निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्ने एसपीसहितका प्रहरीविरुद्ध अर्को उजुरी

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्ने एसपीसहितका प्रहरीविरुद्ध अर्को उजुरी

महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट गरी अपराधीलाई जोगाउन भूमिका खेलेको र निर्दोषलाई यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठनजनाविरुद्ध प्रहरीमा अर्को उजुरी परेको छ ।

हाल बर्खास्त एसपी विष्टसहित ८ जना प्रहरीविरुद्ध हदैसम्मको कारबाही हुनुपर्ने मागसहित सार्वजनिक न्यायविरुद्वको कसुर र यातना कसुर अन्र्तगत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको हो । 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र अनुसन्धानका क्रममा तत्कालीन समयमा प्रहरीले मुख्य अभियुक्त बनाएका दिलीपसिंह विष्टका दाजु खड्गसिंहले यातना कसुर अन्र्तगत जाहेरी पेस गरेका हुन् । 

‘अपराधीलाई जोगाउने उद्देश्यका साथ निर्मला पन्त हराएको सूचना लिनेदेखि शव फेला परेको स्थान र प्रमाणको सुरक्षा तथा सङ्कलन, पोस्टमार्टमका सम्पूर्ण प्रक्रिया लास बुझाउने र जलाउने प्रक्रिया, अपराधका सम्पूर्ण चरणमा योजनाबद्ध तयारी र कार्यको संयन्त्रसमेत गरेको कारण मुलुकी फौजदारी संहिताको दफा ८९,९२,९३ र ९९ बमोजिमको कसुर अपराध गरेकाले प्रतिवादीउपर अनुसन्धान गरी हदैसम्मको सजाय गरी पाऊँ’ आमा दुर्गादेवी पन्तले दिएको जाहेरीमा भनिएको छ ।

उनले आफ्नी छोरी निर्मलाको बलात्कार र हत्या मुद्दाको शीघ्र अनुसन्धान गरिदिन समेत जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा कात्तिक ८ गते जाहेरीसँग सम्बन्धित निर्मला पन्तको घटनाका मुद्दाका प्रमाण नष्ट गरेको समेतको कारणबाट प्रतिवादीमध्येका दिल्लीराज विष्ट र जगदीश भट्टलाई सेवाबाट हटाउने गरी भएको निर्णय त्यही दिन गृह मन्त्रालयको सार्वजनिक पत्रमार्फत थाहा हुन आएकाले त्यसलाईसमेत प्रमाणमा लगाउन भनिएको छ । 

‘प्रतिवादी दिल्लीराज विष्टले अपराध अनुसन्धानको सुरुवातदेखि नै व्यवस्थितरुपमा सबै प्रमाण नष्ट गर्ने काममा सहभागी भई कार्य गरेको र उनको कार्यलाई तत्कालीन डिएसपी ज्ञानबहादुर सेट्ठी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई हरिसिंह धामी, असई रामसिंह धामी, प्रहरी हबलदार चाँदनी साउद, प्रहरी निरीक्षक जगदीश भट्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अङ्गुर जिसीले नक्कली प्रमाण खडा गर्ने, निर्दोष व्यक्तिलाई जबरजस्ती अपराध कबुल गराउने समेतका काममा संलग्न रहेकाले माथि प्रतिवादी खण्डमा उल्लिखित प्रतिवादीहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिदिन’ जाहेरीमा उल्लेख छ । 

‘अपराध गर्न सक्ने व्यक्तिहरू को हुन सक्छन् भन्ने कुराको प्रथम जानकारी जाहेरीमा उल्लेख गरिएका प्रतिवादीलाई हुने भएकाले हाललाई प्रमाण नष्ट गराएकोमा समेत अनुसन्धान गरी निर्मलामाथिको बलात्कार र हत्याबारेसमेत अनुसन्धान हुनुपर्ने भएकाले बलात्कार र हत्याबारे पनि उपरोक्त प्रतिवादीहरूबाट मूल प्रतिवादीहरू खुलेमा त्यसतर्फ पुनः जाहेरी दिनेछु’ दुर्गादेवीले पेस गरेको जाहेरीमा भनिएको छ । 

यसैबिच यातना अन्र्तगत प्रहरीले अभियुक्त बनाएका दिलीपसिंह विष्टलाई जबरजस्ती अपराधी बनाउन यातना दिएको भन्दै उनका दाजु खड्ग सिंह विष्टले यातना कसुर अन्र्तगत तत्कालीन एसपी विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी जिसी, जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रतिवादी बनाएर जाहेरी पेस गरेका छन् । 

‘निर्मला पन्तको बलात्कार पश्चात् हत्या गरेको घटनाको अनुसन्धान गर्ने बहाना केन्द्रीय अनुसन्धान ब्यूरोका जिसीसमेतका प्रतिवादीले भदौ २ गते आफ्नै घरबाट पक्राउ गरी झुट्ठा प्रमाण निर्माण गर्न र अपराध कबुल गराउन जानी जानी शारीरिक तथा मानसिक यातना दिएकाले उनीहरूलाई मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा १६७ को उपदफा १ विपरीत कसुर अपराध गरेकाले ऐनको दफा १६७ को उपदफा २ र ३ बमोजिम हदैसम्म कारबाही गरी ऐनको दफा १६९ बमोजिम क्षतिपूर्तिसमेत दिलाई दिनु हुन’ जाहेरीमा उल्लेख छ । 

भदौ ४ गते अभियुक्तका रूपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ का दिलीपसिंह विष्टलाई प्रहरीले भदौ २६ गते हिरासत मुक्त गरेको थियो । त्यसपछि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको उपचारको कागजात लगायत सञ्चारमाध्यममा प्रकाशित र प्रसारित सामाग्रीसमेत प्रमाणको आधारमा हेर्न भनिएको छ । जाहेरीमा खड्गसिंह विष्टले आफ्नो भाइको मानसिक अवस्था निकै नाजुक भएको र त्यही कारणले उनी रातभर सुत्नसमेत नसक्ने अवस्थामा रहेको उल्लेख गरेका छन् । 

कोक्यापका अध्यक्ष एवं अधिवक्ता बद्रीप्रसाद भुसाल, कोक्यापकै कोषाध्यक्ष एवं सर्वोच्च बारका केन्द्रीय सदस्य पुष्पराज पौडेल र राष्ट्रिय मानवअधिकार सङ्गठनका अध्यक्ष एवं अधिवक्ता इन्द्र अर्यालले मुद्दाको वकालत गर्नेछन् । सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी पेस गरिए पनि दर्ता भएको छैन । 

‘जाहेरी आएको छ भन्ने खबर छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले भने, ‘उक्त जाहेरीका विषयमा छलफल भएपछि मात्रै दर्ता हुने/नहुने यकिन हुन्छ ।’ जाहेरी सोमबार मुद्दा शाखामा पेस गरिएको हो तर दर्ता भने भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.