१३ वर्षपछि घर फर्किए विवन
भोजपुर : २०६१ साल माघ। एसएलसीको तयारीमा थिए विवन राई। ट्युसन पढ्न घरबाट हिँडेका थिए। अपरिचित हतियारधारीले उनलाई आफूसँगै लगे। साविक भुल्के गाविस हाल रामप्रसाद राई गाउँपालिका ३ मा का विवनकी आमा दिलकुमारी र बाबु गुणराज राईले छोरो आउने दिन गन्दै वर्षौं बिताए। छोरो नफर्केपछि खोज्न थाले। प्रहरीमा उजुरीसमेत दिए। प्रहरी र अदालतमा उजुरी गर्दागर्दै आमाबाबुको ३ वर्ष बित्यो। छोरो खोज्न सबै जायजेथा बेचे। तर, उनीहरूले छोरा भेट्न सकेनन्।
छोरो हराएको पीडामा बाबु गुणराज दिनरात रक्सीले मात्न थाले। अत्यधिक रक्सी सेवनले ०७३ सालमा उनको निधन भयो। छोरो नभेटिँदाको पीडाले मर्माहत तुल्याएको पत्नी दिलकुमारीलाई पतिवियोगले आघात पार्यो। ‘आत्महत्या गरुम् झैं लागेको थियो, छोरो फर्केला भन्ने आसले मर्न नि सकिनँ।’
गुणराज बितेको एक वर्षपछि अर्थात् ०७४ साल भदौ १५ गते साँझतिर दिलकुमारीको घरमा एक युवक आए। पिँढीमै आएर ‘आमा’ भनी बोलाएपछि दिलकुमारीको होसहवासै उड्यो। ट्वाल्ल परेर एकनास हेरेपछि छोरा चिनिन्। तर, उनलाई विश्वास गर्न गाह्रो परिरहेको थियो।
गाउँकाले मरेका भनेको छोरो जिउँदै आफ्नै अगाडि आएको देखेपछि उनका आँखा रसाएनन् मात्र, भक्कानो छाडेर रुन थालिन्। विवन घर त फर्किए तर उनको स्वास्थ्य अवस्था पहिलेजस्तो थिएन। टाउकोभरि चोटका दाग, पहिले जस्तो नबोल्ने, घरीघरी बोल्ने, सुस्तमनस्थिति जस्तो उनको हाउभाउ देखिन्थ्यो। ‘भगवानले छोरो त फर्काइदियो तर मेरो छोरोलाई कसले कसरी यस्तो बनाइदियो। पहिले जस्तो हाँस्ने बोल्ने गर्दैन, एक्लै धुम्मिएर बस्छ। खै के भयो।’ आमा दिलकुमारीले भनिन्, ‘उसलाई जबरजस्ती लानेहरूले आँखामा पट्टी बाँधेर लगेको रे। कहाँ लगेको थाहा थिएन भन्छ। मेरो छोराको यस्तो हालत बनाइदिने पापीहरूलाई भलो नहोस्।’
तर छोरो खोज्दाखोज्दै १२ वर्ष बितिसक्दा पनि छोरोको मायाले आघात बनेकी दिलकुमारीको मनमा राहत मिलेको छ। भनिन्, ‘छोरो नभेटिए पनि उसको मायाले होला बाँच्न त बाँचेकै होला। एकदिन बाबुआमा सम्झेर घर त फर्केला नि भन्ने आस थियो। छोरो पाएँ त्यसैमा मन सन्तुष्ट छ।’
दाजुलाई स्कुलबाटै बेपत्ता पारेपछि उनका माइला भाइ रविनले स्कुल जान छाडेको बताउँछन्। दाजुलाई जस्तै अपहरण गरेर लाने डरले उनले विद्यालय नै त्यागेको स्मरण गर्छन्। उनले भने, ‘दाजुलाई स्कुलबाटै बेपत्ता पारिदिए। मलाई पनि पार्छ कि भन्ने डरले पढ्नै जान छाडें।’ विवनका २ भाइ र २ बहिनी छन्।