खरिदार हुँदा मेरो तलब १५०
जीवन एक प्रकारको संघर्ष हो । कुनै पनि सफलताबाट मात्तिनु र असफल हुँदैमा आत्तिनु हुँदैन । आफू असल भए मात्र संसार असल देखिन्छ । मेरो जन्म २००९ सालमा रौतहटको गौर बजारमा भएको हो । म बुवा आमाको जेठो छोरो र बाँचेकामध्येको दोस्रो सन्तान हुँ । मेरो औपचारिक पढाइ गौरकै वैद्यनाथ प्राथमिक विद्यालयबाट सुरु भयो । हामी घरबाटै सिलेट पाटी, चक र गुन्द्री बोकेर विद्यालय जान्थ्यौं । गुन्द्रीमा पलेँटी कसेर पढ्थ्यौं ।
बुवा गौरकै हाइस्कुलमा शिक्षक हुनुहुन्थ्यो । पछि प्रधानाध्यापक हुँदै क्याम्पस प्रमुख पनि हुनुभयो । बुवा र काइँलो बुवा दुवै संस्कृतका धुरन्धर विद्वान र प्रतिष्ठित शिक्षक पनि हुनुहुन्थ्यो । बुवा अलि नरम स्वभावको हुनुहुन्थ्यो भने काइँलो बुवा निकै कडा । त्यसबेला गुरुले पाठ दिने र पाठ बुझाउने चलन थियो । हामी स्कुलबाट फर्केपछि होमवर्क सकिहाल्थ्यौं । अनि मात्रै खेल्न निस्कन्थ्यौं । म पढाइमा निकै अब्बल थिएँ । पहिलो, दोस्रो वा तेस्रो हुन्थेँ । दुई कक्षामा पहिलो भएपछि मलाई हाइस्कुल सारेर माथिल्लो कक्षामा भर्ना गरियो । मैले २०२३ सालमा १४ वर्षकै उमेरमा एसएलसी गरेँ ।
हाम्रो पालामा ट्वाइलेटको चलन थिएन । लोहोटामा पानी बोकेर खेतमा दिसा, पिसाब गर्न जाने चलन थियो । मानिस भूत, प्रेत आउँछ भनेर डर देखाउँथे । म हनुमान चालिसा पाठ गर्दै रातमा बाहिर निस्कन्थेँ । यसले शक्ति दिन्छ भन्ने विश्वास थियो । पछि जेलमा प्रहरीले यातना दिँदा माओत्सेतुङका भनाइहरू सम्झिन्थेँ ।
हाम्रो परिवार अत्यन्तै धार्मिक र शाकाहारी थियो । मेरो व्रतबन्ध ११ वर्षको उमेरमा भयो । वीरगन्ज गएर एसएलसी दिँदासम्म मैले माछा, मासु र होटेलको खाना खाइनँ । त्यसबेलासम्म रौतहटमा एसएलसीको परीक्षा केन्द्र थिएन । भिनाजुले पछि कुखुराको मासु खान सिकाउनुभयो । आमा हुन्जेल हाम्रो भान्सामा मासु पाक्दैनथ्यो । हाम्रो घरमा विशेष अवस्था वा पाहुना आएको समयबाहेक अरू बेला मासु पाक्दैन । शाकाहारी भोजन नै बढी पाक्छ ।
म पढाइमा ज्यादै ध्यान दिन्थेँ । अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थेँ । हामी कहिलेकाहीँ गुलेली बोकेर खेल्न निस्किन्थ्यौं । कहिले आँप पनि चोरेर खान्थ्यौं । सिनेमा हेर्ने दिदीहरूसँग भारतको सीतामणिसम्म पुग्दा निकै रमाइलो हुन्थ्यो । सामाजिक विषयवस्तुका सिनेमाले मलाई धेरै कुरा सिकायो । म सुनीलदत्त, राजकपुरका सिनेमा धेरै हेर्थें ।
बुवाले मलाई एसएलसी दिएर खाली भएको समयमा कक्षा ८ मा पढाउने काम दिनु भएको थियो । त्यसैबेलादेखि राणाकालमै शारदा शमशेरको नामबाट सञ्चालित शारदा पुस्तकालमा गएर पढ्ने लत बस्यो । अहिले त्यो कलाकुञ्ज पुस्तकालयको नामबाट सञ्चालित छ । सुरुमा बुवा लाइब्रेरियन हुनुहुन्थ्यो । मैले त्यहाँ जासुसी कथा, उपन्यास, रामायण, महाभारत पढ्ने मौका पाएँ । त्यस्तै गुरुदत्त, गोर्गी, राहुल सांस्कृत्यायनका किताब पढेँ । यसले मलाई माक्र्सवादतर्फ झुकाव बढायो । अन्याय र अत्याचारका विरुद्ध लड्न सिकायो ।
म सानैदेखि अलि कडा स्वभावको थिएँ । एक पटक भारत जाने क्रममा रेलको टिकट नकाटी चढेँ । पछि मैले टिकट नकाटी चढेको भन्दै मजिस्ट्रिेटले निकै गाली गर्यो । म रिसाउँदै उमाथि जाइलागेँ । मलाई अरू यात्रुले समातेपछि मात्रै म शान्त भएँ । रेलमै यात्रा गर्दा घटेको अर्को घटना पनि याद आइरहन्छ । सीपी मैनाली र म यात्रामा थियौं । एकैछिनमा मेरो झोला हरायो । चोर पनि भेटियो । चोरलाई मैले बेस्सरी कुटेको याद आइरहन्छ ।
