पर्सामा तेल तस्करको आक्रमणबाट ४ प्रहरी घाइते, खोसिएको प्रहरीको हतियार खेतमा भेटियो
वीरगन्ज : भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा मंगलबार बिहान तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चार जना प्रहरी घाइते भएका छन् ।
घाइते हुनेहरुमा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक जय किशुन महत्तो रहेका छन् ।
ती मध्ये प्रहरी जवान अर्जुन चौधरीको अवस्था चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
मङगलवार बिहान करिब ३ बजेतिर दुईवटा मोटरसाइकलमा डिजेल लोड गरी सीमावर्ती भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीहरुलाई आक्रमण गरेका हुन्।
पाँडेपुर र सीमावर्ती भारतीय गाँउका तेल तस्करहरुले प्रहरीको साथबाट ‘थ्री नट थ्री’ राइफल पनि खोसेर भागेका थिए । प्रहरीबाट तस्करहरुले खासेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ ।
तेल तस्करले प्रहरीमाथि आक्रमण गरेको पर्साको पाँडेपुरमा मंगलबार परिचालित सुरक्षाकर्मीहरु । तस्बिर : क्रान्ति शाह
घटनाको खबर पाएलगत्तै सदरमुकाम वीरगन्जबाट प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको टोलीले खोजतलास गर्दा खोसिएको हतियार फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । प्रहरी नायव उपरीक्षक राइले भने,‘तस्कररुले लुटेको हतियार हामीले फिर्ता गराई सकेका छांै, घटनामा नेपाल र भारत दुबै तर्फका अपराधी संलग्न छन्, उनीहरुको खोजी भइरहेको छ ।
घटनास्थलमा बिहानैदेखि पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईको नेतृत्वमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
भारतमा पेट्रोल र डिजेलको मूल्य नेपालको भन्दा महङगो रहेका कारण तस्करहरुले सीमावर्ती पर्साका गाँउमा र पम्पहरुबाट खरिद गरेर सीमावर्ती भारतीय बजारमा बेच्ने गरेका छन् ।