टर्की पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने कारागार चलान
बिर्तामोड : टर्कीमा राम्रो कामका लागि पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई झापा प्रहरीले पुर्पक्षका लागि कारागार चलान गरेको छ। आफू कम्पास कोचिङ कल्टी इन्फर्मेसन सेन्टर नामक अफिसको प्रबन्धक निर्देशक हुँ भन्दै झापासहित विभिन्न जिल्लाका ६१ जना युवायुवतीबाट एक करोड पन्ध्र लाख रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ परेका इलाम माइजोगमई गाउँपालिका १ का रनबहादुर गुरुङलाई झापा प्रहरीले पुर्पक्षका लागि कारागार चलान गरेको हो।
युवाहरुको उजुरीपछि पक्राउ परेका गुरुङलाई जिल्ला अदालत भद्रपुर झापाले ७५ लाख धरौटीमा छुटाउन आदेश दिए पनि धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी कृष्णप्रसाद कोईरालाले बताए।'अनुसन्धान सकिएको छैन, धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान गरिएको प्रमुख कोइरालाले भने।
ठगिमा अन्य व्यक्तिको पनि संलग्नता रहेको प्रहरीले बताएको छ। 'गुरुङसहितका केही व्याक्तिले झापाको बिर्तामोड नगरपालिका- ५ मा कार्यालय खोली अबैधरुपमा टर्की, दक्षिण कोरिया, पोल्याण्ड र फ्रान्स समेतका देशबाट कामदारको माग भइ आएको छ, जाने चाहनेलाई हामी पठाई दिन्छौं, राम्रो तलब छ भनी प्रलोभवन पारी रकम लिएका रहेछन्, थप अनुसन्धान भइरहेको छ,' प्रहरी प्रमुख कोईरालाले बताए।