हाम्रो पालामा हिन्दी विषय अनिवार्य थियो । त्यस्तै, अंग्रेजीमा र्यापिड रिडिङ भन्ने विषय पनि थियो । म एकै दिनमा दुई, तीनवटा किताब छिचोल्थेँ । सानैदखि छिमेकी भक्तबहादुर मानन्धरसँग मर्निङवाक जाने बानी थियो । यसले मेरो स्वास्थ्य राम्रो हुनुमा सहयोगी भूूमिका खेलेको भन्ने लाग्छ । सानैदेखि मेरो खराब संगत भएन ।
एसएलसीपछि म उच्च शिक्षाका लागि भारतको सितामणि गएँ । त्यहाँका भौतिक विज्ञानका शिक्षकबाट म बहुतै प्रभावित भएँ । उहाँ राष्ट्रिय स्वयंसेवक संगठनको सदस्य हुनुहुँदो रहेछ । वामपन्थी विचारबाट प्रभावित मलाई कलेजको वातावरण मिल्दोजुल्दो भएन । म त्यहाँ योगा, शारीरिक कसरत, आ श्रम विकास एवं देशभक्तिको भावना आदिबाट प्रभावित थिएँ । म पहिलेदेखि रूपमा भन्दा सारमा विश्वास गर्थें । हरेक क्षेत्रबाट सकारात्मक कुरामात्र लिनुपर्छ भन्ने लाग्थ्यो । मेरो निजी आचरण निर्माण गर्ने कुरामा यसले विशेष भूमिका खेल्यो । स्वास्थ्यको कारण मेरो पढाइले त्यहाँ निरन्तरता पाउन सकेन ।
पछि म ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भएँ । त्यहीँबाट आईकम गरेँ । हामी छोराछारी धेरै भएकाले पढाइमा बुवालाई आर्थिक भार निकै थियो । उहाँलाई सहयोग गर्नकै लागि म काम गर्न थालेँ । सुरुमा राष्ट्र बैंकको बजार अध्ययनसम्बन्धी काम गरेँ । पछि भूमिसुधारमा खरिदार भएँ । त्यसबेला मेरो तलब एक सय ५० थियो । यही जम्मा गरेको पैसाले पछि धेरै काम लाग्यो । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन गठन गर्न पाउनुपर्छ भनेर आन्दोलनको अगुवाइ गरेँ ।
म राजनीतिमा लागेको कुरा घरमा पचेको थिएन । सुरुमा मैले सुनाएको पनि थिइनँ । म त्यतिबेलै बेइजिङ रिभ्यु पत्रिकाको ग्राहक बनेँ । नजानेका अंग्रेजी शब्द शब्दकोश हेरेरै कण्ठ पार्थें । मेरो अंग्रेजी राम्रो हुनुका पछाडि यही पत्रिका र मेरा गुरु सूूर्यकान्त लालदासको ठूूलो योगदान छ ।
त्यसबेला सुस्ता र महेशपुरको सिमाना भारतले मिचेको कुरा निकै उत्कर्षमा पुगेको थियो । मेची महाकाली आन्दोलित थियो । जताततै जुलुस निस्किन्थे । हामी आदर्शनगरदेखि सिमानासम्म ‘सुस्ता महेशपुर हाम्रो हो’ भनेर नाराबाजी गर्दै गएका थियौं । यसले मलाई देशभक्तिको भावना जगायो ।
त्यसपछि म काठमाडौं आएँ । त्रिचन्द्र कलेजमा भर्ना भएँ । पछि पाटन क्याम्पसमा पनि पढेँ । यही अवधिमा नेपाल बैंकमा जागिरको लागि निवेदन दिएँ । त्यसपछि विराटनगरस्थित रानीमा सहायक पदको नियुक्ति लिएर गएँ । त्यहाँ रहँदा मोरङ र झापाका क्रान्तिकारी साथीहरूसँग सम्पर्क भयो । त्यसबेला पञ्चायती शासनको दबदबा थियो । ‘अब फुल टायम राजनीति गर्नुपर्छ’ भन्ने सीपी मैनालीको प्रस्ताव आयो । यसपछि तीनवर्षे जागिरबाट राजीनामा दिएँ । विराटनगरमै हुँदा मैले बीकम पनि गरेको थिएँ ।
म जेल हुँदा बुवा भेट्न आउनुभएको थियो । ‘बाबु ! हो के गर्दा तिमीहरूको भलो हुन्छ, त्यो काम मात्र गर । कुकर्म नगर, नराम्रो काममा हात नहाल’ भन्नुभयो । पछि पञ्चायती शासन ढलेर प्रजातन्त्र पुनस्र्थापना भएपछि बुवा आमा निकै खुसी हुनु भएको थियो ।
भाइबहिनीले नेपाली संस्कार र संस्कृतिका कुरा ख्याल गर्नुपर्छ । बुवाआमा र अभिभावकलाई सम्मान गर्ने, सानालाई माया गर्ने कुरामा ध्यान दिन आवश्यक छ । लगनशील भएर इमानदारीपूर्वक गरेको कामले जहिले पनि सफलता दिलाउँछ । झुटो बोल्ने बानीले फसाउन सक्छ । शरीर स्वस्थ्य राख्न सके मात्रै दिमाग तीक्ष्ण हुन्छ । यसकारण आहारविहारमा ध्यान दिनु आवश्यक छ । कुनै पनि सफलताबाट मात्तिने र असफल हुँदैमा आत्तिनु हुँदैन । जीवन एक प्रकारको संघर्ष नै हो । आफू असल भए मात्र संसार असल देखिन्छ ।
(पूर्वप्रधानमन्त्री नेपालसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)