पेट्राेलियम पदार्थकाे तस्करी बढ्यो
बिर्तामोड : भारतसँग सीमाना जोडिएको झापाको कचनकवलबाट प्रहरीले एक सय लिटर डिजेल बरामत गरेको छ। नेपालबाट भारततर्फ बि.आर ३३४३७ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजाँदै गर्दा प्रहरीले डिजेल बरामत गरेको हो।
भारतमाभन्दा नेपालमा डिजेल र पेट्रोलको मूल्य सस्तो भएकाले सीमा क्षेत्रमा नेपालबाट भारततर्फ तेल तस्करी हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए। खुल्ला सीमानाको प्रयोग गरी पेट्राेलियम पदार्थकाे तस्करी बढेपछि प्रहरीले सीमानामा निगरानी बढाएको छ। तेल तस्करीमा संलग्न व्यक्तिले प्रहरीलाई देखेपछि भागेका थिए। नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा तस्करीमा संलग्न व्यक्तिको पहिचान खोज्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उता ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पनि आइतबार करिब १ लाख ३ हजार मूल्य बराबरको डिजेलसहित १ युवकलाई पक्राउ गरेको छ। को ३० प ७३८५ नम्बरको मोटरसाइकलमा राखेर नेपालबाट भारततर्फ लैजाँदै गर्दा मोरङ जहदा गाउँपालिका ३ का संजय टुडुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
विराटनगर महानगरपालिका १५ बाट पक्राउ परेका टुडुलाई बरामद डिजलसहित प्रहरीले आइतबार विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ।