बीपी पक्राउका साक्षी

बीपी पक्राउका साक्षी

सर्लाही लालबन्दी नगरपालिकाको जुटपानीमा पद्म भुवनेश्वरी वृद्धसेवा आश्रम छ। सोही आ श्रममा बस्छन् वासु कोइराला (८८)। उनको मुहारमा सदा मृदु मुस्कान झल्किन्छ। वासु २०१७ साल पुस १ गते बीपी र गणेशमानलाई गिरफ्तार गरी लगेको देख्ने ऐतिहासिक साक्षी हुन्। मेलमिलापको माहोल बुझ्न बीपीभन्दा पहिला नेपाल आउने केबी गुरुङ र धर्म गौतमका सहयात्री हुन् उनी।

नेपाली काँग्रेस किसान संघका पूर्वअध्यक्ष वासु यतिखेर इतिहास र वर्तमान मिसिएको रंगीन पल सम्झिँदै बाँचिरहेछन्। काँग्रेसका पुराना नेताहरूका लागि उनको थलो अब इतिहास चियाउने पर्दा हो। गत सालको स्थानीय चुनावको बेला शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेल साइरन बजाउँदै उनको आँगन टेकेका थिए।

वासु काभ्रेको आफ्नो घरबाट आठ वर्षकै उमेरमा भागेर भारत पुगेका थिए। तीर्थयात्रीहरूको साथ लागेर हिँडेका उनले इलाहाबादको ब्रह्मचर्य आ श्रममा ६ वर्ष बिताए। त्यसपछि बल्ल घरमा चिठी लेखे। यति बेला त उनी हलक्क किशोर भइसकेका थिए। किशोरहरूमा बनारसमोह बिछट्ट थियो तिनताका। उनी पनि पुगे एक दिन। र, त्यहाँको ‘सन्न्यासी संस्कृत कलेज’मा पढ्न थाले। नेपाली छात्र संघ बनारसको सम्पर्कमा आएपछि त्यसको सदस्य बने।

अंग्रेज शासनविरुद्ध लडाइँको तापले बनारसका नेपाली विद्यार्थीको पनि रगत उम्लिन्थ्यो। गान्धी, नेहरूलगायतका नेताहरूको भाषण यदाकदा सुन्ने मौका पनि पाउँथे वासुले। बनारस नेपाली नेताहरूको अखडा नै भइहाल्यो उबेला। पुस्तक किन्ने पैसा नहुने त्यो जमानामा बनारसको ‘नेपाली सौभाग्य पुस्तकालय’ नेपाली विद्यार्थीको तीर्थथलो नै भइदियो। वासु पनि यदाकदा कविता र लेख छपाउँथे। यही थियो उनीहरूको देश दुनियाँ चियाउने ‘एक्सपोजर’।

यत्तिकैमा कृष्णप्रसाद भट्टराईको दाजुको बिहामा नेपाली छात्र संघको टोलीलाई निम्त्याइयो। सात सालको सेरोफेरोको कुरा हो यो। निम्तालुमा गणेशमान र बीपी पनि थिए। बिहाकै माहोलमा बीपीले भाषण गरे, ‘तपार्इंहरू यहाँ पढ्न बस्नुभएको छ। नेपालमा प्रजातन्त्र छैन। यहाँ पनि भारतमा जस्तै प्रजातन्त्र हुनुपर्छ। देशमै बसेर पढ्न लेख्न पाउनुपर्छ। त्यसका लागि सजग हुनोस्।

हामी तपाईंहरूलाई कार्यक्रम पनि दिन्छौं।’ पातला कायाका बीपीको तेज अनि उनको तेजस्वी वचन, वासु लट्ठै परे। आज पनि पहिलोपटक सुनेका बीपी वचन सम्झँदा खुसीले लाल हुन्छन्। भन्छन्, ‘उहाँले बोलेको सो वाक्य जस्ताको तस्तै मेरो हृदयमा कुँदियो।’ त्यो दिनदेखि उनी एक साधारण विद्यार्थीको भेषमा छोपिएका यौद्धा भए। बने नेपाली कांग्रेसका आजीवन सदस्य। सुरु भयो नसकिने संघर्षको जीवन।

