महासचिव पौडेलको टिप्पणी : कामरेडहरुको के-के.. परीक्षण गर्ने प्रयोगशाला कहाँ छ?(पूर्णपाठ)
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा शनिबार महासचिव विष्णु पौडेलले पाँच पृष्ठ लामो सुझाव तथा टिप्पणी पेश गरेका छन्।
महासचिव पौडेलको टिप्पणी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा केन्द्रित छ। उनले अध्यक्षमाथि गुटबन्दीको आरोप लगाउने नेताले नै गुटबन्दी गरेको उल्लेख गरेका छन्। उनको टिप्पणी ओली र सरकारको रक्षामा केन्द्रित छ।
पौडेलले बैठकमा बोलेका विषयमा गलत र फरक समाचार आएको भन्दै बैठक स्थलमा पत्रकारलाई प्रवेश दिनुपर्ने प्रस्ताव गरेका छन्। महासचिव पौडेलले नेता लीलामणि पोखरेलले स्थायी समिति बैठकलाई ‘लाइभ कास्ट’ गर्नुपर्छ भनेर गरेको प्रस्तावको समर्थन गरेका छन्।
‘बैठकमाा भएका छलफल र निर्णय तोडमाोड गरेर सार्वजनिक गरिएका छन्। बैठकका सूचना तोडमोड गरेर विवादमा लगिएको छ’, पौडेलको टिप्पणीमा भनिएको छ, ‘बैठकमा भएका छलफल र निर्णयको सम्बन्धमा पार्टीको औपचारिक र आधिकारीक सूचनालाई विश्वास नगर्ने र महत्व नदिने अवस्था सिर्जना भएको छ। यसले गर्दा कार्यकर्ता र जनतामा सही सूचना नजाने, भ्रम सिर्जना हुने अवस्था छ।’ यही कारण देखाएर उनले बैठकमा पत्रकारलाई प्रवेश दिनुपर्ने प्रस्ताव गरेका हुन्।
पौडेलले बैठकमा अध्यक्ष ओलीको आलोचना गर्ने अधिकांश नेताको जवाफ दिएका छन्। उनले भाषाको विषय पनि उठाएका छन्। कतिपय नेताले बोलेको भाषा र शब्द सुन्दा आफूलाई लज्जाबोध भएको उनले टिप्पणी तथा सुझावमा उल्लेख गरेका छन्।
‘कामरेडहरुले रगत, खकार, र कुन्नी के के ...(शब्दमाा भन्न नसकिने) चीजको पनि परीक्षण गर्नुपर्छ रे ! कहाँ छ कमरेडहरुको त्यस्तो प्रयोगशाला ?’, पौडेलले प्रश्न गरेका छन्।
बैठकमा धारणा राख्ने क्रममा नेता घनश्याम भुसालले अध्यक्ष ओलीले थुक, रगत र खकार टेस्ट गरेर आफ्नो गुटको हो होइन भनेर छुट्याउने गरेको आरेको आरोप लगाएका थिए। उनले ओलीले यस्तैगरी गुटबन्दीलाई निरन्तरता दिए आफूले नेतृत्व स्वीकार नगर्ने चेतावनी नै दिएका थिए।
‘थुक, रगत, खकार र वीर्य टेस्ट गरेर आफ्नो गुटको हो होइन भनेर पार्टीभित्र छुट्याउने ?’, प्रश्न गर्दै बैठकमा भुसालले भनेका थिए, ‘यसैगरी गुटबन्दी गरिराख्ने भए तपाईंबाट शासित हुन चाहन्न।’
पौडेलले पाँच पृष्ठ लामो सुझाव तथा टिप्पणीको निष्कर्षमा नेताहरुलाई धेरै राम्रो नखोज्न सुझाव दिएका छन्। ‘खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन। त्यसैगरी खोजेको सरकार र भोगेको सरकार, खोजेको पार्टी र भोगेको पार्टी पनि उस्तै हुँदैन’, पौडेलले निष्कर्षमा लेखेका छन्, ‘धेरै राम्रोको खोजी हुन्छ तर राम्रोमा चित्त बुझाउनु पर्छ। धेरै राम्रोका लागि प्रयास गर्दा राम्रो प्राप्त हुन्छ।’