शव उठाएपछि विद्युत सेवा सुचारु
महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर–लालपुर सव स्टेशनमा मृत्यु भएका सुरक्षागार्डको शव सोमबार राति उठाइएको छ ।
स्थानीय प्रशासनसँगको सहमतिपछि आन्दोलनरत मृतकका परिवारले मध्यरातमा शव उठाएका हुन् । दुई पक्षबीच चारबुँदे सहमतिपछि परिवारका सदस्यले शव उठाएरका हुन् । शव अहिले महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
सुरक्षागार्डको मृत्युका सम्बन्धमा छानविन गरी सत्य–तथ्य पत्ता लगाउने, मृतकका परिवारजनलाई नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारले १० लाख राहत स्वरुप उपलब्ध गराउने, बीमा वापतको रकमका लागि प्रक्रिया अगाडि बढाउने, मृतकका परिवार सदस्यलाई नेपाल विद्युत प्राधिकरणले योग्यता र क्षमता अनुसार रोजगारीको व्यवस्था गर्ने लगायत विषयमा सम्झौता भएपछि शव उठाइएको हो ।
शव नउठाउँदा दुई दिनदेखि महेन्द्रनगर तथा लालपुर ग्रीड सञ्चालन विभागबाट वितरण हुने अवरुद्ध विद्युत सेवा सहमतिपछि सुचारु भएको छ ।
प्रतिक्रिया दिनुहोस !