वासुले आफ्नो जन्मथलो काभ्रेलाई नै कार्यथलो रोजे। कामहरू थिए, हस्तलिखित पत्रिका निकाल्ने, पुस्तकालय बनाउने, वाचनालय खोल्ने, भित्ते पत्रिका निकाल्ने आदि। चौतारा चिन्ने र खोलामा काठको फड्के हाल्ने काम पनि गर्थे उनी। जनतालाई सचेत बनाउन कोरा भाषण मात्र हँदैनथ्यो। ठूल्ठूला कविहरूको जन्मदिन मनाउने, साहित्य सम्मेलन गर्ने, नाटक लेख्ने, मञ्चन गर्ने आदि हुन्थ्यो।

प्राथमिक उपचारका लागि औषधिहरू बोकेर पनि हिँड्थ्यो वासुको टोली। भीरमा लडेका मानिसहरूलाई बोराको स्ट्रेचर बनाएर बोकेरसमेत हिँड्थे। वासुलाई पहिलो भेटमा नै सुवर्णशमशेरले भनेका थिए रे, ‘समाजसेवा नेपाली कांग्रेसको प्राण हो।’ जनता र समाजसँग गाँसिएर उभिएको हुन्थ्यो उबेलाको राजनीति। आज भने यो दूरी अलि बढेको भान हुन्छ। नेता कार्यकर्ता सुविधाभोगी भएका छन्। राजनीति जनताबाट टाढिएझैं लागेको छ उनलाई।

बीपी कोइरालाको कमान्डमा भिडेका हजारौं युवा जनताको समीपमा रही राणातन्त्रसँग जुधे, प्रजातन्त्र ल्याएरै छाडे। २००७ सालमा आएको प्रजातन्त्रमा राजा महेन्द्रको नजर लाग्यो। प्रजातन्त्रको बिरुवाले टाउको नउठाउँदै राजतन्त्रले ठुंग्यो। २०१७ साल पुस १, यस्तो कालो दिन हो, जसलाई प्रजातन्त्रका कोही योद्धा पनि सम्झन चाहन्नन्। तर, नसम्झी सुख पनि छैन। त्यो दिनका एक साक्षी वासुको सम्झनामा सिनेमाको रिलझैं घुम्छ त्यो दिन।

त्यो कालो दिन

बिहान ११ बजे थापाथलीमा तरुण दलको अधिवेशन चलिरहेको थियो। पार्टी महामन्त्री श्रीभद्र शर्मा बोल्दै थिए। मञ्चमा कुर्सी थिएन। चकटी ओछ्याइएको थियो। गणेशमान, भट्टराई, बीपी र अन्य केन्द्रीय नेताहरू बसेका थिए। सबैको ध्यान भाषणमा थियो। स्टेजको पछाडि मूल ढोका थियो। अचानक पछाडिबाट सैनिक टोली छिर्‍यो। अधिवेशनमा सहभागी सबैले आँखा उतै फर्काए।

सैनिकहरूले मञ्च दुईतिरबाट घेरे। मञ्चको छेउमा एक सैनिक उभिए। बीपीलाई सलाम गरे। अनि ‘उठ’ भनेर इशारा गरे। बीपी उठेर एक कदम अगाडि सरे। ती सैनिक दुई कदम अगाडि आए। बीपीको हातमा चिठी थमाए। उद्घोषकले सहभागीलाई शान्त रहन आग्रह गरे। सैनिकले गणेशमानलाई पनि इशारा गरे। उनी पनि उठे। अरू पनि मन्त्रीहरू थिए। सबैको नाम वासु अहिले सम्झिन सक्दैनन्। बीपीलाई सलाम गरी चिठी थमाउने सैनिक त प्रधानसेनापति सुरेन्द्र शाह पो रहेछन्। यो कुरा वासुले पछि मात्र थाहा पाए।

उनका आँखा बीपी र गणेशमानमै अडिएका थिए। बीपी, गणेशमानलगायत अन्य ५÷६ जना केन्द्रीय नेतालाई सैनिकहरूले घरप्प घेरे।

ढोकानेर पुगेपछि बीपी कोइराला, गणेशमान र अरूलाई पनि एउटै जिपमा हालियो। यसपछि सबैलाई निश्चित भयो, यो गिरफ्तारी हो। तरुण दलका महामन्त्री कमल चित्रकारले ‘नेपाली कांग्रेस’ भनेर जोडले नारा लगाए। कार्यक्रमका सहभागी सबैले ‘जिन्दाबाद’ भने। उनले ‘बीपी कोइराला’ भने, फेरि एकै स्वर गुन्जियो ‘जिन्दाबाद’। नेताहरूलाई कोचेको जिप गइसकेको थियो। बाँकी सहभागीलाई घेरेर राखिएको थियो। एकछिनपछि रेडियोमा समाचार बज्यो।

