आतंकका सात मिनेट

आतंकका सात मिनेट

इनसाइटको सफलतासँगै मानवलाई मंगल ग्रहमा पाइला टेकाउने अभियानले तीव्रता पाउनेछ; यो एक उत्कृष्ट इन्जिनियरिङको नमुना पनि हो


क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीको जेट प्रोपल्सन प्रयोगशालाको एक नियन्त्रण कक्षमा नोभेम्बर महिनाको २६ तारिखमा वैज्ञानिक र इन्जिनियरहरू पृथ्वीबाट मंगल ग्रहका लागि प्रक्षेपण गरिएको ‘इनसाइट’ नामक यानको अवतरण पर्खिरहेका थिए। मंगल ग्रहको वायुमण्डलमा प्रवेश गरेदेखि मंगल सतहसम्मको यात्रा गर्न इनसाइटलाई करिब सात मिनेटको समय लाग्थ्यो। जोखिमका हिसाबले यसलाई ‘आतंकका सात मिनेट’ भनिएको थियो।

कक्षको अग्रपंतिमा रहेकी एक यान नियन्त्रक महिलाले यान वायुमण्डलमा प्रवेश गरेको, पश्चात् प्यारासुट खुलेको, राडार एक्टिभेसन भएको, ल्याडर सेपरेसन भएको जानकारी गराएपश्चात् यानको उचाइ ६ सय मिटर रहेको र क्रमशः उचाइ घट्दै गएको बताइन्। विश्वभरकै वैज्ञानिकहरूको स्तब्धताबीच उनले उच्चारण गरिन् –‘टचडाउन कन्फम्र्ड’ अर्थात् अवतरणको पुष्टि। यस मिसनसँग सम्बन्धित वैज्ञानिक र इन्जिनियरहरू खुसीले नाच्न थाले। यो दृश्य एउटा विश्वविद्यालयको प्रयोगशालाभित्रको हो।

वर्षौंको इन्जिनियरिङ तयारी र सात महिनामा करिब ४८ करोड ५० लाख किलोमिटरको यात्रा गरेपछि मंगलग्रहको वायुमण्डलमा पुगेको इनसाइटले स्वचालित रूपमा अवतरण गर्नुपर्ने थियो। यसलाई आवश्यक पर्ने सम्पूर्ण निर्देशन पूर्वप्रोग्राम गरिएका थिए। कुनै प्रोग्राममा भएको एउटा सानो गल्ती यो बृहत् उद्देश्य अन्त्यको कारक हुन सक्थ्यो। इनसाइटसँग आबद्ध वैज्ञानिक र इन्जिनियर त्यो सात मिनेटभर स्तब्ध मुद्रामा देखिन्थे किनकि कुनै सानो पनि प्राविधिक खराबीको समाधान उनीहरूको नियन्त्रणमा थिएन। मंगलबाट पृथ्वीसम्म पुग्न सूचनालाई समेत आठ मिनेटको समय लाग्छ। इनसाइटको संयमित अवतरणका लागि यो गतिलाई करिब २० हजार किलोमिटर प्रतिघन्टाबाट शून्यमा झार्नुपर्ने थियो, त्यही सात मिनेटमा। त्यस्तो तीव्र गतिमा वायुमण्डलमा पस्दा घर्षणले इनसाइटको सतहमा आगो लाग्न सक्थ्यो। यो तापबाट बचाउन यसमा एउटा कबच बनाइएको थियो।

मंगलग्रहको वायुमण्डल पातलो भएकाले स्वतन्त्र रूपले खस्ने वस्तुको गति घटाउने घर्षण मंगलमा कम हुन्छ। वायुमण्डल प्रवेश गरेपछि इनसाइटले प्यारासुटको प्रयोगमार्फत गति नियन्त्रण गरेर आफ्नो गति करिब दुई सय किलोमिटर प्रतिघन्टामा झार्‍यो। राडारले अवतरण गर्ने स्थानको तय गरेपछि करिब एक किलोमिटरको दुरीमा हुँदा यसले प्यारासुट छोडिदियो। अन्त्यमा अवतरण ब्रेकका रूपमा जडान गरिएका रकेटहरूले गति नियन्त्रण गर्दै यो यान मंगल सतहमा संयमित अवतरण गर्‍यो।

सात मिनेटको आतंक नाम दिइएको यसको कठिन अवतरण केवल ६ मिनेट ४५ सेकेन्डमा सम्पन्न भयो। यानले लगत्तै मंगल ग्रहको एक तस्बिरसमेत पठायो। पृथ्वी र मंगलको दूरीको कारणले हामीले जानकारी पाउनुभन्दा करिब आठ मिनेटपहिल्यै यसको अवतरण भइसकेको थियो। यो मंगल ग्रहमा भएको पहिलो सफल अवतरण भने होइन। यसअघि भएका थुप्रै प्रयास असफल भएका थिए भने आठवटा यस्तै यानले सफल अवतरण गरेका छन्। मंगलको आकाशमा भारतले समेत आफ्नो उपग्रह राखेको छ।

इनसाइटले मंगल ग्रहमा जमिनमुनिका सूचना खोज्नेछ। यसले मंगलको भित्री बनोट र मंगलकम्प (पृथ्वीमा भूकम्पको भनेझैं) को अध्ययन गर्नेछ। मंगल ग्रहको जमिनमुनि पानीको ठूलो भण्डारण भएको अनुमान छ।

एकै समयमा (४ अर्ब ५० करोड वर्षअघि) सिर्जित पृथ्वी र मंगल ग्रह उद्भवकालमा भन्दा फरक अवस्थामा छन्। पृथ्वी हराभरा छ भने मंगल उजाड। पृथ्वीभन्दा परदेखि गरिने अवलोकनले वैज्ञानिकहरूलाई ग्रहहरूको बनोट, ब्रह्माण्डको सृजना र उद्भवको विषयमा थप जानकारी प्राप्त हुनेछ।

रुसले सन् १९५७ मा स्पुतनिक–१ को प्रक्षेपण गरेपछि अमेरिकामा हिनताबोध महसुस गरियो। त्यही हिनताबोधले विज्ञान र प्रविधिको शिक्षामा खर्च गर्नुपर्ने मान्यता अमेरिकामा स्थापित भयो।

इनसाइटको लागत करिब ८३ करोड अमेरिकी डलर (९२ अर्ब नेपाली रुपैयाँ) छ। यसमा अमेरिका, फ्रान्स र जर्मनीको लगानी हुनुका साथै विभिन्न देशका वैज्ञानिक र इन्जिनियरहरू संलग्न छन्। यति ठूलो धनराशिमा अमेरिकी सरकारका पदाधिकारीहरूलाई हेलिप्याड र हेलिकप्टरसहित अनेक सुविधा दिन सकिन्थ्यो। स्वास्थ्य र शिक्षा अमेरिकामा महँगो हँदै गइरहेको छ, त्यता खर्च गर्न सकिन्छ। प्रश्न उठ्छ– सामान्य जनजीविकासँग प्रत्यक्ष सरोकार नराख्ने विषयमा यति ठूलो धनराशिको खर्च किन गरिन्छ ?

यसको जवाफ खोज्न सन् १९५० र १९६० को दशकको अन्तरिक्ष मिसनको इतिहास हेर्नुपर्ने हुन्छ। त्यसबेला संचारको विकास भएको थिएन। सुलभ सञ्चारका लागि सम्भाव्य गणितीय सिद्धान्तको प्रतिपादन भइसके पनि सरकारको प्राथमिकतामा नपरेकाले त्यो सिद्धान्तको प्रयोगात्मक अवलोकन भएको थिएन। रूसले १९६१ मा मानवसहित भोस्तोक– १ यान अन्तरिक्षमा प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अन्तरिक्ष कार्यक्रम राष्ट्रिय आवश्यकता भएको घोषणा गरे। त्यो कार्यक्रमको उद्देश्य नै दस वर्षभित्र चन्द्रमामा पाइला टेकेर सकुशल पृथ्वीमा फर्किने थियो। त्यही उद्देश्यअनुसार नै अमेरिकामा अपोलो मिसनको जन्म भयो।

अमेरिकामा त्यसबेला जातीय भेदभाव व्याप्त थियो। अन्तरिक्ष कार्यक्रममा फजुल खर्च गर्ने जनमत थिएन। विरोधी जनमत हुँदाहुँदै अमेरिकी सरकारले अपोलो मिसनलाई अनुदान दियो। सन् १९६९ मा अपोलो– ११ ले मानवसहित चन्द्र सतहमा अवतरण गर्‍यो। सानो कम्प्युटरको आवश्यकता र निर्माणको सुरुवात अपोलो मिसनबाटै भएको हो। यसैबाट उपग्रह र माइक्रोचिपसम्बन्धी अनुसन्धान भए, उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिए। अपोलो मिसनमा सहभागी भएका चार लाखजति इन्जिनियर र वैज्ञानिकले इलेक्ट्रोनिक्स र कम्प्युटरको ज्ञानमा उल्लेख्य प्रगति गरे। अमेरिकाले विज्ञान र प्रविधिमा फट्को मार्‍यो। अपोलोको लागि कम्प्युटर बनाउन सहयोग गर्ने कम्पनी फेयरचाइल्ड सेमिकन्डक्टरका सहसंस्थापकले त्यसैबेला इन्टेल नामक कम्पनीको स्थापना गरे। इन्टेलले विकास गरेको प्रविधिको प्रयोग अहिले संसारका सबै देशमा गरिन्छ। विज्ञान र प्रविधिको त्यसबेलाको तीव्र विकासले नै अहिले प्रयोग हुने डिजिटल फोन, ट्याब्लेट, ल्यापटप, जीपीएस आदि निर्माण भयो।

इन्टरनेटको विकास भयो र उपग्रहको प्रयोगले यो सहज पनि भयो। सूचना प्रविधिले स्वास्थ्य विज्ञानमा समेत अकल्पनीय सहयोग गरेको छ। आवश्यक जनशक्तिको जोहो अमेरिकामा त्यसअघि नै सुरु भइसकेको थियो।

युवालाई शिक्षाद्वारा सशक्तीकरण गर्नुपर्ने मान्यता अमेरिकामा त्यसअघि नै विकास भइसकेको थियो। रूसले सन् १९५७ मा स्पुतनिक– १ को प्रक्षेपण गरेपछि अमेरिकामा हीनताबोध महसुस गरियो। त्यही हीनताबोधले विज्ञान र प्रविधिको शिक्षामा खर्च गर्नुपर्ने मान्यता अमेरिकामा स्थापित भयो। नेसनल डिफेन्स एक्ट नामक एक अधिनियम अमेरिकी संसद्मा पारित भयो। यसले अध्यापनमा प्रविधिको प्रयोग, शिक्षण संस्थाहरूलाई अनुदान, विद्यार्थीहरूलाई ऋणको व्यवस्था, गणित, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा विद्यार्थीलाई विशेष प्रोत्साहनको व्यवस्था गर्‍यो। यसले प्राध्यापन पेसामा इच्छुक हुनेलाई प्राथमिकतामा राख्यो। अन्तरिक्षमा अनुसन्धान गर्ने उद्देश्यले अमेरिकामा नासाको जन्म त्यसैबेला भएको हो।

आज पनि विद्यावारिधि गर्ने विद्यार्थीका लागि अमेरिका एक सुलभ देश मानिन्छ। गणित र भौतिकशास्त्र अध्ययनमा विद्यार्थीको रुचि जगाउन उनीहरूलाई अनेक अनुदानको व्यवस्था गरिएको छ। नेपालका कतिपय विज्ञान र गणितका विद्यार्थीले समेत अमेरिकामा निःशुल्क विद्यावारिधि गर्ने अवसर प्राप्त गरेका छन्। अमेरिकाको अपोलो मिसनपछि भौतिकशास्त्रमा विद्यावारिधि गर्नेको संख्या तेब्बर भएको तथ्यांक छ। नागरिकलाई शिक्षामा प्रेरित गराउनु एक दूरदृष्टि नीतिको परिणाम हो। दुई लाख वर्षको होमो सेपियन्सको इतिहासमा मानव एक डुलुवा प्राणीको रूपमा छ, त्यसैले यो अहिलेको समृद्ध अवस्थामा छ। शोध र खोजको कुनै सीमा छैन।

इनसाइटको सफलतासँगै मानवलाई मंगल ग्रहमा पाइला टेकाउने अभियानले तीव्रता पाउनेछ। एउटा निजी क्षेत्रले समेत मंगलमा सन् २०२४ सम्ममा मानव पठाउने घोषणा गरेको छ। मानवलाई मंगलमा अवतरण गराउने नासाको पनि योजना छ। यो अभियानसँग जोडिएका प्रविधिहरूले अर्को क्रान्ति गर्नेछन्। एक आकाशीय पिण्डको चोटले पृथ्वीमा आगो लागेर डाइनोसार लोप भएका थिए। त्यस्ता आकाशीय पिण्डहरू पृथ्वीको नजिक थुप्रै छन्। त्यसैले इनसाइट मिसनसँग मानव जातिको भविष्य जोडिएको पनि हुन सक्छ। यो होमो सेपियन्सको अर्को सफलता हुन सक्छ। त्यसैले आतंकका सात मिनेटमाथिको सफलता समस्त मानवको हितमा छ। यसको लागत नगण्य छ।

के मंगल ग्रह मानव बस्तीका लागि योग्य छ ? छैन। मंगल ग्रह एक चिसो र उजाड मरभूमि हो। अहिले मंगलमा मानिसलाई चाहिने आ श्रय, खाना, पानी, लुगाकपडा र अक्सिजनको कमी छ तर सौर्यमण्डलमा पृथ्वीबाहेक मानिसका लागि सम्भाव्य ग्रह मंगल मात्रै हो। मंगलको वायुमण्डल पृथ्वीको भन्दा सय गुणा पातलो छ। यसमा अक्सिजन नगण्य छ तर कार्बनडाइअक्साइड प्रचुर मात्रामा छ। कार्बनडाइअक्साइडमा वजनको हिसाबले ७२ प्रतिशत अक्सिजन हुन्छ।

मंगलमा बरफ पाइएको छ, हावा ओसिलो छ। मंगलको चुम्बकत्व कम भएकाले मंगलमा सौर्य विकिरणबाट बच्ने कबच छैन। त्यसले वायुमण्डल बाक्लो नभएसम्म मंगलमा जीवको विकास सम्भव हुँदैन। यो कठिन काम भए पनि वैज्ञानिकहरूले यसलाई असम्भव भनेका छैनन्। हाललाई भने मंगल केवल भ्रमण गरेर फर्किने स्थान मात्रै हो। मंगलमा अवतरण गर्नु नै एक कठिन र चुनौतीपूर्ण काम हो। इनसाइटको संयमित अवतरण मात्रै पनि दीर्घकालसम्म असर पार्ने एक उत्कृष्ट इन्जिनियरिङको नमुना हो।


- भट्ट अमेरिकास्थित टेनिसी स्टेट युनिभर्सिटीमा असोसिएट प्रोफेसर हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.