धान धितोमा किसानलाई ऋण
बुटवल : बुटवल उपमहानगरका किसानले धान धितोमा ऋण पाउने भएका छन्। धानको समर्थन मूल्यसमेत नपाएका किसानलाई यो योजनाले राहत मिल्ने भएको छ। किसानले समर्थन मूल्यसमेत नपाएपछि उपमहानगरपालिकाले सहकारीसँगको सहकार्यमा धान धितोमा ऋण दिने योजना ल्याएको हो।
यो योजनाअन्तर्गत किसानले बेच्नुपर्ने धान मोतिपुरको सिम्रिक सहकारीको गोदाममा भण्डारण गर्नेछन्। सहकारीले भण्डारण भएको धानको ७५ प्रतिशत हुन आउने रकम ऋणका रूपमा किसानलाई दिनेछ। किसानको धान भण्डारण गर्ने सहकारीलाई नगरपालिकाले अनुदान दिनेछ। ऋणको ब्याजदर निकै कम हुने बताइएको छ।
सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ५० तोकेको छ। तर, किसानबाट व्यापारीले २२ सयमा नै उठाउने गरेका छन्। धान रोप्दाको ऋण तिर्न किसान सस्तोमै धान बेच्न बाध्य भएपछि नगरपालिकाले राहत कार्यक्रम ल्याएको हो।
खेतीयोग्य जमिन मासिने क्रमले कृषि कर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए। उपमहानगरले अनुदानका रूपमा किसानलाई वितरण गरेको मौलिक पोषक बीउबाट उत्पादित धानलाई धितोका रूपमा राख्ने व्यवस्था मिलाइएको छ।
किसानले उत्पादन गरेको धानलाई टोलकै सहकारीमा धितो राखेर सहकारीमार्फत किसानलाई ऋण प्रदान गर्ने कार्यक्रम यस क्षेत्रको नयाँ अभियान हो। धानखेतीका लागि उपयुक्त योजनाअनुसार बिहीबार बुटवल–१४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानले भण्डारण स्थानको अभावले उचित मूल्यबिना नै बिक्री गर्दै आएका थिए।
अब किसानले सहकारीमा आफूले उत्पादन गरेको धानलाई सहकारीमा धितोको रूपमा राखेर कृषि ऋण लिन सक्छन्। किसानले यसरी उत्पादन गरेको धान सहकारीमा राख्दा कुनै पनि भाडा तिनुपर्र्दन। किसानको भाडा नगरपालिकाले तिरिदनेछ। त्यसक्षेत्रको करिब तीन हजार हेक्टरमा धान खेती हुँदै आएको अनुमान छ। ती खेतमा सिँचाइको प्रबन्ध छ।
समर्थन मूल्यसमेत नपाएपछि नगरपालिकाले किसानलाई राहत दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानको समस्या समाधान गर्न पहिलो चरणमा धान भण्डारणमा अनुदान प्रदान गरिएको उल्लेख गर्दै अब प्रोत्साहनका नयाँ कार्यक्रम बनाइने बताए। आगामी दिनमा अन्य गहुँ, दालजन्य कृषि उपजसमेत भण्डारण गरी किसानलाई ऋण उपलब्ध गराउने तयारी गरिएको उनको भनाइ छ।
उपमहानगरका कृषि एकाइ प्रमुख उपसचिव भीमनाथ शर्माका अनुसार साबिकको मोतिपुर र सेमलार गाविसमा पर्ने ६ वटालाई उपनगरपालिकाले कृषिमा विशेष प्राथमिकता दिने योजना बनाउँदै छ। किसानले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्नेछ। जसका लागि नगरपालिकाले दुई लाख ५० हजार रुपैयाँको सम्झौता गरेको हो।
किसानले यसरी भण्डारण गरेको धान धितोको रूपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता भएको छ। ऋण चुक्तापश्चात किसानले आफ्नो धान बिक्री गर्न पाउने सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाह मगरले जानकारी दिए। सिम्रिक सहकारी यस क्षेत्रकै ठूलो भण्डारण क्षमताको हो। सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार सहकारीमा बीउ प्रसोधन केन्द्र, भण्डारण केन्द्रसमेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ। १० कठ्ठा क्षेत्रफल रहेको सहकारीले दुई सय ५० मेट्रिक टनको ओपन सेड निर्माण गरेको छ। एक हजार पाँच सय मेट्रिक टन र अर्को दुई सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ। बुटवल उपमहानगरको करिब तीन हजार हेक्टर खेतमा धान उत्पादन हुँदै आएको छ।