'फरक धारलाई सिध्याउन खोजियो'

'फरक धारलाई सिध्याउन खोजियो'

काठमाडौं  : नेतृत्वले फरक धारलाई सिध्याउन खोजेको गम्भीर आरोप नेकपाका नेताहरुले लगाएका छन् । जिम्मेवारी दिने बेला नेतृत्वले आफ्ना पक्षधरलाई काखी च्याप्ने चलन सच्याउनुपर्ने ती नेताले बताएका छन् । शनिबारको बैठकमा नेताहरुले प्रतिवेदनको आलोचना र बचाउ गरे ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले शनिबारको पार्टी स्थायी समिति बैठकमा असन्तुष्टि पोखे । उनीहरुले प्रधानमन्त्रीबाहेक अन्य नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने मत राखे । गण्डकी र प्रदेश ५ इन्चार्जको जिम्मेवारी त्यहाँका मुख्यमन्त्रीलाई दिइएकोमा पनि उनीहरुले विरोध गरे ।

‘अनुहार हेरेर जिम्मेवारी दिनु हुँदैन । कुनै पनि नेतालाई भगवान बनाउनु हुँदैन । प्रधानमन्त्रीबाहेकका हकमा एक व्यक्ति एक जिम्मेवारी लागू गर्नैपर्छ,’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुषालले अन्नपूर्णसँग भने, ‘मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउने हो भने सांसदलाई जिल्ला अध्यक्ष र मेयरलाई गाउँ, नगरको अध्यक्ष किन नबनाउने ? स्पष्ट र पारदर्शी ढंगले मापदण्ड बनाई त्यसलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्छ ।’

साउन ५ गते वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा नेकपा सचिवालय बैठकले सात वटै प्रदेशका पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) चयन गरेको थियो । गण्डकी प्रदेश र प्रदेश ५ मा त्यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र शंकर इन्चार्ज शंकर पोखरेललाई इन्चार्ज बनाइएको थियो ।

यो निर्णयमा नेपालले असहमति पत्र दर्ता गरेका थिए । तर पार्टीले पुनः निर्णय सदर गरेको थियो । ‘एकता दुई पार्टीका कमिटीको एकता हो, त्यसलाई पनि मापदण्डअनुसार पालना गरिएको देखिएन,’ नेपालले बैठकमा भने, ‘अझै पनि मेरो भनाइ प्रदेश इन्चार्जदेखि सदस्य चयनसम्ममा विधि पालना गर्नुपर्छ भन्ने हो । दोहोरो जिम्मेवारी सच्याउनुपर्छ ।’

वरिष्ठ नेता खनालले संगठनात्मक एकताको कार्यविधि सही हुन नसकेको बताए । ‘पार्टी एकता गरेर हामीले ऐतिहासिक काम गरेका छौं । तर यसको प्रक्रियामा अवलम्बन गरेका कार्यविधि ठीक भएनन् । त्यसलाई सच्चाउनु आवश्यक छ,’ खनालले भने ।

‘प्रतिवेदन असान्दर्भिक’

पार्टी नेतृत्वले विधिविधान उल्लंघन गरेर पक्षधरताका आधारमा कसैलाई पेलेर सिध्याउन खोजे त्यसले समस्याको समाधान ननिकाल्ने नेता खनालको भनाइ थियो ।

नेपालले पार्टी विधानमा अझै विवाद देखिएको बताए । नयाँ टिम बनाएर छलफल गरी निक्र्यौल निकाल्नुपर्ने उनको भनाइ थियो । अध्यक्षद्वयको प्रतिवेदन अस्पष्ट भएको पनि उनले बताए । ‘प्रतिवेदन अस्पष्ट छ । पार्टीको न्यूनतम र अधिकतम कार्यक्रम प्रस्ट हुनुपर्छ,’ नेपालले भने, ‘अधिकतम कार्यक्रमको लक्ष्य समाजवाद बनाउनेगरी प्रतिवेदन परिमार्जन गर्नुपर्छ ।’

खनालले पनि आजको प्रतिवेदन आवश्यकता अनुसार नभएको भन्दै पुनर्लेखनको माग गरे । ‘प्रतिवेदन आजको आवश्यकताअनुसार आउँदै आएन, जनताको जनवादको कार्यक्रम अहिले ठीक छैन । त्यो पुरानो भइसक्यो । त्यसलाई समाजवादी कार्यभारतिर लैजानेगरी पुनर्लेखन गर्नुपर्छ,’ खनालले भने ।

नेपाल र खनालसहित अन्य नेताले पनि जारी स्थायी समिति बैठकमा नेतृत्वमाथि गुटबन्दीको आरोप लगाए । तर महासचिव विष्णु पौडेलले भने नेतृत्वको बचाउ गरेका छन् । शनिबार ५ पृष्ठको धारणा राख्दै पौडेलले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कोशिस गरेका थिए । उनले गुटबन्दीको विरोधका नाममा पार्टीभित्र गुटबन्दी हुन थालेको जिकिर गरेका छन् ।

‘कतिपय कमरेडहरुबाट पार्टीमा गुट रहेको, गुट रहने र गुटलाई मान्यता दिनुपर्ने दलिल सार्वजनिक रुपमा प्रस्तुत हुने गरेको छ । यही तर्कका आधारमा भेला, बैठक आयोजना गर्ने, त्यस्ता भेला वा बैठकमा निश्चित विषयहरुमा निश्चत प्रकारको धारणा बनाउने तथा पार्टीभित्र र बाहिर संगठित रुपममा प्रस्तुत हुने अभ्यास गरिँदैछ । गुटबन्दीको विरोधका नाममा गरिने यस प्रकारको गुटबन्दीलाई रोक्नैपर्छ । पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्छ,’ पौडेलको भनाइ थियो ।

सरकारले तुलनात्मक रुपमा राम्रो काम गरेको पौडेलको दाबी थियो । ‘खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन । त्यसैगरी खोजेको सरकार र भोगेको सरकार उस्तै हुँदैन । धेरै राम्रोको खोजी हुन्छ तर राम्रोमा चित्त बुझाउनु पर्छ । हामीले निर्माण गरेको व्यवस्था, सरकार र पार्टी तुलनात्मक रुपमा राम्रो छ,’ पौडेलले भनेका छन् ।

बैठकमा पौडेल स्थायी समिति सदस्यद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि खनिए । ‘कमरेडहरुले रगत, खकार र कुन्नि के के शब्दमा भन्न नसकिने चीजहरुको पनि परीक्षण गर्नुहुन्छ रे । कँहा छ, कमरेडहरुको त्यस्तो प्रयोगशाला ? ’ पौडेलले लिखित भाषणमै भने, ‘कमरेड शंकर पोखरेलमाथि लगाइएको इमोसनल ब्याकमेलिङको आरोप अनुचित छ ।’ गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिवेदनको समर्थन गरे । उनले प्रतिवेदनले विकास र सुशासनका सही कार्ययोजना ल्याएको दाबी गरे । गृह मन्त्रालयले अहिलेसम्म गरेका कामको रिपोर्टिङ पनि उनले बैठकमा गरेका थिए । सिके राउतदेखि अतिवादीसम्मलाई नियन्त्रणमा लिएको, सिन्डिकेट अन्त्य गरेकोजस्ता कार्यका फेहरिस्त उनले सुनाए ।

अर्का नेता तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने पार्टीको अहिलेको विधि र प्रक्रियाले राम्रो गर्न नसकिरहेको धारणा राखे । सरकारले राम्रो गर्ने प्रयास गरेपनि पार्टीले थाहा पाउन नसक्दा प्रचार हुन नसकेको वताए ।

‘पार्टी र सरकार जोडिनुपर्छ । अहिले जोडिन नसकेको देखिन्छ । सरकारले राम्रै काम गरिरहेको छ । तर पार्टीलाई थाहा नभएजस्तो देखिएको छ,’ उनले भने ।

शनिबारसम्म ४६ जना नेताले धारणा राखिसकेका छन् । अब परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले मात्र प्रतिवेदनमाथि बोल्न बाँकी छ । आइतबार दुई अध्यक्षले जवाफ दिने कार्यक्रम छ । जर्नादन शर्मा र देवेन्द्र पौडेल भने अमेरिकामा रहेका कारण बैठकमा सहभागी छैनन् । आइतबार वरिष्ठ नेता नेपालले पिस फेडेरेसनको कार्यक्रमबारे समेत बोल्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.