रंगशालाकै कारण राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दै
नेपालगन्ज : नेपालगन्ज रंगशालाको निर्माण समयमै सम्पन्न नहुँदा आसन्न ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक सर्ने सम्भावना रहेको छ। रंगशाला पिच गर्ने काम समयमै सम्पन्न भएपनि भीआइपी प्याराफिटको फाउण्डेसनको काम पनि अझै सुरु भएको छैन।
रंगशालाका निर्माणका लागि मलेसियाबाट सामान झिकाउन एक हप्ताभित्रै एलसी खोल्ने भनिए पनि एक महिना लागेपछि निर्माण कम्पनीले पूरानो सम्झौता अनुसार १५ दिनको समय मागेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
८औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुधबार नेपालगन्जमा सचिवालय उद्घाटन गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्टले पनि रंगशालाकै कारण प्रतियोगिता सर्न सक्ने बताए। 'हामी न्यूनतम् बिलम्ब शुल्क तिरेर भए पनि निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न भनिरहेका छौं।'
पूरानो सम्झौता नै कार्यान्वयन भए माघ २५ मै प्रतियोगिता हुन्छ,' राखेप सदस्य सचिव विष्टले भने, 'रंगशालाको काम सम्पन्न नभए फागनुको मध्यतिर आयोजना हुन्छ। त्यो भन्दा पछाडि जानुहुन्न। हामी फागुन भरी प्रतियोगिता सम्पन्न गर्ने गरी अर्को मिति तय गर्छौं।' उनले त्यसका लागि राखेप बोर्ड बैठक बसेर निर्णय गर्ने बताए।
निर्माण कार्य समयमै सम्पन्न नहुने र वातावरणको कारण देखाउँदै बाँकेका सांसदले पनि यसअघि केही दिन प्रतियोगिता सार्न आग्रह गरिसकेका छन्। '१५ दिन प्रतियोगिता सार्दैमा कुनै फरक पर्दैन। वातावरणको पनि कुनै असर पर्दैन,' विष्टले दाबी गरे, 'उद्घाटन कार्यक्रमस्थल बाहेकका अन्य खेल मैदानले भने प्रतियोगितामा कुनै फरक नपर्ने उनको दाबी थियो।
दाङको बेलझुन्डी रंगशालाको निर्माण कार्य पनि निर्धारित मितिमा सम्पन्न हुने छाँट छैन । राखेपले त्यसको विकल्पमा रुपन्देहीको खेल मैदान राखेको छ।
दुई रंगशाला बाहेक अन्य खेल मैदानको काम समयमै नभएको खण्डमा भने राखेपले अरु विकल्पको रुपमा पार्टी प्यालेसमा भए पनि प्रतियोगिता आयोजना गर्ने जनाएको छ। दुई दिनदेखि बाँके र बर्दियालगायतका जिल्लाका निर्माणाधीन खेल पूर्वाधारको अवलोकन गरेका राखेप सदस्य सचिव विष्टले रंगशाला बाहेकका पूर्वाधारको ८० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे। उनले भने, 'कतिपय पूर्वाधारले पूर्णता पाउन दुई वा तीन वर्ष लाग्ने पनि छन्। प्रतियोगिताका लागि भने अहिलेको बजेट अनुसार चालु निर्माण कार्य समयमै सम्पन्न हुन्छ।'
सचिवालयको काम सुरु
राखेपले नेपालगन्जमा निर्माणाधीन पौडी पोखरी छेउको भवनलाई ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय बनाएको छ । सचिवालयको संयोजकमा राखेप सदस्य विनोद मैनाली र सदस्य सचिव प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओली छन्।
सचिवालयले माघ २ गतेदेखि भने द्र्रुत गतिमा काम गर्ने जनाएको छ। काठमाडौंमा रहेका सदस्य तथा काजमा खटाइएका कर्मचारीपनि माघदेखि नै आउने जनाइएको छ।
'अहिले भवनमा प्रविधि जडानको काम भइरहेको छ। कम्प्युटर राख्न बाँकी छ। त्यत्तिबेलासम्म प्रादेशिक खेलकुद विकास समितिकै कार्यकक्षबाट काम हुन्छ,' सचिवालयका सचिव भीम ओलीले भने।८औंका लागि ११ वटा उपसमिति बनाएर काम जारी राखेको ओलीले प्रष्ट पारे।