३ बजे शाही घोषणा हँदैछ भनियो। ३ बजेभन्दा अझ ढिलो घोषणा भयो। नेताहरू गिरफ्तार भएको र दलहरू प्रतिबन्धित भएको बेहोराको समाचार आयो। शैलजा आचार्य, सिंहध्वज खड्का, कमल चित्रकार र तरुण दलका केन्द्रीय नेताहरूले बैठक बस्ने निधो गरे। बैठकको निष्कर्ष रह्यो, विरोध प्रदर्शन गर्ने।

निधो गर्दागर्दै ४ बजिसकेको थियो। जिप, माइक बन्दोबस्त गर्दागर्दै समय गयो। वासु र विश्वनाथ अग्रवाल अविधेशन स्थलमा नै बसे। उनीहरूको नसुतेरै रात बित्यो। भोलिपल्ट माइकिङ भयो। सर्वप्रथम माइकिङ गर्नेमा मार्शलजुलुम शाक्य थिए। यसपछिको पालोमा थिए, वासु कोइराला र विश्वनाथ।

मार्शलजुलुम शाक्य पक्राउ परे। जिप पनि जफत गरियो। नारा लगाएका कारण कमल चित्रकारलाई अघिल्लो दिन नै समातिसकेको थियो। अब धमाधम पक्राउका खबर आउन लागे। वासुलाई जिल्लाको फिक्री लाग्यो। हिँडेरै गोदावरीको बाटो भएर जंगलैजंगल खोपासे पुगे। काभ्रेका युवाहरू जम्मा पारे, संघर्ष समिति गठन भयो। त्यही रातदेखि भूमिगत संघर्षमा होमिए।

संघर्षका ती दिन

भूमिगत जीवनको कहर कार्यकर्ताका लागि अर्को कहाली थियो। बनारस अब राजनीतिको अखडा बनेको थियो। त्यहीँबाट योजना बन्थ्यो। २०१८ सालमा पद्मशंकर अधिकारी र वासु कोइराला पार्टीको सिभिल इन्चार्जमा नियुक्त भएका थिए। वर्षादको मौसम थियो। कर्णेल डीबी राई सैनिक कमान्डर थिए। उनीहरूको नेतृत्वमा स्याङ्जा र पश्चिमतिरका अरू सैनिकहरूका साथै रामेछाप, दोलखा, काभ्रेका कार्यकर्ता पनि थिए।

वासुलाई हात बाँधेर सिन्धुलीगढीको टँडिखेलमा पुर्‍याए प्रहरीले। तारो हान्ने चौरमा पुगेपछि उनको आँखामा पट्टी बाँधिदिए। वासुको कानले गोली लोड गरेको पनि सुन्यो।

पचपन्न जनाको डफ्फा थियो। सिन्धुलीको बाटो हुँदै माडीभन्दा दक्षिणपट्टिको पाखामा भान्सा बनाउने निधो गरे। यसै क्रममा रासनपानी जम्मा गरेको मानिसको घरमा जान लागेका थिए वासु। त्यही बेला डीबी राई, पद्मशंकर र वासु तीनैजना सैनिक घेराउमा परे। वासुको हातमा रिभल्भर थियो, जंगलमा फाल्दिए।

वासुलाई हात बाँधेर सिन्धुलीगढीको टँडिखेलमा पु¥याए प्रहरीले। तारो हान्ने चौरमा पुगेपछि उनको आँखामा पट्टी बाँधिदिए। वासुको कानले गोली लोड गरेको पनि सुन्यो। त्यही बेला एक मानिस बुट बजार्दै आइपुग्यो र भन्यो, ‘साप यो मान्छेले त रेडियो पनि बोकेको थियो रे। योसँग बयान लिन बाँकी नै छ।’ त्यो रेडियोको बयान, त्यो सिपाहीको आगमन। यसरी जोगियो वासुको जिन्दगी।

