पर्साका विद्यालयमा निशुल्क प्याड वितरण

पर्साका विद्यालयमा निशुल्क प्याड वितरण

वीरगन्ज : ‘पहिले त मिन्स (रजश्वला) भएपछि हामी चार पाँच दिनसम्म स्कुल नै नआई घरमै बस्थ्यौँ’, कक्षा १० मा अध्ययनरत पूजाकुमारी चौहानले भनिन्, ‘कुनै महिना स्कुलमै मिन्स हुँदा सरसँग बिरामीको भएको बहाना पारेर घर पुग्थ्यौँ ।’ 

पर्साको रामरित्र भगत मावि पकाहमा बिहीबार यो कुरा उनले निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रममा साटेकी हुन् । प्याड पाएपछि विद्यालयमै मिन्स भए पनि अब बहाना बनाएर घर जानु नपर्ने उनको भनाइ छ । 

पूजाकै सहपाठी अन्तिमा कुमारीले पनि प्याड पाएपछि  पढाई बिग्रिने चिन्ता टरेको सुनाइन् । ‘मिन्सका बेला स्कुल छाडेर घरमै बस्नु पर्ने बाध्यता थियो’, उनले भनिन्, ‘अब स्कुलमै प्याड राखिएको छ । हाम्रो पढाई बिग्रिने चिन्ता छैन ।’

 
सेनेटरी प्याडकै अभावमा ग्रामीण क्षेत्रका किशोरी विद्यालय नगएको सुनेर हेटौंडा स्थायी घर भइ काठमाडौंमा बस्दै आएका माधवप्रसाद भण्डारीले बिहीबारदेखि पर्साको ग्रामीण क्षेत्रमा प्याड वितरण गरेका हुन् । 

‘एक महिना पहिले म काम विशेषले पूर्व जाँदै गर्दा रेडियो सुन्दै थिएँ । समाचारमा पर्साका विद्यालयमा सेनेटरी प्याड नहुँदा किशोरी रजश्वलाको समयमा पाँच दिनसम्म स्कुल नगइ घरमै बस्ने गरेको सुनँे’, भण्डारीले भने ,‘यो खबरले धेरै पिरोल्यो, त्यसैले अहिले प्याड वितरणमा व्यस्त छु ।’ 

छोरी रोज भण्डारीको नाममा रोज बहिनी सिर्जनशील महिला समाज नामक संस्था स्थापना गरेर उनले प्याड वितरण सुरु गरेका हुन् । उनी संस्थाका संरक्षक हुन् । 

बिहीबार भण्डारीले पर्साका पाँच विद्यालयमा पुगेर करिब दुई सय थान प्याड र प्याड प्रयोगपछि आवश्यक पर्ने साबुन वितरण गरेका छन् । 

भण्डारीले ग्रामीण क्षेत्रका एक सय ५० विद्यालयमा प्याड बाँड्ने योजना रहेको सुनाए । ‘अबको केही दिनमा बाँकी विद्यालयमा पुग्छु’, उनले भने । 

भण्डारीले यसअघि रोल्पा, कन्चनपुर, भोजपुर, दाङ, सुर्खेत, बाँके, कैलाली, नवलपरासी, धादिङलगायतका जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा प्याड वितरण गरेका थिए । 

प्याड वितण गरेका विद्यालयमा प्याड सकिने बित्तिक्कै थप प्याड उपलब्ध गराउने रोज बहिनी सिर्जनशील महिला समाज प्रदेश नम्बर २ की संयोजक माधुरी महत्तोले बताइन् ।

निरन्तर रुपमा प्याड वितरणका लागि स्थानीय तहसँग सहकार्य गर्ने योजना रहेको महत्तोको भनाइ छ । 

 ‘हामीले प्याड बाँडेको विद्यालयमा किशोरी क्लब पनि गठन गरेका छाँै’, उनले भनिन्,‘त्यही किशोरी क्लबले विद्यालयको शौचालयमा प्याड बक्स राखिएको छ । प्याड सकिए लगत्तै क्लब सदस्यले खबर गर्नेछन् ।’ 

विद्यालयमै प्याड उपलब्ध भएपछि शिक्षक शिक्षिकासमेत खुशी भएका छन् । बिहीबार संस्थाले प्याड वितरण गरेको पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सुचिता यादवले भनिन्,‘अब स्कुलमै प्याडको व्यवस्था भएपछि मिन्सका बेला विद्यालय छोड्नुपर्ने बाध्यता टरेको छ ।’ 

पर्साको बिरन्चीबर्वामा रहको दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसादले पनि विद्यालयमै प्याडको व्यवस्था भएपछि अब छात्राको पठनपाठनमा असर नपर्ने  बताए । 

संस्थाले विद्यालयमा निशुल्क प्याड बाड्ने मात्र नभइ गाउँघरमा हुने महिला हिंसाका घटना र लैंगिक विभेदका विरुद्धमा पनि काम गर्दै आएको संयोजक महत्तोले जानकारी दिइन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.