मण्डलामा समलिंगी साथीको कथा

मण्डलामा समलिंगी साथीको कथा

काठमाडौं : एक दिन सुमित्रा (सुषमा निरौला)लाई महसुस हुन्छ, उनी नमा (शारदा अधिकारी) को प्रेममा छिन्। केटी भएर केटीसँग प्रेम ? सुरुसुरुमा सुमी अर्थात् सुमित्रा आफैंलाई यसमा अचम्म लाग्छ। पछि उनलाई महसुस हुन्छ, उनी अरूजस्ती सामान्य केटी होइनन्।

मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘साथीको कथा’की पात्र हुन्, सुमित्रा कार्की। समलिंगीको विषयमा तयार पारिएको यो नाटकमा स्त्रीलिंगीप्रति सुमीकोको आकर्षणले विकसित हुँदै गएका घटनाक्रम छन्। फुटबल, भलिबल, बास्केटबल यी सबै खेलमा उनी बढो रुचि राख्छिन्। उनी आफूलाई अरू केटीभन्दा भिन्न ठान्छिन्।

नाटकको पहिलो दृश्यमा चियापसल र त्यहाँका दुई कुर्सी देखिन्छन्। सुमित्रा एक हातमा चियाको कप लिएर अर्को हातले सल्किरहेको चुरोट तान्न व्यस्त छिन्। उनको हट्टाकट्टा शरीर कुनै पुरुषको भन्दा कम देखिँदैन। छोटो कपाल अनि पाइन्ट र टिसर्टमा उनी गजब देखिन्छिन्। उनको शरीर त केटीको हो तर व्यवहार केटाको जस्तो देखाउँछिन्।

पुरुष साथीको छुवाइबाट उनी प्रभावित हुँदिनन्। जहाँ जाँदा पनि उनी पुरुष साथीसँगै हुन्छिन्। पृष्ठभूमिमा उनका साथी बाबुलाल सुनाइरहेका छन्, ‘सुमी कलेजकी ज्यान हुन्। सबैले उनलाई मन पराउँछन्। अनेक बहाना बनाएर धेरैजना उनको पछि लाग्छन्।’ बास्तवमा बाबुलाल आफैं सुमीको प्रेममा हुन्छन्। यद्यपि उनलाई आफ्नो प्रेमको पोको सुमीको अगाडि खोल्न त्यति नै गाह्रो छ।

हिम्मत जुटाएर एक दिन बाबुलाल सुमीलाई भेट्छन्, उही कलेजको क्यान्टिनमा। भेटको निरन्तरतासँगै बिस्तारै यी दुई साथी बन्छन्। एकदम रूखो बोली र स्वभाव भएकी सुमी र हरेक कुरामा भयभीत हुने बाबुलालको स्वभाव फरक छ। ‘तिमीले मलाई चिनेकै छैन। चिनेपछि भाग्छौ’, बाबुलालसँगको प्रत्येक भेटमा सुमी यी वाक्य जोड दिँदै सुनाउँछिन्। आखिर सुमी के भन्न खोज्दैछिन् ? बाबुलाल बुझ्दैनन्। उनी त मात्र सुमीलाई प्रेम गर्छन्। अनेक बहाना बनाएर उनीसँग नजिक हुन खोज्छन्।

बाबुलाल पाण्डु नाम गरेको साथीसँग बस्दै आएका छन्। एक दिन उनी बाबुलाललाई सुनाउँछन्, ‘सुमीले आत्महत्या गरिन्।’ पीडाले बाबुलाल ढल्नै लागेका हुन्छन्। फेरि पाण्डु बताउँछन्, ‘आत्महत्या गर्ने कोसिस थियो।’ जिन्दगीबाट हार खाएर मानिस आत्महत्याको बाटो रोज्छन्। तर, सुमी यो विषयलाई पनि निकै हल्का रूपमा वर्णन गर्छिन्। आफूलाई निडर देखाउन खोज्छिन्। उनको व्यवहारले बाबुलाल सधैं चकित हुन्छन्। ‘आखिर सुमी किन यस्तो छिन् ? ’ तर जब उनले थाहा पाउँछन्, सुमी अरूजस्ती केटी होइनन्। उनी सुमीसँग साथीमा सीमित रहन्छन्।

नमाको जीवनमा पहिलेदेखि नै दलवीर नामका केटा हुन्छन्। उनी पनि सुमीलाई प्रेम गर्छन् तर व्यक्त गर्न सक्दैनन्। सुमी र नमाको प्रेममा दलवीर बारम्बार तगारो बन्छन्। एक दिन नमाको अर्कै केटासँग विवाह हुन्छ। सुमी एक्लै पर्छिन्। कहिल्यै पूरा हुन नसक्ने सपना देख्दा सुमी एक्लिन पुग्छिन्। नाटकको अन्त्यमा बाबुलालले सुमीलाई डान्सबारमा नशामा धुत् भएर बसेको भेट्टाउँछन्। केही दिनमा सुमीले साँच्चिकै आत्महत्याको बाटो रोज्छिन्।

एक प्रेमिकाको खोजीमा सुमी मञ्चमा बारम्बार तड्पिएको दृश्यले सबैको मन छुन्छ। भारतीय लेखक विजय तेन्दुलकरको मित्राची गोस्ट (साथीको कथा) नाटकलाई नेपाली अनुवाद गरेर ‘साथीको कथा’ नाटक तयार पारिएको हो। सन् १९८१ मा मञ्चन भएको मित्राची गोस्ट भारतको पहिलो समलैंगिक विषयमा लेखिएको नाटक हो।

विवादास्पद क्लासिक नाटकका रूपमा समेत परिचित यो नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी रेनुका कार्कीले गरेकी हुन्। सागर चन्दले यसलाई नेपाली भाषामा अनुवाद गरेका छन्। नाटक साथीको कथामा कलेजमा अध्ययनरत विद्यार्थीको प्रेम सम्बन्धका विभिन्न आयाम समेटिएको छ। एकअर्काप्रतिको आकर्षणबाट सुरु हुने प्रेमसम्बन्ध लैंगिकता र स्वभावकै कारण नाटकीय रूपमा टुक्रिन पुग्छ। प्रेम र भावनाका सम्बन्ध लैंगिकताको छायामा परेको कथा नाटकमा छ।

तेस्रोलिंगी विषयमा केन्द्रित जिउँदो आकाश मञ्चनसँगै सुरु भएको साइलेन्ट एक्टको यो दोस्रो प्रस्तुति हो। निर्देशक रेनुकाका अनुसार नाटकको विषय निकै संवेदनशील छ। उनी भन्छिन्, ‘समलिंगीको इच्छा र भावना हाम्राजस्तै हुन् तर समाजले उनीहरूलाई फरक व्यवहार गरिरहेका छ।’ समाजमा समलिंगी अस्वीकृत हुँदा उनीहरू आफ्नो पहिचान खुलाउन अझै असमर्थ भएको कार्की बताउँछिन्। ‘नाटकको माध्यमबाट समलिंगी पनि हाम्रै समाजका हिस्सा हुन् भन्न खोजिएको छ’, उनले भनिन्।

नाटकमा आयुष प्याकुरेल, सुषमा निरौला, शारदा अधिकारी, अनिल सुब्बा र सूर्यमान लिम्बूको अभिनय छ। शुक्रबारदेखि मण्डला नाटकघरमा मञ्चन भएको नाटक ‘साथीको कथा’ पुस २२ सम्म हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.