स्थानीयले नै बनाए सिरिजंगाको शालिक
बिर्तामोड : झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा स्थानीयकै पहलमा किराँत भाषा, लिपिका सर्जक तथा अन्वेषक सिरिजंगा सिं थेवेको शालिक निर्माण गरिएको छ ।
किराँत भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजंगा सम्मानका लागि शालिक निर्माण गरिएको स्थानीय अगुवाहरु बताउँछन् । १४ लाखको लागतमा ५ फीट ६ इञ्चको पूर्ण कदको शालिक निर्माण गरिएको सिरिजंगा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।
शालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले १ लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट ८ लाख र स्थानीयबासीले ११ लाख ५० हजार गरी २० लाख संकलन भएको लिङ्देनले बताए ।
सिरिजंगाको शालिक उनकै ३ सय १५ औं जन्मजयन्ती अवसर पार्दै शनिबार अनावरण गरिएको हो । त्रिभूवन विश्वविद्यालयका उप–प्राध्यापक बालकृष्ण माबुहाङले शालिक अनावरण गरेका हुन् । शालिक निर्माण गरी बचत भएको रकम शालिक संरक्षण कोष स्थापना गरी राख्ने बताइएको छ ।
‘बचेको रकमले कोष निर्माण गर्ने छौँ’, स्मारक निर्माण समितिका सचिव बुद्धीराज लक्सम्बाले भने, ‘कोषमा रकम थप्दै हरेक वर्ष मर्मत–सम्भार र किराँत भाषा, लिपिको विकासमा खर्च गरिनेछ ।’
सिरिजंगाको शालिक मोरङ पथरीका मूर्तिकार दीलमान बेघाले निर्माण गरेका हुन् । शालिक निर्माणको लागि बिसं. २०७४ साल चैत २४ गते नौ सदस्यीय समिति गठन गरिएको थियो ।
पल्लो किराँत लिम्बूवान याङ्वरक थुम तेल्लोकमा बि.सं १७६१ साल मंसिर २९ गते सिरिजङ्गाको जन्म भएको थियो । सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजंगा लिपि भनिन्छ । जुन किराँतहरुको आफ्नै लिपि हो ।
सिरिजंगाको शालिक यसअघि झापाको कनकाई नगरपालिकाको दुर्गापुर र भद्रपुरको पृथ्वीनगरमा समेत निर्माण गरिएको छ । शिवसताक्षीमा निर्माण गरिएको सिरिजंगाको तेस्रो शालिक हो ।