कम उमेरको बिहेले बिचल्ली

कम उमेरको बिहेले बिचल्ली

महेन्द्रनगर : कञ्चनपुरको महाकाली नगरपालिकाकी रविना सुनार (नाम परिवर्तन) ले १६ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा बिहे गरिन्। आफैंले रोजेको केटासँग बिहे गर्दा उनी निकै खुसी थिइन्। बिहे गरेको वर्ष दिनभित्रै एक सन्तान पनि जन्माइन्।

एक वर्षजति श्रीमानसँगै बसेकी उनको खुसी धेरै समय टिक्न सकेन। श्रीमानले आफू कमाउन भारत जाने भन्दै बिहे भएको एक वर्षमै ल्याएर माइतमा राखिदियो। त्यसपछि अहिलेसम्म ऊ श्रीमती बोलाउन मइती कहिल्यै फर्र्किनन्।

‘ श्रीमानले अर्कै बिहे गरेर बसेको छ, छोरी तीन वर्षकी भई’, रविनाले भनिन्। भर्खर बिहे गर्ने उमेर (२० वर्ष) पुगेकी रविना तीन वर्षदेखि माइती घरमै बसेकी छन्।

बिहे गर्ने उमेरमा उनले नागरिकता लिने समय पनि पुगेको थिएन। जब उमेर पुग्यो उनले नागरिकता बनाइन्। बिहेदर्ता र छोरीको जन्मदर्तासमेत गरिन्। अहिले प्रहरी चौकीमा उनले उजुरी गरेकी छन्। उनको अहिलेसम्म सम्बन्धविच्छेद भइसकेको छैन। ‘कलिलो उमेरमा बिहे गर्दा न घरबार भयो न स्वास्थ्य राम्रो रह्यो’, बल्ल होस फिरेकी उनले भनिन्।

महाकाली नगरपालिकाकै २१ वर्षीया अप्सरा सुनार (नामपरिवर्तन) को कथा पनि रविनाको जस्तै छ। उनले पनि कम उमेरमा आफैंले रोजेर बिहे गरिन्। बिहे गर्दा उनी १७ वर्षकी थिइन्। बिहे गरेर जीवन सुखका साथ बिताउने सपना बुनेकी उनको खुसी एक वर्ष पनि टिकेन। ‘घरमा हिंसा हुन थाल्यो, अहिले माइतै बसेकी छु’, उनले भनिन्।

अप्सरा पनि माइती घरमा बसेको तीन वर्ष भइसक्यो। ‘कानुनी रूपमा सम्बन्धविच्छेद गरेको छैन न त बिहे दर्ता नै भएको छ’, उनले भनिन्। उनले कक्षा १० पढ्दापढ्दै बिहे गरेकी हुन्।

महाकाली नगरपालिका–९ कै यशोदा सुनार (नाम परिवर्तन)ले पनि उमेर नपुग्दै बिहे गरिन्। १९ वर्षको उमेरमा बिहे गरेकी उनी अहिले २३ वर्षकी भइन्। श्रीमानको घरमा बिहेपछि उनी पनि एक वर्ष टिक्न सकिनन्। आफ्नो खुसीले बिहे गरेकी उनको पनि श्रीमानले अर्को बिहे गरेपछि माइतमै आएर बस्नुको विकल्प मिलेन उनलाई।

‘चार वर्षदेखि माइत बसिरहेकी छु, जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा हालेकी छु’, उनले भनिन्। अदालतले छिटो फैसला गरिदेला र न्याय पाइएला भन्ने आसमा उनी बसेकी छन्। महाकाली नगरपालिकाका यी तीन प्रतिनिधि उदाहरण मात्रै हुन्।

नगरपालिका क्षेत्रमा उमेरै नपुगी बिहे गर्नेको संख्या धेरै छ। महाकाली नदी पारिको साविकको दोधारा र चाँदनी गाविस मिलाएर महाकाली नगरपालिका बनेको हो। कम उमेरमा बिहे र लगत्तै सम्बन्धविच्छेदसमेत हुने घटना धेरै रहेको नगरपालिकाले जनाएको छ। ‘नगरपालिकाका धेरै वडामा कम उमेरमै बिहे गर्ने चलन छ’, उपमेयर चिनी गिरीले भनिन्। ‘भित्र–भित्रै कम उमेरमै बिहे गर्ने गरेको पाइन्छ।’ उनले लहैलहैमा लागेर तथा कतिपय घरपरिवारकै कारण सानैमा बिहे हुने गरेको बताइन्।

‘एक त उमेरै नपुगी बिहे गर्ने अर्कोतर्फ वर्षदिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको देखिएको छ’, गिरीले भनिन्, ‘यो समस्या समाधान गर्न अब नगरपालिकाले पनि विशेष रूपले अभियान थाल्नुपर्ने भएको छ।’ उनले घरबार बिग्रिसकेका कतिपय महिलाको नागरिकता बनाउने उमेरसमेत नपुगेकाले उनीहरू समस्यामा पर्ने गरेको बताइन्।

गिरी महाकाली नगरपालिकाको न्यायिक समितिकी संयोजकसमेत हुन्। महाकाली नगरपालिकाले डेढ सय हाराहारीमा उजुरीको फैसला गरिसकेको छ। ‘बढीजसो कम उमेरमा विवाह गरेर सम्बन्धविच्छेद गरेका आउने गर्छन्, घरेलु हिंसाका पनि मुद्दा आउँछन्’, न्यायिक समिति संयोजक गिरीले भनिन्।

मुलुकी देवानी संहिता ऐन २०७४ ले बिहे गर्ने केटाकेटी दुवैको उमेर २० तोकेको छ। १८ वर्षमुनि बालविवाह र १८ देखि २० सम्म बिहे गरे पनि कानुनी मान्यता नपाउने अधिवक्ता पुनम चन्द बताउँछिन्।

ऐनको परिच्छेद ११ को बालविवाहसम्बन्धी कसुरको १७३ नम्बर बुँदामा विवाह गर्नेको उमेर २० वर्ष पूरा हुनुपर्ने र त्यसो नभए स्वतः विवाह बदर हुने उल्लेख छ। अझ उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना हुने पनि व्यवस्था छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.