हिमाल बुझ्दै विद्यार्थी

पोखराकी सात वर्षीया एन्जी गुरुङ पर्वतारोहीको डमी नजिकै गइन् । हातमा बञ्चरो, शरीरमा डोरी र अन्य सामग्रीसहित डाङ्ग्री ओडाएको डेमी देख्दा उनमा कौतुहल जाग्यो । ‘ओहो, यो के हो ? ’ गुरुङको यस्तो जिज्ञासामा सँगै आएकी उनकी शिक्षिकाले पनि स्पष्ट जवाफ दिन सकिनन् । १८ पटक सगरमाथा आरोहण गरिसकेका निमाडेण्डी शेर्पा पनि उनीहरू नजिकै उभिइरहेका थिए ।
गुरुङको उत्सुकता मेटाउँदै डमीमा देखाइएको सामग्रीको पूर्ण व्याख्या शेर्पाले नै गरिदिए । प्रसंग थियो ग्रेट हिमालय पाँचौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको । पर्वतारोहणसम्बन्धी पूर्ण जानकारी दिने लक्ष्यले पर्वत दिवसकै अवसर पारेर एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी भएका पोखरा र अन्य जिल्लाका करिब एक हजारभन्दा बढी विद्यार्थीले हिमाल र हिमालमा प्रयोग हुने सामग्रीबारे जानकारी लिए ।
पोखराको नेपाल आदर्श विद्यालयमा कक्षा २ मा अध्ययनरत गुरुङले डमीसँगै उभिएर फोटो खिचाइन् । उनीजस्तै धेरै विद्यार्थीले हिमाल चढ्दा प्रयोग गरिने सामग्रीको बारेमा पालैपालो जानकारी लिए । त्यसपछि डमीसँगै उभिएर फोटो खिच्ने इच्छासमेत पूरा गरे । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय घुम्न आएका अर्का विद्यार्थी अविर कार्कीको ठूलो भएपछि हिमाल चढ्ने रहर छ । त्यसैले उनले हिउँ काट्ने बञ्चरोलाई हातमा लिएर खेलाए । भ्रमणमा आएका उनी जस्तै अन्य विद्यार्थीका लागि पनि महोत्सव निकै फलदायी रह्यो ।
कार्यक्रममा उपस्थित विद्यार्थीले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे, एडमन्ड हिलारी र पहिलो महिला आरोही जुन्को तापेईको बारेमा जानकारी बटुले । यति मात्र होइन, ठूलो भएर हिमाल आरोहण गर्नेसम्मको आँट लिएर उनीहरू घर फर्किए ।
संग्रहालय घुमेका शिक्षकशिक्षिकाले पाठ्यक्रममा हिमालसम्बन्धी विषय समावेश गर्नुपर्ने अनुभूति गरे । हिमालै हिमालको हबको रूपमा विश्वमा नेपाल चिनिन्छ । तर यहाँकै जनता हिमालप्रति अनविज्ञ देखिन्छन् । त्यसैले हिमाल चढ्ने मात्र नभई पढ्ने व्यवस्था पनि गर्नुपर्ने कीर्तिमानी आरोही निमाडेण्डी शेर्पाले बताए । विश्वमै कान्छो आरोही तेम्बाछिरी शेर्पा हुन् ।
उनले १६ वर्षको उमेरमा सन् २००१ मा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । तर सरकारले पछिल्लो समय शारीरिक परिपक्वताको अवस्थालाई ध्यानमा राखेर १५ वर्ष पूरा नगरी सगरमाथा आरोहण गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल पर्वतारोहण संघले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा मंसिर २४ देखि २६ गतेसम्म पर्वतीय महोत्सवको आयोजना गरेको थियो । कार्यक्रममा देश विदेशका करिब पाँच हजारको सहभागिता रहेको थियो । पर्वतारोहणसम्बन्धी पूर्ण जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताए ।
सरकारले चार सय १४ वटा हिमालको पहिचान गरेको छ । यीमध्ये ११ वटा हिमाल आरोहणमा शुल्क लाग्दैन । सरकारले पाँच हजार सात सयभन्दा कम उचाइ भए शुल्क नलाग्ने निर्णय गरेको छ । बाँकी चार सय तीनवटा हिमाललाई आरोहण योग्य भनेर राजस्वसहित आरोहण गर्न अनुमति दिने गरेको छ ।
यी हिमालहरूको थप प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुगेको छ । नेपालको मुख्य पर्यटकीय गन्तव्य र गुणस्तर पर्यटक भित्र्याउने माध्यम हिमाल हो । सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने सरकारले लिएको लक्ष्य छ । पर्वतीय महोत्सवले सरकारको यो लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ । कार्यक्रममा ५० भन्दा बढी पर्वतारोहणसम्बन्धी स्टलहरू राखिएका थिए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय विश्वकै उत्कृष्ट पाँचमध्ये एक हो । संग्रहालयमा विश्वविख्यात आरोहीको विवरण, उनीहरूले प्रयोग गरेका सामग्री र पर्वतारोहणको सुरुआती चरणमा प्रयोग गरिएका सम्पूर्ण सामग्रीहरू संरक्षण गरी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !
