बिचाैलिया नसमाते झुलाउँछन् कर्मचारी

बिचाैलिया नसमाते झुलाउँछन् कर्मचारी

बिर्तामोड : झापाको बाह्रदसी–३ राजगढका भूमिराज बुढाथोकीले नापी कार्यालय भद्रपुरबाट चार दिनमा मात्र नक्सा निकाल्न सके। पहिलो दिन कर्मचारीले पालो आउँदैन भने। दोस्रो दिन कर्मचारीले भ्याएनन्। तेस्रो दिन प्राविधिक समस्या देखाएर फर्काए। चौथो दिन भने बिचौलियालाई रकम खुवाएर केही घण्टामै काम बनेको उनले सुनाए। ‘यहाँको तरिका थाहा नहुँदा कर्मचारीले तीन दिन झुलाए’, उनले भने, ‘ बिचौलियालाई पैसा दिँदा मात्र कर्मचारीले काम गर्ने रहेछन्।’

बिर्तामोड–१ का भवानी घिमिरे पनि नापी कार्यालयमा भेटिए। ‘यहाँ सर्वसाधारणले काम गर्नै सक्दैनन्’, उनले भने, ‘सबै कामका लागि बिचौलियाको भर पर्नुपर्छ। कर्मचारीले पनि बिचौलियाले लगेको मात्र काम गर्छन्।’ नापी कार्यालयमा दैनिक सयौं सेवाग्राही नक्सा निकाल्न र मिलाउन आउँछन्। तर, काम लिएर सोझै फाँटमा पुगे कर्मचारीले केही न केही बहाना बनाएर ढिलाइ गर्ने सेवाग्राहीको गुनासो छ। बिचौलियाले लगेको काम मात्र चाँडो हुने गरेको भद्रपुर देवकोटा चोकका कृष्णप्रसाद निरौलाको अनुभव छ। ‘यहाँ कतिले त कर्मचारी र बिचौलिया पनि चिन्दैनन्’, उनले भने, ‘के काम थियो भन्दै बाहिर सोध्नेदेखि भित्र गएर नक्सा र फाइल पल्टाउने सबै बिचौलिया नै हुन्छन्।’

नापी र मालपोत कार्यालयमा आठ जनाभन्दा बढी बिचौलिया सक्रिय रहेको अनुमान छ। उनीहरूलाई काम हेरेर ५ सय, १ हजारदेखि ५ हजारसम्म दिएपछि मात्र काम हुने सेवाग्राही बताउँछन्। यस्तो पैसा कर्मचारीसम्म पुग्ने गरेकाले बिचौलियाबाट आएको काम मात्र गर्ने गरेको उनीहरूको गुनासो छ। ‘आफैं खटिएर काम गर्नुपर्यो भने एक सातामा पनि बन्दैन’, सेवाग्राही भवानी घिमिरेले भने, ‘बिचौलियालाई पैसा नदिई काम नबन्ने भएपछि रकम खुवाउन बाध्य भइन्छ।’ आफैं काम गर्ने भन्दै पुगेका सेवाग्राही पनि कर्मचारीले काम नगरिदिँदा बिचौलियाको साथमा पुग्ने गरेको उनको तर्क छ।

नापी कार्यालय भद्रपुरमा नक्सा पल्टाउँदै बिचौलिया।

कार्यालयभित्रको फाइल पल्टाउन, नक्सा हेर्न कर्मचारीले मात्र पाउने भए पनि बिचौलियाले निर्वाध रूपमा खोतलिरहेका हुन्छन्। ‘सेवाग्राहीसँग झर्कोफर्को गर्ने कर्मचारीले बिचौलियालाई केही नभन्नु र उनीहरूले लगेको काम फटाफट गर्नुको अर्थ नै रकमको मिलेमतो हो’, अर्जुनधारा–६ का घनश्याम खरेलले भने।

नापी अधिकृत योगेन्द्रप्रसाद यादवले भने बिचौलियाका कारण सेवाग्राहीले भनेजस्तो भद्रगोल नभएको बताए। ‘सेवाग्राहीले कसलाई काम लगाउँछन् भन्ने थाहा हुँदैन’, उनले भने, ‘हामीले त काम गर्ने न हो।’ कर्मचारीले नभ्याउँदा मात्रै नक्सा र फाइल कर्मचारीको अनुमतिमा अरूले हेर्ने गरेको उनले स्वीकार गरे।

जिल्ला मालपोत कार्यालयमा पनि अवस्था उस्तै छ। कर्मचारीसरह हरेक कोठामा लेखनदास पुगेका हुन्छन्। कर्मचारीले लेखनदासलाई नै फाइल निकाल्न अरनखटन गर्ने गरेको सेवाग्राही बताउँछन्। ‘जग्गा पास, धनीपुर्जा लिन र नामसारी गर्न लेखनदासले माथिसम्म मिलाउनुपर्छ भन्दै पैसा माग्छन्’, सिमलबारीका जयनारायण गणेशले भने, ‘अनि मात्र काम अघि बढाउने हुँदा सामान्य कामका लागि पनि हप्तौं धाउनुपर्छ।’

उनका अनुसार कर्मचारी भएको झ्यालमा गयो भने उनीहरूले वास्तै गर्दैनन्। ‘लेखनदास नै यहाँका बिचौलिया हुन्’, उनले भने, ‘सबै काम उनीहरूबाटै हुन्छ। राजस्वभन्दा दोब्बरतेब्बर बढी रकम माग्छन्।’ लेखनदासले ढड्डा निकाल्नेदेखि धनीपुर्जामा सबै कुरा भरेर कर्मचारीलाई सही मात्र गर्न लगाउने गरेको सेवाग्राहीको भनाइ छ। प्रमुख मालपोत अधिकृत जनार्दन भट्टराईले आफू भर्खरै आएकाले सुधार गर्दै लैजाने बताए। ‘म आएको पनि केही महिना मात्र हुँदै छ’, उनले भने, ‘सबै फाँटको अवलोकन गरेर मुख्य कागजपत्र हुने कोठामा सुरक्षागार्डको व्यवस्था गरेको छु। सुधार गर्नै पर्ने देखिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.