गौमुत्रमा अनुदान

गौमुत्रमा अनुदान

बिर्तामोड : बजारमा अर्गानिक तरकारी खोज्दै भौंतारिने उपभोक्ता प्रशस्तै भेटिन्छन्। बेच्नेले भनिदिन्छन् ‘अर्गानिक हो ? ’ सुनेकै भरमा पत्याउँछन् अनि किन्छन्। बजारको अधिकांश तरकारीमा विषादीमापन संयन्त्र छैन। बारीमै मल अथवा विषादीको प्रयोग गर्ने परिमाण किसानबाहेक अरूलाई थाहा हुने कुरै भएन। तर, झापाको कमल गाउँपालिकाले भने मूल नै सङ्लो बनाउने उद्देश्यले नयाँ जुक्ति निकालेको छ। जैविक मल उत्पादन गर्न गोबर र गौमुत्रमा किसानलाई अनुदान दिने। यसको उद्देश्य गाउँमै मल उत्पादन र प्रयोगमा प्रोत्साहित गर्ने हो।

‘हामी किसानले पालेको चौपायाको संख्या हेर्छौं, त्यसकै आधारमा सुधारिएको भकारो बनाउन प्रोत्साहित गर्छौं’, गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्, ‘गोबर र गौमुत्रको परिमाण हेरेर नै अनुदान निर्धारण हुन्छ। जैविक मल उत्पादन गर्नु नै हाम्रो उद्देश्य हो।’ यस्तो व्यवस्था भएसँगै किसानले अधिकतम ९ हजार रुपैयाँसम्म अनुदान लगेका छन्। यसले वडा नम्बर २ लाई अर्गानिक ‘जोन’ बनाउन बल पुगेको अध्यक्ष काफ्लेको भनाइ छ।

अर्गानिक गाउँपालिका निर्माण गर्न कस्सिएका कमलका किसान स्वयं सक्रिय छन्। खगेन्द्रराज फुँयाल खाना खाएपछि गोबर र गौमुत्र संकलनमा व्यस्त हुन्छन्। चार वटा गाई बस्ने पक्की गोठ बनाएका छन्। ‘पहिले भाटा र चित्राले बेरेको सामान्य गोठ थियो’, उनले भने, ‘गौमुत्र र गोबर जम्मा गर्ने फरक फरक खाडल छन्। त्यहीं जम्मा गर्छु। पहिले बगेर जान्थ्यो वास्तै हुँदैनथ्यो।’ हिजोआज खगेन्द्रराज जस्ता धेरै किसान गोबर र गौमुत्र जतन गर्छन्।

वडामा एक सय ५० किसानले पक्की गोठ निर्माण गरेका छन्। परिवारले कम्तीमा तीन वटासम्म गाई पालेका छन्। एक महिनामै एक सय किलोभन्दा बढी गोबर संकलन गर्छन्। ५० लिटरभन्दा बढी गौमुत्र संकलन हुन्छ। ‘पहिला हिसाब थिएन। माटोमै बिलाउँथ्यो’, स्थानीय सुमावदेवी कट्टेलले भनिन्, ‘गौमुत्र र गोबरमा घाँस, हड्डीको धुलो, बनको माटो, प्याज र लसुनको रससहित विभिन्न ६० भन्दा बढी पदार्थ मिसाएपछि खोजेजस्तै प्रांगारिक मल बन्दो रहेछ।’ यसरी बनेको मल बोरामा २५ केजीका दरले भरेर किलोको १६ रुपैयाँमा बिक्री गर्ने गरेको कट्टेलले सुनाइन्।

हरेक घरमा गोबर र गौमुत्र संकलन गरिने गरिएको भए पनि सबैले आफैं प्राङ्गारिक मल भने उत्पादन गर्दैनन्। अधिकांशले सामूहिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्ने गरेका छन्। घर घरबाट संकलन गरेर महिनामा एकमुष्ठ कम्तीमा ३ सय बोरा प्राङ्गारिक मल उत्पादन हुन थालेको स्थानीय आईपीएम कृषि सहकारी संस्थाका अध्यक्ष यामबहादुर राईले बताए।

गाउँमा रासायनिक मल रोक्न र प्राङ्गारिक मलको प्रयोग बढाउन वडा नै प्राङ्गारिक अभियानमा लागेको सुनाउँदै राईले भने, ‘भकारो सुधारियो। किसानको सोच सुधारियो अनि अर्गानिक उत्पादनमा जान थालेपछि आम्दानी पनि सुधारिएको छ।’ सुधारिएको भकारीबाट उत्पादन हुने मलको प्रयोगले अहिले गाउँमा गोलभेडा, बन्दाकोभी, आलुलगायत उत्पादन बढेको छ। यसको स्वादमै फरकपन आएको किसानले अनुभव गरेका छन्। ‘उत्पादनको मात्रा उस्तै भए पनि बजारमा लगेर बेच्दा पहिलाको भन्दा राम्रो मूल्य पाइन थालेको छ, ’ स्थानीय किसान दुर्गा राईले भनिन्, ‘किन्नेले पनि ढुक्क भएर विषरहित हो भन्न थालेका छन्।’

एक वर्षअघि मात्र कमल गाउँपालिकाको यो क्षेत्रमा भकारो सुधार कार्यक्रम चलाएको थियो। अहिले गाउँलेको गाईबस्तु पाल्ने बानीमा सुधार आएको छ। प्रतिबोरा २५ केजीको मल कृषि पकेट क्षेत्र लागू भएका झापाका विभिन्न ठाउँमा पठाइन्छ। माग आउने क्रम बढेको छ। मासिक ३ सय बोरा प्राङ्गारिक मल उत्पादन हुन्छ। तर, माग भने महिनाको एक हजार बोरासम्म पुगेको छ। ‘सुधारिएको भकारीले गोठ सफा त देखियो नै महिनाको १२ हजार रुँपैैयाँ अतिरिक्त आम्दानी पनि भएको छ’, स्थानीय किसान रमला आचार्यले भनिन्।

प्राङ्गारिक मलको मागलाई पूरा गर्न यहाँका किसानले मल उत्पादनको मात्रालाई बढाउने लक्ष्यसमेत राखेका छन्। यो वर्ष १ सय ५० घरमा सुधारिएको भकारी निर्माण गरिएको छ। आगामी वर्षसम्ममा अन्यलाई समेट्ने योजना गाउँपालिका र किसान समूहको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.