गोलीगट्ठा ठीक पारेको मेजरले उनलाई झट्कारेर भन्यो, ‘बँचिस् साले।’ त्यसपछि उनलाई सांग्लोले बाँधेर बुट र लात बजार्दै ढुंगामा घिसारियो। यातनाले बेहोश भएका उनी होश आउँदा आफूलाई रगताम्य अवस्थामा पाए। रगताम्य ज्यानलाई सिस्नोभन्दा पनि बढी पोल्ने काँडैकाँडा भएको अल्लोमा सुताइयो। वासुले आफ्नो जीउभरि नजर डुलाए। मनमा के चल्यो थाहा छैन।

अचानक उनले गीत गुनगुनाएछन्, ‘मर्ना हे तो डरना क्या।’ भोलिपल्ट नेल र हत्कडीसहित नै डोकामा बोकिएर रामेछापतिर हिँडाइयो। वर्षाको चिप्लो बाटो बोक्ने मानिस बाटोमा लडे। पहाडको उकालो ओरालो। उनको घाइते ज्यान पनि पछारियो। त्यो दुःखको के हिसाब !

रामेछापका बडा हाकिम धर्मबहादुर पहाडीकहाँ पु¥याइए उनी। कलकत्ताको गोप्य कोठामा वासु कोइराला, सुवर्णशमशेर, कर्णेल डीबी राई, योगप्रसाद उपाध्याय, वासुदेव रिसाल मात्र बसेर बुनेको योजनाको फेहरिस्त बडा हाकिमले देखाए। असम्भव लाग्ने कुरा। ‘कस्तो कडा सुराकी’, आजसम्म छक्क पर्छन् उनी। उनी बीच बाटोमा पक्राउ पर्नुको कारण यही थियो। बडा हाकिमले बयान लिए। बाँकी बत्तीस पानाको जवाफ लेखेर दिए। रेडियोको सूचना लुकाएकोमा रोमाञ्चित हँदै भन्छन्, ‘रेडियो त बचाउन पर्‍यो नि हैन ? ’

भिडियो हेर्नुस् :

०००

बडा हाकिमको परिवारले मानवता देखाएर राम्रो खानासहित दुई दिन राखे।

ज्यानको रगत ओभाएपछि अब ठूलो नेल लगाएर काठमाडौं ल्याउने तयारी भयो। घर बनाउने छडको नेल बनाएर छडको मुख कस्न लागे दुई सिपाहीले। एउटा मानिसले छड समायो अर्कोले सनासो। फलामले हानेको चोट उनको पिँडौलामा पो लाग्यो। छट्पटाए वासु। त्यही चोटमा दुई महिना थलिए। अलिअलि हिँड्न मात्र सकेका थिए। नेल, हत्कडीसहित काठमाडौं रवाना हुन प¥यो। सिपाहीहरूको साथ लागेर बिस्तारै बिस्तारै काठमाडौं आइपुगे। अनि भद्रगोल जेल ६ वर्षको बसाइ भयो।

मेलमिलाप प्रस्तावका बीपी दूतहरू

बीपी राजासँग मेलमिलापको इच्छा राखेर नेपाल फर्कन खोजे। यसमा धेरैको सहमति थिएन। मेलमिलापको विचारसँग भारत पनि खुसी थिएन। गणेशमानले बीपीको वचन हार्न नसकेर मात्र मानेका थिए।

केबी गुरुङ र वासुको सल्लाह भयो। ‘हामी पहिला नेपाल जानुपर्छ। सरकारले कस्तो रवैया देखाउँछ, त्यसपछि मात्र बीपीलाई पठाउनुपर्छ। बीपीलाई पहिला नेपाल पठाए सरकारले कुनै अप्रिय कदम लियो भने पूरा युग समाप्त हुनेछ’, बीपीले मानेका थिएनन्। उनीहरूले मनाए। वासु, केबी गुरुङ र धर्म गौतम नेपाल आउने भए।

योजना तय भएपछि, बीपी, गणेशमान, गिरिजा, शैलजा, नोना कोइराला, पटना युनिभर्सिटीका कुलपति देवेन्द्र सिंहलगायत नेताहरू सँगै बसेर खाना खाने कार्यक्रम भयो।

