बालक हत्या प्रकरण : आरोपी तीनैजना एक वर्षपछि सामान्य तारेखमा छुटे
बिर्तामोड : एक वर्षअघि झापाको अर्जुनधारा नगरपालिका–११ का बालक लक्ष्मण शिवाकोटीको हत्या अभियोगमा कारागार चलान भएका तीनजना साधारण तारेखमा छुटेका छन् ।
०७४ असोज १४ गते बालकको शव पोखरीमा फेला परेको थियो । बालक मृत्युको घटना रहस्यमय भएपछि हत्या गरेर पोखरीमा फालेको आरोपमा बिर्तामोडका समीर पोखरेल, सुधीर पोखरेल र सन्तोष पोखरेललाई कर्तव्य ज्यान मुद्दा लागेको थियो ।
गत मंसिर १४ गते सर्वोच्च अदालतको आदेशमा उनीहरु साधारण तारेखमा छुटेका हुन् । बालकको रहस्यमय मृत्युका कारण बिर्तामोडमा प्रशासन बिरुद्ध आन्दोलन हुँदा एकजनाको गोली लागेर मृत्यु समेत भएको भयो ।
झण्डै एक महिनासम्म चलेको आन्दोलनले अभियोग लागेकोे परिवारले सञ्चालन गरेको होटल तोडफोड भएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको कार्यलयमा पनि क्षति पुगेको थियो । निरन्तर आन्दोलन चलिरहँदा बिर्तामोडमा तीन दिन कफ्र्यू नै लगाउनुपरेको थियो । जसका कारण बिर्तामोड क्षेत्र तनावग्रस्त बनेको थियो ।
सर्वाेच्च अदालतमा पोखरेल परिवारको तर्फबाट मुद्दा हेरेका अधिवक्ता सानुराज पोखरेलका अनुसार कारागारबाट मुक्त भए पनि अहिले सफाय पाएको भने होइन । इलामस्थित उच्च अदालत र सर्वोच्चले यो मुद्दा अब जिल्ला अदालतलाई बुझाइसकेको उनको भनाइ छ । घटनापछि बिर्तामोडको माहोल र प्रत्यक्षदर्शीले २÷२ दिनमा फेरेको अभिव्यक्तिले मात्र समस्या भएको अधिवक्ता बताउँछन् ।
अधिवक्ताले सानुराज पोखरेलले भने, ‘सर्वोच्चको आदेश भइसकेको छ, हत्या गरेको प्रमाण नपुगेपछि पनि साधारण तारेखमा छोडिएको हो ।’ उनका अनुसार बालक शिवाकोटीको पोष्टमार्टमा पनि हत्या भएको पुष्टि भएको छैन । पोखरीको पानी र ‘डेल्टम टेष्ट’ मृगौला फोक्सो परिक्षण गर्दा प्रमाण नमिलेको बताइएको छ । यस्तै अभियोग लागेका व्यक्तिको पोलिग्राफ परिक्षणमा समेत नढाटेको पुष्टि भइसकेको छ । जनप्रभावमा घटना मोडिएको अधिवक्ताको जिकिर छ ।