वेश्या पुरुष छाती खोलेर हिँड्ने, महिलाले मुख लुकाउने, किन ?

वेश्या पुरुष छाती खोलेर हिँड्ने, महिलाले मुख लुकाउने, किन ?

प्रभा मरहट्टा

विगतका हरेक आन्दोलनमा नारीहरुको सहभागिता, अदम्य साहस र बलिदानको मुक्तकण्ठले प्रशंसा भइरह्यो । खासगरी राजनीतिक दलहरुले नारी हक, अधिकार र पूर्ण सुरक्षाको निम्ति संघर्ष गर्छौं भन्दै आश्वासन दिइरहे ।

त्यसो त, राजनीतिक दलका दस्तावेजमा पनि महिला अधिकार र समावेशिताका मुद्दा छुटेका छैनन् । व्यवहार भने उदेकलाग्दो छ । पछिल्लो समय महिलामाथि निरन्तर भइरहेका शोषण, उत्पिडन र बलात्कार जस्ता जघन्य अपराधमा राजनीतिक दलहरु नै मौन देखिन थालेका छन् ।

समस्या उस्तै
पहाड, मधेस, गाउँ, सहर । हरेक समाज र स्थानमा महिलाका समस्याका स्वरुप फरक होलान् । तर साझा पीडा र संघर्ष उस्तै हुन् । उच्च पदमा पुगेका मुठ्ठीभर महिलालाई भने सुविधा र अवसर धेरै देखिन्छ । तै पनि संरचनागत रुपमा उनीहरु पनि पुरुषकै कठपुतली सरह भएका छन् ।

दुर–दराजका आम नारीहरुको अव्यक्त पीडा त अनुमान नै गर्न सकिँदैन । उनीहरु सार्वजनिक रुपमा महिला अधिकार र सुरक्षाका पक्षमा खुलेर वकालत गरेका पनि छैनन् । न त उनीहरुलाई यसबारे जानकारी नै छ ।

समग्रमा परम्परागत पितृसत्तात्मक सामाजिक परिवेश, मानसिकता र परम्परागत मान्यता नै यसका कारक हुन् । दाइजो, छाउपडी, झुमा, कुमारी, मधुश्रावणी पर्व जस्ता कुसंस्कारयुक्त मुल्य–मान्यताले नै अझै हाम्रो समाज ग्रसित हुनु विडम्वना नै बनेको छ ।

वर्गीय आन्दोलनले पनि सम्भव छैन
धनी–गरिब बीच समानता होला । वा वर्गीय विभेद् अन्त्य भए पनि हाम्रो समाजमा नारी र पुरुष बीचको अन्तरविरोध सहजै अन्त्य हुने सम्भावना छैन । सदियौँदेखि पितृसत्तात्मक संस्कार, धर्म र संस्कृतिका रुढीवादी, अन्धविश्वासी परम्पराको शिकार भएका नारीहरुलाई ती संस्कारिक समस्याबाट माथि उठ्नै गाह्रो परेको छ । यस्तो परिस्थितिलाई चिर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति तथा सामाजिक भूमिकाको खोजीमा निस्केका नारीहरुमध्ये पनि कतिपय पुरुषहरुकै विभिन्न प्रपञ्च र षड्यन्त्रको फन्दामा परेर दिनानुदिन निरीह र अस्मिताहीन बन्दै गएका छन् ।

दश वर्षे जनयुद्धको आडमा भएको जनआन्दोलनपछि प्राप्त सीमित महिला आरक्षण पनि शक्तिशाली राजनीतिक दलका ‘भोट माग्ने भाँडो’ तथा उच्च पदस्थ भ्रष्ट कर्मचारीहरुको चलखेल गर्ने थलो भयो । नातावाद र कृपावादका आवरणले छोपेर आफ्नो स्वार्थ अनुकूल उपयोग गर्ने पुरुषहरुको सोच अनुसार चल्नुपर्ने हुँदा निरीह आरक्षण नारीका लागि ‘कोक्याउने पिँडालु, निल्नु न ओकल्नु’ भएको छ । उच्चपदस्थ स्थानमा रहेर महत्वपूर्ण निर्णय गर्ने क्षेत्रमा पुरुषहरुकै पूर्ण मनोमानी छ । त्यस्तो ठाउँमा पुगेका केही नारी पनि पुरुषकै कठपुतली बन्न विवश छन् ।

गैर सरकारी संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरुले त महिला आरक्षणको खिल्ली उडाएका छन् । त्यस्ता संस्थामा काम गर्ने सचेत, बौद्धिक तथा इमान्दार महिला समेत प्रशासनिक विभेदको शिकार भएका छन् । शिक्षित, बौद्धिक र सचेत विभिन्न पेसामा संलग्न नारीहरुलाई पनि आफैं काम गर्ने संस्थाहरुको प्रशासनिक निकायबाट सीमान्तकृत बनाइएको पाइन्छ ।

प्रायः हरेक संघ–संस्थाहरुमा महत्वपूर्ण निर्णय गर्ने ठाउँमा नारीको कुनै भूमिका नभइ पुरुषकै वर्चस्व छ । तिनिहरु आफ्नो स्वार्थका लागि जस्तोसुकै शक्तिको पछि लागेर इमान, जमानकै किनबेच चल्ने हुँदा नारीहरुले जति इमान्दार भएर काम गरे पनि त्यसको मूल्याङ्न नगरी पछाडि पार्ने प्रवृत्ति उस्तै छ ।

यस्तो परिवेशमा कतिपय महिला स्वाभीमान गिराएर पनि काम गर्न विवश छन्, कतिपय शक्तिशाली पुरुषका चाकडीमा व्यस्त भइ कठपुतली बन्न विवश छन् । कति त त्यस्ता व्यवहार सहन नसकी आफ्नो पेसा नै छाडेर पलायन हुन बाध्य छन् ।

घरमै तगारो
जहाँ जे काम पाइन्छ त्यही काम गर्न नारीलाई घर परिवारबाटै स्वीकृति पाउन मुस्किल छ । विवाहित महिलालाई त विभिन्न सांस्कृति, सभ्यता, इज्जत जस्ता सामाजिक आचरणको हतियार प्रयोग गरी अप्रत्यक्ष रुपमा मानसिक पीडा दिने चलन छ । यस्तो समस्या झनै उच्च र मध्यम वर्गका महिलामा बढी पाइन्छ । उनीहरु परिवारमै भएको मानसिक दबाव सार्वजनिक गर्न असमर्थ छन् ।

यसरी नारीमाथि गरिने सामाजिक तथा पारिवारिक निकृष्ट हिंसामा राज्य समेत मौन हुनु विडम्वना हो । नारीका लागि कानुनी रुपमा प्राप्त हक, अधिकार र सुरक्षाका सवाल सबै ‘मुखमा रामराम बगलीमा छुरा’ सावित भएको छ । माओवादी आन्दोलनले महिलाका समस्या केही सम्बोधनको प्रयास गरेको थियो । शान्ति प्रक्रियासँगै ती मुद्दा सेलाएर गए । सम्पत्तिमा महिलाको हक, आमाको नामबाट नागरिकता जस्ता विषय गम्भीर र संवेदनशील भन्दै बंग्याउने प्रयास भयो । लिखित रुपमा भए पनि व्यवहारतः अझै पनि सम्पत्तिमा महिलाको पहुँच सहज बन्न सकेको छैन ।

यौन धन्धाबारे
देह व्यापारमा यदी कुनै महिला संलग्न हुन्छ भने त्यो उसको रहर नभएर बाध्यता हो । सम्पत्तिमा उसको अधिकार नभएपछि हातमुख जोर्नको लागि बाध्य भइ देह व्यापारमा संलग्न हुने लामो शिलशिला छ । हाम्रो समाजले भने यस्तो समस्यालाई रहरले रोजेको पेशाको रुपमा ब्याख्या गरिदिएको छ । फेरि यस्तो पेशामा संलग्न नारीहरुलाई वेश्याका रुपमा चिन्ने समाजले त्यहाँ संलग्न पुरुषलाई वेश्या भन्दैन । यही हो पुरुषवादी सोचको समस्या ।

वेश्या भनेरै कहलाएका नारीहरुले घर, परिवार र समाजमा कहीँ इज्जत र स्थान पाउँदैन तर कैयौँ चेलीको बलात्कार गर्ने वेश्या पुरुषका लागि सबै ढोका किन खुल्ला हुन्छन् ? विभिन्न कोठीमा धाउनेदेखि नारीमाथि यौनजन्य दुव्र्यवहार गर्ने सबै पुरुषहरुलाई समाजले किन सहजै स्वीकार गर्छ ? सिस्नोपानी किन लगाउँदैन ? त्यस्ता पुरुष किन छाती फुकाएर समाजमा निर्धक्क हिँड्छन् ? यस्तै सामाजिक परिस्थिति र मान्यताका कारण नारीहरुले न्याय पाउने राज्यका ढोका बन्द भएको महसुश पीडितले गर्न थालेको हो ।

आन्दोलनको खाँचो
दिनदहाडै दाइजोको निहुँमा महिलाहरु जलाइएका, बलात्कारपछि मारिएका अवोध नारीहरुका पीडाका समाचार दोहोरिरहन्छन् । यसको जवाफदेही राज्य हुनुपर्छ कि पर्दैन ? राज्यले नारीहरुलाई सबै क्षेत्रमा समान सहभागिता, पूर्ण सुरक्षा तथा स्वतन्त्रताको प्रत्याभूति गराउन सकेको छैन । नारीहरुको हक, अधिकार, सुरक्षा र अस्तित्वका लागि नारीहरु नै संगठित भएर विद्रोहमा नउत्रिएसम्म सहजै हक स्थापित हुन सम्भव छैन ।

कानुनी रुपमा पूर्ण हक, अधिकार र सुरक्षाको व्यवस्था गरे पनि ‘आफैँ धामी, आफैँ झाँक्री’बनेर कतिपय पुरुषहरुले नारीलाई विवेकशून्य र भावनाहीन बनाएका छन् ।
यस्तो चालबाजीको पर्दा च्यातेर समतामूलक समाजका हर क्षेत्रमा समान सहभागिता खोज्नु जरुरी छ । राज्यका सबै निकायमा समान पहुँच, नारीमैत्री परिवार, समाज तथा विभिन्न संघ–संस्था बनाउन नारीहरुले उत्पादनका साधनमाथि समान हक सुनिश्चित गर्नै पर्छ ।

बलात्कारीलाई मृत्युदण्डको सजाय दिने संवैधानिक व्यवस्था गर्न दबाव दिनुपर्छ, सांस्कृतिक परिवर्तनमा जोड दिनुपर्छ । साहित्यिक लेख, रचना महिलामैत्री हुनुपर्छ र नारीमाथि हुने दमन, हिंसा र हत्याप्रति नारी आफैँ पनि सचेत हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.