छुवाछूतमुक्त ‘प्रसाद’

छुवाछूतमुक्त ‘प्रसाद’

काठमाडौं : ‘मन्दिर भनेको पवित्र स्थल हो। त्यहाँ ईश्वरको बास हुन्छ। चढाइएका सबै नैवेद्य भगवान्का प्रसाद बन्छन्। विशुद्ध प्रसाद। कस्तो हातले चढायो ? कुन जातिले चढायो ? वा कत्ति स्वच्छ चढायो ? कसैले सोध्दैन।’ फिल्म ‘प्रसाद’को अन्त्यमा यस्तै केही सुुनाउँछन् अभिनेता विपिन कार्की (बाबुराम परियार)। अन्त्यतिर बोलिने यो संवादले सम्पूर्ण फिल्मको सार बताउँछ।

कमेडी फिल्मले धानेको अहिलेको नेपाली फिल्मको बजारमा निर्देशक दिनेश राउतले ‘प्रसाद’ मार्फत भिन्न स्वाद पस्केका छन्। हामी फिल्मलाई समाजको ऐना भन्छौं तर प्रसादले समाजललाई नै एकपटक ऐना हेर्न आग्रह गरेको छ।

‘नेपाली फिल्ममा हाम्रा आफ्नै कथा छैनन्। मौलिकता हुँदैन। कलाकारले गर्ने अभिनय र संवाद आयातीतझैं लाग्छन्।’ जस्ता तमाम आरोपलाई प्रसादले चिरेको छ। फिल्म अन्तरजातीय विवाह र निःसन्तान दम्पतीको कथामा आधारित भनिए पनि मूलतः गर्भमाथि आमाको अधिकार रहने विषयको उठान गरिएको छ। एक बलात्कृत महिला गर्भवती हुन्छे भने उसको कोखलाई समाजले मान्यता दिने कि नदिने ? फिल्ममा यही प्रश्न उठान गरिएको छ।

‘बीउको अधिकार बीउसम्म नै सीमित हुन्छ। त्यो हुर्किएर रूख बनेपछि त्यसमा लाग्ने फलमाथि किसानको अधिकार हुन्छ’, फिल्ममा नारायणी (नम्रता श्रेष्ठ)ले आफ्नो गर्भमाथिको अधिकारलाई यसरी नै व्याख्या गरेकी छन्। बलात्कारपछि गर्भमा आइसकेको बच्चा नाजायज हुन्नन्। त्यो त भगवान्को प्रसाद हुन्छ। र, भगवान्को प्रसादलाई कसरी अस्वीकार गर्ने ? फिल्ममा भन्न खोजिएका यी वाक्यले हाम्रो समाजिक मनोविज्ञानलाई परिवर्तन गर्न खोजेको छ।

हाम्रोजस्तो समाजमा श्रीमती बलात्कृत भए श्रीमान्बाटै तिरस्कृत हुन्छे। परिवार र समाजबाट अस्वीकृत हुन्छे। यही डरले आफूमाथि यौन दुव्र्यवहार भएको कुरा श्रीमान्लाई समेत नारायणीले भन्ने आँट गर्दिनन्।

कति आमाहरू आफैंले जन्माएको बच्चा फाल्न बाध्य छन्। समाजले अस्वीकृत गर्ने डरले, आफू तिरस्कृत हुने भयले आफ्नो गर्भको बलिदान गर्न ती आमाले कति हिम्मत, कति साहस जुटाए होलान् ? भनिन्छ, एक महिलाका लागि आमा बन्नुजस्तो सुख अरू केहीमा हुँदैन तर बलात्कृत भएर आमा बन्नु त्यति नै पीडादायी छ।
फिल्मको अन्त्यमा देखाइने ‘छुवाछूतमुक्त गाउँ’को बोर्डले धेरै प्रश्नको जवाफ दिन्छ। हाम्रो समाजले बुझेसम्म छुवाछूत जातीयतासम्म सीमित छ। तर, फिल्ममा बलात्कारपछि जन्मिएको बच्चालाई पनि छुवाछूत र विभेदकारी व्यवहार गर्न नहुने सन्देश छ।

कानुनी रूपमा नेपाल छुवाछूतमुक्त देश भइसकेको छ। व्यवहारमा भने त्यसो हुन सकेको छैन। समाजका कुरीतिहरू कागजमा लेखिएका शब्दबाट परिवर्तन भएका छैनन्। परिवर्तन त समाजका व्यक्तिले नै गर्नुपर्दो रहेछ। फिल्म प्रसादमा यस्तै भन्न खोजिएको छ।

निःसन्तान दम्पतीको कथा बुनेको यो फिल्मभित्रका घटना अझै प्रबल छन्। नारायणी भन्छे, ‘ श्रीमान्ले सन्तान दिन असमर्थ भएमा आफ्नी        श्रीमतीलाई अर्को विवाह गर्न लोग्नेमान्छेले भन्न सक्नुपर्छ।’

श्रीमतीले बच्चा दिन नसक्ने अवस्थामा  श्रीमान्ले तुरुन्त अर्को विवाह गर्ने हाम्रो समाजमा यदि सन्तान दिन पुरुष असमर्थ भएमा श्रीमतीलाई अर्को विवाह गर्ने अनुमति दिनुपर्ने समाजको परिकल्पना फिल्ममा छ।

आफ्नो गर्भमा रहेको बच्चा जन्माउने अठोट गर्ने नारायणी, अरूको गर्भ धारण गरेकी श्रीमती र बच्चालाई स्वीकार्ने बाबुराम (विपिन कार्की) जस्ता पात्रले समाजका स्थापित मान्यतालाई भत्काउने प्रयास गरेका छन्। पात्रहरू सामाजिक चरित्रमै रहेर पनि समाज कस्तो हुनुपथ्र्यो भन्ने खाका कोर्न खोजिएको छ।

प्रसादमा विपिन कार्की (बाबुराम) तल्लो र नम्रता श्रेष्ठ (नारायणी) उपल्लो जातको भूमिकामा छन्। यी दुईको प्रेम सम्बन्धलाई गाउँलेद्वारा स्वीकारिएको हुँदैन। भागेर सहर पसेका यो जोडीको बाँच्ने संघर्ष काठमाडौं आएपछि सुरु हुन्छ। गाउँका वडाध्यक्षकी छोरी नारायणी र दर्जीका छोरा बाबुराम एकअर्काप्रति प्रेम र विश्वासकै आधारले जोडिएका हुन्छन्।

फिल्ममा निश्चल बस्नेत (रमेश) यी दुई दम्पतीका साथी छन्। यिनको भूमिका भगवान् हो कि राक्षसको ?  ‘अ ट्रिकी क्वइसन’ भनिन्छ नि, हो त्यस्तै छ। बाबुराम र नारायणीले सन्तानसुख प्राप्त गर्न नसकेको पीडा देखाइएको छ। विवाहको दुई वर्ष बितिसक्दा पनि यो दम्पतीको सन्तान हुँदैन। उपचारका क्रममा नारायणी गर्भधारण गर्न सक्षम देखिए पनि बाबुराम असक्षम देखिन्छ।

फिल्ममा रमेश पात्रको ठूलो भूमिका छ। उसको कुदृष्टि सधैं नारायणीमाथि हुन्छ। ऊ नारायणीको रूपरंगप्रति मोहित छ। बाबुरामलाई तल्लो वर्गको कुरूप र लाटो सम्झन्छ। रमेश बारम्बार बाबुरामलाई भन्छ, ‘हैन यति राम्रीलाई कसरी पट्याइस हँ ?        ’

आफ्नो इच्छा पूरा गर्न रमेशले नारायणीलाई बलात्कारजस्तो कुकृत्य गर्छ। तर, आफू बलात्कृत भएको कुरा नारायणीले श्रीमान् बाबुरामलाई बताउन सक्दिन। बाबुरामले पनि उनलाई कहिल्यै सन्तानसुख दिन नसक्ने कुरा लुकाएको हुन्छ।

पहिलो हाफसम्म फिल्मको कथावस्तु सामान्य छ। दोस्रो हाफमा कहानी फेरि मोडिन्छ। कारण नारायणी गर्भवती हुन्छे। उसको गर्भमा हुर्किरहेको शिशु एक बलात्कारीको हुन्छ। एकअर्कालाई औधी माया गर्ने बाबुराम र नारायणीबीचको मनमुटावले फिल्मको गम्भीरतालाई बढाउँदै लगेको छ। फिल्ममा चरित्रहरू कहीँ कतै अस्वाभाविक लाग्दैनन्। आफ्नी पत्नीलाई हृदयदेखि नै माया गर्ने बाबुराम सामाजिक चरित्रमा नै छन्।        

श्रीमतीले अरूको गर्भधारण गरेको विषय उनलाई असह्य भएको छ। साथै सन्तान दिन नसक्ने एक पुरुषको मनोविज्ञानलाई पनि फिल्ममा यथार्थपरक रूपमा उठाइएको छ। सन्तानसुखका लागि संघर्ष गर्ने नारायणीको पीडा पनि वास्तविक लाग्छ। सधैँ छलकपट र मोजमस्ती गर्ने रमेशको चरित्र पनि हाम्रै समाजभित्रकै पात्र हो।

बच्चा जन्माउने कि नजन्माउने भन्ने विषयमा बाबुराम अल्मलिन्छ। रमेश गर्भ तुहाउन सल्लाह दिन्छ तर नारायणी मान्दिन। ऊ हरहालतमा शिशुको जन्म होस् भन्ने चाहन्छे।

कथावस्तु सामान्य भए पनि सञ्चारकर्मी सुशील पौडेलको लेखन तारिफयोग्य छ। सशक्त पटकथाबाट फिल्मको वजन बढेको छ। फिल्ममा लेखकले ट्रिकी संवादको प्रयोग गरेका छन्।

कलाकार विपिनको अभिनयले कथामा अझै ज्यान थपेको छ। उनको गेटअप, संवाद, भाषाप्रतिको पकड जबरजस्त छ। नेपाली समाजमा तल्लो जाति मानिने ‘परियार’को भूमिकामा छन् उनी। नायिका नम्रता श्रेष्ठको अभिनय जीवन्त छ। निश्चल बस्नेतको भूमिकाले फिल्मलाई तर्कपूर्ण बनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.