ट्रेकिङ गाइडमा आकर्षण बढ्दो

ट्रेकिङ गाइडमा आकर्षण बढ्दो

काठमाडौं : नेपाल माउन्टेन एकेडेमीले ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालसँगको सहकार्यमा गरेको ट्रेकिङ गाइड तालिममा ७ सय ५० जनाले आवेदन दिएका छन्। कोटाभन्दा तेब्बर निवेदन आएपछि एकेडेमीलाई तालिम व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।

एकेडेमीले यसअघिका तालिमबाट २ हजारभन्दा बढी गाइड उत्पादन गरिसकेको भए पनि गाइड बन्न चाहनेको संख्या अझ बढ्दो छ। तालिम लिएका गाइडकै कारण पर्यटन क्षेत्र गुणस्तरीय बन्दै गएको र पर्यटक संख्या बढेको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्तगतको एकेडेमी र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले बर्सेनि ट्रेकिङ गाइड उत्पादन गर्दै आएको छ। पछिल्लो समय स्नातक उत्तीर्ण युवायुवती समेत यो तालिम लिन उत्साहित पाइएको छ।

आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढ्दै जानुले पनि गाइडमा आकर्षण बढेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका महासचिव आङपेम्बा शेर्पाले बताए। गाइडहरूले तालिमको महत्व बुझेको, पर्यटन विभागले लाइसेन्स दिँदा तालिम अनिवार्य भनेको, पर्यटन व्यवसायी र आन्तरिक तथा वाह्य पर्यटकले समेत लाइसेन्स प्राप्त गाइडलाई प्राथमिकता दिन थालेपछि तालिम लिनेको ओइरो नै लाग्न थालेको एकेडेमीका प्रशासकीय अधिकृत उत्तम भट्टराईले बताए।

पर्यटन विभागको तथ्यांकअनुसार ट्रेकिङ, टुर, सिटी र ट्रेकिङ पोर्टर गाइड गरी २५ हजारभन्दा बढी तालिमप्राप्त गाइड छन्। एकेडेमीले तालिम प्रयोगात्मक स्वरूपमा दिँदै आएको छ भने प्रतिष्ठानले प्रयोगात्मकता पद्धतिलाई प्राथमिकता दिएको छैन। गाइडलाई तुरुन्तै काम गर्न सक्ने तालिमको पाठ्यक्रम बनाउन पर्यटन व्यवसायी ङवाङङिमा शेर्पाले माग गरे। पर्यटकलाई भ्रमण गराउँदा प्रभावकारी व्यवस्थापन गर्नसक्ने दक्षतासहितको ट्रेकिङ गाइड उत्पादन गर्नुपर्ने उनको भनाइ छ।

सरकारले एसएलसी उत्तीर्णले गाइड बन्न पाउने व्यवस्था गरेको छ। तर पछिल्लो समय गाइडप्रति आकर्षण बढेकाले स्नातक उत्र्तीर्णहरू पनि तालिममा इच्छुक देखिएका छन्। युवायुवतीको गाइड बन्ने इच्छालाई सरकारले व्यवस्थित गरेर काममा लगाउने वातावरण बनाउन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज दाहालको माग छ। पर्यटकसँग हिमाल जाँदा, पैदल यात्रा गर्दा होस् या सहर घुमाउँदा त्यस क्षेत्रको ज्ञान र भाषासम्बन्धी ज्ञान चाहिने भएकाले शिक्षित व्यक्ति नै गाइडका लागि उपयुक्त हुने उनको भनाइ छ।

पर्यटन विभागले गाइडलाई मात्र नभएर यस वर्षदेखि ट्रेकिङ पोर्टर गाइडको पनि लाइसेन्स दिन थालेको छ। तालिमप्राप्त गाइडको प्रयोगसँगै पर्यटकको सुरक्षा प्रभावकारी भएको छ भने जीवन बिमा, पारि श्रमिकसमेत श्रम ऐनअनुसार लागू हुन थालेको छ। कानुनी प्रावधानअनुसार गाइड उत्पादन हुँदा पर्यटकको विश्वास बढेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.