हर्न बजाउने २ सय चालक कारबाहीमा
दाङ : तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसयभन्दा बढी चालकहरू कारबाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीले नियम पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिए ।
चालकलाई प्रहरीले सडकमा नै कारबाही गरेको हो । एकसय ४ जना चालकले आफूसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आलटाल गर्ने १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी प्रमुख केसीले जानकारी दिए ।
गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई उपमहानगरपालिका र प्रदेश नम्बर ५ को प्रहरी कार्यालयले बृहत जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । हर्न निषेध घोषणा लगत्तै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफ्नो काम कारबाहीलाई तीव्र पारेको छ । रासस