तालिका आयो तयारी छैन, घरमै अभ्यास गर्दै महिला क्रिकेटर

तालिका आयो तयारी छैन, घरमै अभ्यास गर्दै महिला क्रिकेटर

काँकडभिट्टा : पुस २४ देखि माघ ३ गतेसम्म थाइल्यान्डको बैंककमा टीट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ। प्रतियोगिताको तालिका पनि सार्वजनिक भइसकेको छ तर प्रतियोगितामा सहभागिता जनाउने नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षत्री झापा मेचीनगरस्थित घरमै छिन्। दिउँसो नजिकै रहेको काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा जान्छिन् र स्थानीय महिला क्रिकेटर भेला पारेर केही समय तयारी गर्छिन्। केही दिनदेखि उनको यो दैनिकी बनेको छ। यो उनको रहर होइन बाध्यता हो।

प्रतियोगितामा सहभागिता जनाउन एक महिनाभन्दा कम मात्र समय बाँकी रहँदासमेत महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणबारे टुंगो नलाग्दा उनी आफैं तयारीमा जुटेकी हुन्। ‘फ्रेबुअरीमा टीट्वान्टी विश्वकप छनोट हुँदैछ। हामीले त्यसैको तयारीका रूपमा पनि यो प्रतियोगितालाई लिएका छौं। तर अहिलेसम्म तयारीबारे केही जानकारी आएको छैन,’ उनले भनिन्, ‘अन्य राष्ट्रले टोली नै घोषणा गरिसके। हाम्रो भने अत्तोपत्तो छैन। यस्तो तरिकाले राम्रो प्रदर्शनको के आशा गर्नु ? ’

थाइल्यान्डले विश्वकप छनोटलाई नै केन्द्रित गरी प्रतियोगिता आयोजना गरेको हो। यसको तयारी राम्रोसँग गर्नुपर्ने भए पनि सम्बन्धित निकायले चासो नदिँदा गाउँकै खेलमैदानमा तयारी आफैं गरिरहेको उनी बताउँछिन्। टोलीकी कप्तान रुविना क्षत्रीले फेसबुकमार्फत खेलतालिका पोस्ट गरेपछि मात्रै थाहा पाएको बताइन् ।

उनले प्रतियोगिता नजिकिँदै गर्दा पनि खेलाडीलाई बन्द प्रशिक्षणमा नबोलाइनु दुःखद रहेको बताइन् । ‘खेलतालिका सार्वजनिक भएपछि फेसबुकबाट थाहा भयो, बन्द प्रशिक्षण कहिले होला भनेर पर्खंदापर्खंदै खेल हुने मिति नजिकिएकाले हामी सबैले आआफ्नै तरिकाले तयारी गरिरहेका छौं,’ उनले भनिन्। अहिले केही खेलाडी एकेडेमी र केही घरमै तयारी गरिरहेको बताइन्।

यस्तोमा नतिजाको आशा गर्नु दुःखद भएको गुनासो उनले गरिन्। ‘बन्द प्रशिक्षण कहिले हुन्छ अत्तोपत्तो छैन’ उनले भनिन् ‘त्यसैले आफैं तयारीमा जुटेका छौं। हामीले कुनै उपाधि जितेपछि सम्बन्धित निकायले चासो देला कि भन्ने आशा छ।’

राष्ट्रिय तथा स्थानीय प्रतियोगिता सुरु हुन लाग्दा मात्र सम्बद्ध निकायले चासो दिने गरे पनि यो पटक अझै चासो नदिएको महिला क्रिकेटरको गुनासो छ । ‘थाइल्यान्ड र हङकङले टोली छानिसके, हामी चाहिँ अहिलेसम्म घरमै तयारी गरिरहेका छौं, कहिले बन्द प्रशिक्षणमा बस्ने, कहिले खेलाडी छान्ने, कहिले अभ्यास गर्ने कसैलाई चासो छैन,’ रुविनाले भनिन्।

पुस २४ देखि माघ ३ गतेसम्म थाइल्यान्डको बैंककमा हुने प्रतियोगितामा आयोजक थाइल्यान्डका दुई टोली छन्। प्रतियोगितामा नेपाल, यूएई, नामिबिया, मलेसिया, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमारले सहभागिता जनाउँदै छन्। लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगिताको समूह ‘ए’ मा यूएई, नेपाल, नामिबिया, मलेसिया र थाइल्यान्डको ‘ए’ टिम छन्।

समूह ‘बी’मा हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, भुटान र म्यानमार छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। नेपालले पुस २७ गते नामिबिया, २९ गते मलेसिया र ३० गते यूइईविरुद्ध खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेलमा माघ २ गते थाइल्यान्डको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यसलगत्तै नेपाली टोलीले फेब्रुअरीमा हुने विश्वकप छनोटमा सहभागिता जनाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.