कांग्रेसको विधानमा शीर्ष नेताबीच सहमति, सातजना सहमहामन्त्री
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तावित विधानमा सहमति जुटाएको छ । पार्टी मुख्यालय सानेपामा शुक्रबार बिहान बसेको शीर्ष नेताको बैठकले विधानमा सहमति जुटाएसँगै सहमतिका आधारमा अब सातजना सहमहामन्त्री निर्वाचित हुने भएका छन् ।
शीर्ष नेताले जुटाएको सहमति अनुसार अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका आधारमा सातजना सहमहामन्त्री निर्वाचित हुने भएका छन् ।
शीर्ष नेताले कोषाध्यक्ष र प्रवक्ता चाहिँ केन्द्रीय समितिबाट मनोनित गर्ने गरी सहमति जुटाएका छन् । योसँगै अब कांग्रेस केन्द्रीय समितिमा पदाधिकारीको संख्या १३ जनाको हुनेछ ।
यो सहमति अनुसार जारी महासमितिको बैठकमा लन्च ब्रेकपछि केन्द्रीय समितिले विधान मस्यौदा पारित गरेर त्यसलाई फेरि महासमितिको बन्दसत्रमा पेश गर्नेछ । त्यसपछि यसलाई छलफल गरेर महासमितिले भोलि घोषणा गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।
महासमिति बैठक पनि भोली नै सम्पन्न हुने भएको छ । यसअघि कांग्रेसमा दुईजना मात्रै सहमहामन्त्री राख्ने सहमतिपछि विवाद चर्किएको थियो । सातजना सहमहामन्त्री राख्ने सहमतिसँगै अब कांग्रेसको विधानले पनि अन्तिम रुप लिएर शनिबार महासमिति बैठकबाट पारित हुनेछ ।