लोकमार्ग कालोपत्रे सुरु

लोकमार्ग कालोपत्रे सुरु

भोजपुर : पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाले भोजपुर–खोटाङ ४२ किलोमिटरमा कालोपत्रे गर्न थालेको छ। सडक स्तरोन्नतिको कामले गति लिएपछि पहिलो प्याकेजमा सेरा खोलाबाट भोजपुर सदरमुकामसम्म साढे ७ किलोमिटर कालोपत्रे गरिने भएको हो। स्तरोन्नतिको काम ०७४ असोजमा सुरु गरिएको थियो। १ अर्ब लगानीमा बन्ने लोकमार्गको पहिलो र दोस्रो प्याकेजको कालोपत्रे आगामी असोजभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ। भोजपुर–खोटाङ सीमा चखेवाभञ्ज्याङसम्म चार प्याकेजमा विभाजन गरिएको निर्माण कम्पनी गोल्डेन कन्स्ट्रक्सनले जनाएको छ।

आगामी असोजसम्म पहिलो प्याकेजअन्तर्गत भोजपुर देउरालीबाट सिद्धेश्वर सेरा खोला (दाँवा) र दोस्रोमा सेरा खोला (दाँवा)बाट गुप्तेश्वरसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको कन्स्ट्रक्सनका साइट इन्चार्ज डाङी शेर्पाले बताए। ‘पहिलो प्याकेजअन्तर्गत भौतिक संरचना निर्माण र सब–बेसको कामपछि कालोपत्रे थालेका छौं’, उनले भने, ‘सेरा खोलाबाट देउरालीसम्मको प्याकेजमा आउँदो माघसम्म पूरा गर्नेछौं। बाँकी सम्पूर्ण प्याकेजका सडकखण्ड पनि २०७६÷७७ मा कालोपत्रे गर्ने लक्ष्य छ।’

अब धुलोको सास्तीबाट मुक्ति मिल्ने र कच्ची सडक हुँदाजस्तो यात्रा कठिन नहुने भोजपुर नगरपालिका बोखिम दाम्सिङका कविराज राईले बताए। ‘अब गाडीमा आरामले यात्रा गर्न पाइने भइयो’, उनले भने, ‘धूवाँ र धुलो खाँदै जीउ दुख्ने गरी गाडी यात्रा गर्नुपर्ने दिन गए।’

कम्पनीले देउराली (सदरमुकाम), सेरा खोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्ज्याङ गरी चार प्याकेजको स्तरोन्नति २०७७ असोजसम्म गरिसक्ने आयोजनाले जनाएको छ। कालोपत्रेका लागि सडकमा ग्राभेल लेभल मिलाएलगत्तै पहिलो चरणमा १२ देखि २० सेन्टिमिटर गिटी, अलकत्रा राखेर पेल्ने काम गरिएको छ। यसपछि धुलो निकालेर फेरि ६ देखि १२ सेन्टिमिटर गिटीमा अलकत्रा राखी पेलेर गुणस्तर थपिने इन्चार्ज शेर्पाले बताए।

उक्त खण्डमा गत चैतसम्म सब–बेसका काम सकाएर ७० प्रतिशत वित्तीय र ३० प्रतिशत पेभमेन्ट बाँकी थियो। कालोपत्रे, वालिङ, सोलिङलगायत काममा ३ सय ५० कामदार खटिएका छन्। सेरा खोलामा पक्की पुलको काम सम्पन्न भएसँगै सवारी साधन सञ्चालन सहज भएको छ। लोकमार्ग कालोपत्रे भएपछि काठमाडौंसँग दूरी छोटिनेछ। यसले भोजपुरसहित संखुवासभा, ताप्लेजुङ, धनकुटाका यात्रुलाई सहज हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.