजस्तो भएको छ। जहाँ जाऊँ, गीत गाऊ भनिहाल्छन्। डाक्टरलाई बाटोमा हिँड्दाहिँड्दै सर्जरी गरिदिनु भनेर गर्छ ? कोही आर्मी छ भने ठाउँ कुठाउँ कवाज खेल्छ ? कोही इन्जिनियरले कोठा नाप्तै हिँड्छ जति बेला पनि ? तर, गायकलाई किन हैरानी ? बिहाभोजमा पनि गीत गाउन बोलाउन थालेका छन् मान्छेले। हुन त माया गरेको पनि होला।

म्युजिकमा लाइभ पर्फमेन्सको भूमिका कस्तो पाउनुहुन्छ ?       

मलाई त लाइभ नै मन पर्छ। नारायणगोपाल चोकमा हरेक वर्ष कार्यक्रम गर्छन्। एकपटक मलाई बोलाएका थिए। अरू पनि थिए। हामी सबैले नारायणगोपालको गीत गाउनुपर्ने। एउटा बहिनीले नारायणगोपालको डिट्टो कपी गर्न खोज्यो। त्यसपछि मैले सहन नसकेर भनेँ— नारायणगोपालले पनि हरेक गीतमा एउटै आवाज हुँदैन, फरकफरक हुन्छ।

‘जब सन्ध्या हुन्छ...’ भन्ने गीत त खुबै चल्यो है ?       

मैले सोचेकै थिइनँ यति चल्छ होला भनेर। यो एसिडेन्टल गीत हो। मैले दिपेश प्रधानलाई यो गीत सुनाएँ। उसको गर्लफ्रेन्डको नामै सन्ध्या रहेछ। साथीले त्यसपछि यो गीतमा काम गर्नुपर्छ भन्यो। त्यसपछि मैले गाएँ। गीत चल्यो। त्यसपछि लहरै एल्बमको गीत गाउनु पर्‍यो।

ड्रिंक्स कत्तिको लिनुहुन्छ ?       

यो त प्रश्नै हैन। नेवारको छोरो हुँ। सगुनमा पनि हामीलाई रक्सी नै आउँछ। त्यसैले म प्रायःजसो आफूले आफैंलाई सगुन दिन्छु।

कसरी सिक्नुभयो ?       

अमेरिका बस्दा सिकेको। खानैपर्ने जस्तो बाध्यता आइलाग्यो। अमेरिकामा शुक्रबार जो पनि बाहिर गएर खान्छन्। विद्यार्थीको धार्मिक प्रथाजस्तो। म मात्रै किन नखाने ? मैले पहिला गुलियो ड्रिङ्सबाट सुरु गरेको हुँ।

तपाईंले खेलकुदमा पनि नाम राख्नुभएको छ। कस्ताकस्ता खेल खेल्नुभयो ?       

तेक्वान्दो, बास्केटबल र फुटबल खेलेको हुँ। अमेरिका गएपछि मैले फुटबल छाडेँ। मैले यहाँ एनआरटी–ए बाट खेलिसकेको थिएँ। सय प्रतिशत नेपाली टिममा हुने थिएँ। राम्रै खेलाडी थिएँ। श्रीनाथ गणबाट बास्केटबल पनि खेलेँ। तेक्वान्दोचाहिँ अमेरिकामा रहँदा सिकेँ। नेपाल फर्किएर आठनौ वर्ष सिकाएँ पनि। तीनचार सय जना सिक्न आउँथे। मैले ताहाचलमै मेघदूत बक्सिङ क्लब खोलेको थिएँ। त्यहीँ सिकाउँथँे। सिकाएपछि मेरो खेल्ने क्षमता कमजोर भयो। आफूले खेल्दा अभ्यास भइराख्थ्यो। सिकाउन थालेपछि अभ्यास भएन। अहिले अरूले तेक्वान्दो खेलेको देखेँ भने टाउको दुख्छ।

पुस्तक कत्तिको अध्ययन गर्नुहुन्छ ? हिजोआज कस्ता किताब पढ्दै हुनुहुन्छ ?       

अहिले सिद्धिचरण श्रेष्ठको पुस्तक ‘मङ्गलमान’ पढिरहेको छु। मैले बारम्बार पढ्ने लेखकचाहिँ खलिल जिब्रान हुन्। उनका सर्ट स्टोरीहरूले मलाई खुबै आनन्द दिन्छ। नेपाली लिट्रेचर पनि हेर्छु। म बच्चैदेखि शंकर लामिछानेको वरिपरि हुर्केको मान्छे। शंकर लामिछाने हाम्रो घर आइरहन्थे। उनी त निबन्धको राजा नै हुन्। शंकरलाई नपढ्ने कुरै भएन। लामिछाने धेरै बोल्दैन थिए। थोरै बोल्ने, ‘सफ्ट स्पोकन’ मान्छे।

तपाईंलाई राजनीतिप्रति कत्तिको चासो छ ?       

जनताले राजनीतिबाट मार खानु परेपछि राजनीतिप्रति सबैको चासो भइहाल्छ। कहिले दूधको भाउ बढ्छ, कहिले तेलको। अनि नेपालीको ध्यान राजनीतिप्रति हुँदैन? अब त हामी सबैलाई आफू नै प्रधानमन्त्री बनूँजस्तो लाग्दैन यस्तो भएपछि ? म बनेँ भने देश सुधार्छु भन्ने जसलाई पनि हुन्छ।

सेक्सलाई कसरी बुझ्नुहुन्छ नि ?       

सेक्स चिज नै यस्तै हो कि जसले स्वर्गको परिचय दिन्छ। सेक्स गर्दा मान्छेले अरू थोकको विचार गर्दैन नि। मेरो भरे ५ बजे प्लेन छुट्छ भन्नेतिर मान्छेको ध्यान जाँदैन। एकदमै त्यहीँ ध्यान दिन्छ, योगीले गुफामा ध्यान गरेजस्तो।

पैसालाई कसरी लिनुहुन्छ ?       

पैसा सबैसँग हुनुपर्छ। किनकि सबै खुसी हुनुपर्छ। अहिले मान्छेलाई खुसी पाउन पैसा चाहिने रहेछ। भरे के खाऊँ, भोलि के खाऊँ भन्ने स्थिति रहनु हुँदैन। पैसाले त्यसलाई समाधान गर्छ। एक ठाउँबाट अर्काे ठाउँ जान मान्छेलाई ‘टेन्सन’ नहोस्, गाडी, मोटरसाइकल जे आवश्यक छ त्यो होस्। नेपालीले हेलिकोप्टर चाहिन्छ त भनेका छैनन् नि ! ‘मलाई त्रिपुरेश्वरबाट कलंकी जान हेलिकोप्टर चाहिएको थियो’ भनेर कसैले रहर गरेका त छैनन्। आवश्यकता पूरा गर्न मान्छेलाई पैसा चाहिन्छ। पैसा सबैसँग होस् भनेर मिलाउन सक्ने क्षमता सरकारसँग छ। यो कलियुग हो कि के हो, मलाई थाहा छैन। तर, यो युगमा पैसा चाहिन्छ।

तपाईंले ज्वेलरीसम्बन्धी अध्ययन पनि गर्नुभएको हो क्यारे ?       

दरबारले गहना बनाउनु पर्‍यो भने बुवालाई भन्थ्यो। त्यही भएर मलाई ज्वेलरीतिर आकर्षण भयो। पैसा धेरै भएर हैन। ज्वेलरीको डिजाइन पनि गर्छु। थुप्रै गरेको छु।

तपाईंको गेटअपतिर आऊँ। तपाईं हिपहपजस्तो देखिनुहुन्छ नि ?       

टिसर्ट एउटा, कट्टु र मोजा नपर्ने जुत्ता लगाउँछु। पाएदेखि म नांगै हिँडिदिन्छु। तर अरूको पनि त इज्जत राखिदिन ुप¥यो नि। गान्धी हेर्नुस् न, पाएदेखि ऊ पनि नांगै हिँड्थ्यो। शरीर केही पनि हैन। हामी नेवार शरीरलाई पूजा पनि गर्छौं। आत्मा राख्ने मन्दिरलाई पूजा गर्नुपर्छ भन्ने मान्यता। सकेसम्म ‘मिनीमम’ लुगा लगाउँछु। तर, फर्मल लुगा लगाउँदाचाहिँ नियममा लगाउँछु। फर्मल लुगामा नियम पुर्‍याउनैपर्छ। मेरो प्रायः लुगा कालो हुन्छ। मुन्द्रा लगाएबापत पुलिसले मलाई ‘हर्यास’ गरेको छ। जब युवराज दीपेन्द्रले नै लगाउन थाले तब सबै छक्क परे। त्यसपछि मुन्द्रा लगाउँदा पुलिसले गाली गर्न छाड्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.