वासुको टोलीलाई गरिएको एक खालको सम्मान थियो यो। खानपिनको समयमा नोना कोइरालाले थप्न ल्याइन्। वासु र केबीले पुग्यो पुग्यो भने। बीपीले आग्रह गरे, ‘खानुस् न खानुस्, भोलिदेखि के कस्तो हुन्छ, के थाहा ? ’ गणेशमानले त्यसै बेला प्वाक्क बोले, ‘अँ माने पहिले राणाको पालामा ज्यानमारालाई भोटेकोसीमा लगेर काट्दा पनि टन्न मासु भात ख्वाउँथ्यो।’ गणेशमानको बोलीले पूरै माहोल चकमन्न भयो। वासु त्यो दिन सम्झँदै भन्छन्, ‘यसको अर्थ हामीलाई मार्न पनि सक्छन् भन्ने थियो।’

भोलिपल्ट बीपीबाहेक सबै एअरपोर्ट पुगे। पटनाका नेताहरू पनि आए। हिँड्ने बेलामा सबैको आँखाबाट आँसु झरेको थियो। त्यो दृश्य अहिले पनि वासुको अघिल्तिर चित्र बनेर उभिन्छ। भन्छन्, ‘हामी पनि गौरवका साथ प्लेन चढ्यौं।’ यसरी तीनजना बीपीको दूत बनेर नेपाल आए।

काठमाडौंमा हवाईजहाज ल्यान्ड भयो। अफिसर लेभलका प्रहरीहरू टनाटन थिए। दरबारका मान्छे, पत्रकार र अरूहरूले पनि उनीहरूलाई घेर्न थाले। एकजनाले सोधे, ‘तपाईंहरूले राजासँग बिन्तीपत्र चढाएर आएको हो ? ’ केबी गुरुङले जवाफ दिएछन्, ‘होइन।’ अर्कोले वासुलाई सोधे, ‘माफी मागेर आउनुभएको हो ? ’ उनले भनेछन्, ‘होइन।’ ती मानिसले फेरि सोधेछन्, ‘त्यसो भए अब के गर्नुपर्छ त ? ’ वासुले शानसँग जवाफ दिएछन्, ‘अब हामीसँग राजाले माफी माग्नुपर्छ।’

त्यसपछि उनीहरूलाई अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठकहाँ पुर्‍याइयो। उनले भनेछन्,“तपाईंहरू त बीपीको पाइलट कार भएर आउनुभएको न हो।’ बोलीमा सम्मान, व्यवहारमा आदर देखियो अञ्चलाधीशको। चिया ख्वाए। घरमा खबर गर्न पनि दिए।

तीनैजनालाई मेजमानीका साथ हनुमानढोकामा एक महिना राख्यो सरकारले। सरकारको रवैया विचार गर्न आएको कुरा सुराकीबाट चाल पाइसकेका थिए सरकारी अधिकारीहरूले। एक महिनापछि भने उनीहरूलाई हिरासतमा लिइयो। यो २०३३ सालको कुरा हो।

बीपीको सान्निध्यमा रहेर भारतको बनारस, नेपालका तराई र पहाडी जिल्लाको कमान्ड सम्हालेका वासु एक जिउँदो इतिहास हुन्। उनले देखेका र भोगेका कुरा इतिहासका हरफहरू हुन्। हिजोभन्दा आज फेरिएको नेपाल देखेर खुसी छन् उनी। उबेला सामाजिक जीवनमा दुर्लभ देखिने महिलाहरू क्रियाशील भएको देख्दा उत्साहित छन्।

मानिसहरू उनलाई ‘तैंले बेकारमा दुःख मात्र पाइस्’ भन्छन् रे। उनको अनुहारको आभाले भने सन्तुष्टि र सुख बोलिरहेको हुन्छ। भन्छन्, ‘त्यो बेला लोकतान्त्रिक पूर्वाधारका लागि हामी नलागेको भए आज मानिसले जुन अधिकार र स्वतन्त्रता उपभोग गरिरहेछन्, त्यो हुने थिएन। यसमा मलाई दुःख हैन, गर्व छ।’ त्यो महान् कर्मको एक योद्धा भएकोमा, उनको अनुहारमा देखिने प्रफुल्लताले वरिपरिको माहोल नै उज्यालो बनाइदिन्छ। अनुहारको रेखाभरि इतिहास बोकेर उभिएको उनको जीवन सर्लाहीमा बसेर बाँकी नेपाल चियाइरहेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.