घुम्‍न राम्रो कन्याम

घुम्‍न राम्रो कन्याम

हुस्सुले ढाकिएको आकाशमा, तुषारो पर्लाजस्तो हुनासाथ झापा बिर्तामोडका आदित्य पौडेल र हेमराज निरौला मोटरसाइकलमा इलामको कन्याम हुइँकिए। बिहानको चिसो हावामा मोटरसाइकलमा यात्रा गर्नु सहज थिएन। तर कन्याम पुगेपछि न्यानो घाममा बसेर कफीको चुस्की लिँदै चिया बगानमा सेल्फी खिच्नुको मज्जाले मोटरसाइकलको गति बढिरहेको थियो।

बाटोमा भेट्ने साथीले सोध्दा ‘घाम ताप्न कन्याम हिँड्या’ उनीहरूको जवाफ हुन्थ्यो। सोध्ने पनि अचम्ममा पर्दै प्रश्न गर्थे, ‘झापाभन्दा कन्याममा तातो छ र ? ’ हो, कन्याममा हुन्छ पनि यस्तै। हिउँदको मुटु छेड्ने चिसोमा न्यानो खोज्न होस् वा वर्षायामको पिल्सने गर्मी छल्दै चिसो खान, धेरैको रोजाइमा पर्छ इलामको कन्याम।

‘गर्मीमा त इलाममा चिसो खान हिँड्या भन्ने जवाफ दिँदा धेरैले पत्याउँछन् तर हिउँदमा तराईभन्दा कन्याममा तातो हुन्छ भन्दा धेरैले विश्वासै गर्दैनन्,’ कन्याममा बिहानको घामसँगै रमाइरहेका बिर्तामोडका आदित्य पौडेलले भने। पछिल्लो समय कन्याम क्षेत्रमा बाह्रैमहिना आन्तरिक तथा बाह्य पर्यटकको कमी हुँदैन।

कन्याममा बिहानको न्यानो घाम ताप्दै चिया, कफी खानेको भीड नै लाग्छ। ‘यो स्थानलाई धेरैले अचम्मको स्थान भन्छन्, गर्मीमा चिसो, जाडोमा न्यानो, त्यसैले कन्यामको महत्त्व चियासँग मात्र जोडिएको छैन,’ कन्यामका व्यापारी विवश तामाङ बताउँछन्। ‘कलेज छुट्टी हुँदा, शनिवार र चाडपर्वमा त रमाइलो गर्ने ठाउँ नै कन्याम हो। केही घण्टामै आइन्छ, मजाले रमाएर सुस्ताउँदै झरिन्छ। किन नआउने कन्याम ? ’ झापा बुधबारेकी शिला श्रेष्ठ भन्छिन्। चिया बगानमा घुम्न, फोटो खिच्न, चिसोमा तातो चिया र कफी पिउँदै मनोरञ्जन गर्न नै यहाँ पुग्नेको मुख्य उद्देश्य हुन्छ।

तराईबाट पहाडको भिरालो जमिन उक्लन र ओर्लन चाहनेको इच्छा पनि यो स्थानले पूरा गरेको हुन्छ भने, हिमाल हेर्ने र सेल्फी खिच्नेको पनि मन कन्यामले जितेको छ। ‘विभिन्न देश र देशका विभिन्न स्थानबाट आउने पर्यटकहरूले इलामको कन्याममा मस्ती गर्छन्। नाच्छन्, गाउँछन्, एकछिन भए पनि चियाका बुटा र प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन्,’ कन्यामकै स्थानीय युवा सकल सुब्बा भन्छन्। ‘कुहिरोसँग लुकामारी गरिरहने, शीतल मौसम पूर्वको पर्यटकीय गन्तव्य कन्यामको विशेषता हो।’ यस्तो मनमोहक स्थानमा चियाका बुटासँग लुकामारी खेल्दै रमाउने प्रेमीप्रेमिका पनि कम हुँदैनन्। स्थानीय व्यवसायी सुरेखा श्रेष्ठ भन्छिन्, ‘पिकनिक स्थलको रूपमा प्रख्यात कन्याम विस्तारै ‘डेटिङ स्पट’ को रूपमा समेत चिनिन थालेको छ।’

यहाँको सुन्दर चियाबारीको आनन्दमा रमाउन छिमेकी जिल्लाका साथै काठमाडौं र देशभरका युवायुवती आउने गरेका छन्। प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने कन्याममा शनिबार र बिदाका दिन भने युवायुवतीले भरिभराउन हुन्छ। हिउँदे शनिबारमा दर्जनौं वनभोज टोली त्यस क्षेत्रमा रमाइरहेका भेटिन्छन्।

घोडा चढेर घुम्ने र फोटो खिच्नेको भीड नै यहाँ हुन्छ। बाह्रैमहिना रहने चिसोे हावापानी, लहरै मिलेर डाँडै ढाक्ने गरिरहेको चिया बगान, लभडाँडा, देउराली डाँडा, हावासँगै सुसाउने सल्ला घारी, लेप्चा र नेवार जातिको परम्परागत सांस्कृतिक र ग्रामीण रहनसहन र रीतिरिवाज यहाँका प्रमुख सम्पत्ति हुन्।

मौसम सफा भएको दिन उत्तरतर्फ मुसुक्क ‌मुस्कुराएर पर्यटकलाई स्वागत गरिरहेको कञ्चनजंघा हिमाललाई आँखै अगाडि देख्न सकिन्छ। दक्षिणतर्फ तराईका विशाल समथर फाँट र नदीनाला अवलोकन गर्न सकिन्छ भने इलाम, झापा र भारतका विभिन्न स्थानहरूको पनि यहीँबाट अवलोकन गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.