बुटवलमा अन्तर्राष्ट्रिय मेला
बुटवल : पर्यटन विकास र व्यापार विविधिकरण गर्ने नारासहित बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला लुम्बिनी एक्स्पो सुरु भएको छ। बुटवल मण्डपमा बिहीबारदेखि सुरु भएको मेलाको एक कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेखरेलले उद्घाटन गरे।
सरकारले अघि बढाएको रेल ल्याउने योजनालाई गिज्याउनेहरूले आगामी वर्षमै बुटवलमा रेलको लिक बनेको देख्न पाउने उनले बताए। ‘बुद्धिजीवी र पत्रपत्रिका अविश्वासले भरिए पनि शान्तिप्रक्रिया पूरा भयो, राजतन्त्र फालियो। संविधान सभाबाट संविधान बन्यो र कार्यान्वयन भइराखेको छ’, उनले भने, ‘अविश्वास गर्नेहरूले समृद्ध मुलुक बनेको देख्नेछन्, त्यसका लागि केही समय धैर्य गर्नुस्।’ पोखरेलले समृद्ध मुलुकको नेतृत्व प्रदेश ५ ले गर्ने बताए। पर्यटनको मुख्य थलो र अन्य ६ वटै प्रदेशको विशेषता भएको प्रदेश ५ समृद्धि भएमात्रै पनि मुलुक समृद्ध हुने र त्यसको नेतृत्व प्रदेश ५ बाट हुने उनले बताए।
‘हामीले यो वर्ष कानुन निर्माण र आवधिक योजना बनाएर काम थालेका छौं, विभिन्न संक्रमणले केही ढिलाइ भइरहेको छ, पोखरेलले भने, ‘यी सबै समस्या समाधान भएर काम अघि बढ्छ।’ उनले पर्यटन, कृषि, उद्योगको विकासबाट समृद्ध प्रदेशको खाका प्रदेश सरकारले तयार पारेको बताउँदै त्यसको स्वरूप केही समयमै देखिने बताए।
मुलुककै मुख्य पर्यटकीय गन्तव्य लुम्बिनीमा आउने पर्यटकको बसाई लम्बाउन र व्यापारलाई निर्यातमुखी बनाउन उद्यमशीलताको विकासमा जोड दिनुपर्नेमा मुख्यमन्त्रीको जोड छ। लुम्बिनीमा आउने पर्यटकलाई कम्तिमा एक दिन बसाउन पर्यटनको मूल मार्ग विमानस्थल छिटो तयार पार्न आवश्यक रहेको उनले बताए। श्रीलंकन् राजदूत स्वर्ण परेरासमेत सहभागी कार्यक्रममा पोखरेलले भैरहवा विमानस्थलमा पहिलो जहाज अवतरण गर्ने गरी पर्यटक लिएर आउन राजदूतलाई आग्रह गरे।
श्रीलंकाका राजदूत परेराले नेपाल र श्रीलंकाको सम्बन्ध विस्तारमा पर्यटन मुख्य आधार भएको बताइन्। लुम्बिनी आउने सबैभन्दा धेरै पर्यटक श्रीलंकाली भएको भन्दै उनले श्रीलंकाको भ्रमणमा आउनसमेत आग्रह गरिन्। ‘नेपालका राष्ट्रपतिको श्रीलंका भ्रमण, श्रीलंकाका राष्ट्रपति र मन्त्रीहरूको नेपाल भ्रमणले सम्बन्धलाई प्रगाढ बनाएको छ’, उनले भनिन्, ‘ श्रीलंकाली लुम्बिनी आएजस्तै नेपाली पनि श्रीलंका पुगुन् भन्ने हाम्रो अपेक्षा हो।’
रूपन्देही व्यापार संघको आयोजनामा सुरु भएको मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार लगायतका ६ सय कक्ष राखिएका छन्। पुस १८ गतेसम्म चल्ने मेलामा १० लाख दर्शक र ४० करोडको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए।