महायज्ञको उद्घाटन गर्दै प्रचण्डले भने : अर्को चुनावमा आउँदा धुलोमैलो नहोस
भरतपुर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार चितवनको भरतपुरमा महायज्ञकाे उद्घाटन गरेका छन् । भरतपुर महानगरपािलका-२१ पार्वतीपुरस्थित भानु माविको भवन निर्माणार्थ आयोजित महायज्ञको दाहालले आइतवार उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा बोल्दै दाहालले वर्तमान सरकारले चितवनको विकासमा कुनै पनि कसर बाँकी नराख्ने दाबी गरे । ‘आउँदो चार वर्षभित्र चितवनको सबै सडक पिच हुन्छ, तपार्इँहरू ढुक्क हुनुहोस्’, दाहालले भने ।
चितवनको विकासको लागि सधैँ चिन्तित भइरहेको भन्दै उनले थपे, ‘यो वर्ष जस्तै विकासको गतिले बाँकी चार वर्ष पनि निरन्तरता पाइरहोस् भन्ने मेरो चाहना हो। अर्को चुनावमा आउँदा गत वर्षको चुनावमा जस्तो धुलोमैलो सहनु नपरोस्।’
चितवनको विकासबाटै समग्र देश विकासको सन्देश दिन चाहेको उनको भनाइ छ। चितवन मात्रै नभई समग्र नेपालकै विकासको लागि ठूलो जिम्मेवारी रहेकोले चितवनको सबै ठाउँमा सोचेजस्तो काम गर्न नपाएको भन्दै दाहालले अर्को कार्यकालमा अहिले छुटेका स्थानको विकासमा जोड दिने प्रतिवद्धता जनाए।
आइतबारबाट सुरू भएको महायज्ञ ९ दिनसम्म चल्नेछ। महायज्ञबाट करिब पाँच करोड रूपैयाँ संकलन गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !