उपमहानगरले रोक्यो छात्रवृत्ति रकम
धरान : धरान उपमहानगरपालिकाले छात्रवृत्ति रकम निकासा नगरिदिँदा बहुअपांग अध्ययनरत तीन विद्यालय सञ्चालनमा गम्भीर समस्या भएको छ। उपमहानगरको चरम लापरवाहीका कारण पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, पूर्वाञ्चल बहिरा विद्यालय र सुस्तमनस्थिति (बौद्धिक) बालकल्याण विद्यालयमा अध्ययनरत एक सय ९० विद्यार्थीले रकम पाएका छैनन् ।
छात्रवृत्ति रकम निकासा नभएपछि विद्यालयले ऋण गरेर बिहान बेलुका खाना र खाजा खुवाउनुपरेको जनाएका छन्। संघीय सरकारले तीन वटै विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति रकम धरान उपमहानगरलाई निकासा गरेको थियो। तर, विद्यालयलाई रकम निकासा गर्न प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख र लेखापालले चासो दिएका छैनन् ।
बहुअपांग विद्यार्थीको लालनपालन र पढाइसमेत समस्या उत्पन्न भएको बताउँदै पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारीले भने, ‘नियमित पठनपाठनदेखि विद्यार्थीका गतिविधिमै असर परेको छ। तर, रकम निकासा गर्न सम्बन्धित निकायले ध्यान दिएको छैन ।’
विशेष शिक्षा परिषद्ले तीन वटै विद्यालयका विद्यार्थीहरूको छात्रवृत्ति रकम उपमहानगरको खातामा जम्मा गरिदिएको छ। तर, उपमहानगरले चालु आर्थिक वर्षको सुरुदेखि हालसम्मको छात्रवृत्ति बापतको कुनै पनि किस्ता निकासा गरेको छैन। पाँच महिनादेखि विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीको लालनपालनदेखि शैक्षिक गतिविधिमै असर पुगेको प्रअ भण्डारीले बताए। विद्यालयहरूले ऋण काडेर र पसलबाट बाँकी सामग्री ल्याएर विद्यार्थीलाई बिहानबेलुका खाना खुवाउनुपरेको परेको जनाएका छन् ।
संघीय सरकारले प्रतिविद्यार्थी मासिक ४ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएको छ। धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा ६२ जना, पूर्वाञ्चल बहिरा विद्यालयमा ६९ जना र सुस्त मनस्थिति (बौद्धिक) बालकल्याणमा ५९ जना गरी जम्मा एक सय ९० जना बहुअपांग विद्यार्थी अध्ययनरत छन्। तर, पटक पटक धाउँदासमेत छात्रवृत्ति रकम निकासा नगरेको सुस्त मनस्थिति (बौदिक) बालकल्याण विद्यालयका प्रध्यानाध्यापक शिला श्रेष्ठले बताइन्। भनिन्, ‘रकम रोकेर के गर्न खोजेको हो हामीले पनि बुझ्न सकेका छैनौं ।’ निकासाका लागि पटकपटक उपमहानगर धाउँदासमेत कर्मचारीले वास्ता नगरेको सुनाइन् ।
विशेष शिक्षा परिषद्का शाखा अधिकृत नारद धमलाले धरानका तीन वटै विद्यालयको छात्रवृत्ति रकम उपमहानगरको खातामा पठाइसकिएको जानकारी दिए। उनले भने, ‘बहुअपांग विद्यार्थीको छात्रवृत्ति रकम निकासा नगर्ने उपमहानगरका कर्मचारीहरूको नियत राम्रो देखिँदैन् ।’ धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डरीले छात्रवृत्ति रकम निकासा नगरेको विषयमा आफूलाई थाहा नभएको बताउँदै भनिन्, ‘कर्मचारीबाट गल्ती भएको भए कार्बाही हुनेछ ।’
सरकारले बहुअपांग विद्यार्थीलाई विशेष सुविधा दिएर छात्रवृत्ति रकम उपलब्ध गराई अध्ययन गर्न प्रोत्साहन गरेको छ। तर, स्थानीय सरकारका कर्मचारीको चरम लापरवाहीका कारण निकै कठिन भएको ज्ञानचक्षुका प्रअ भण्डारीको आरोप छ। पाँच महिनादेखि विद्यार्थीकोे छात्रवृत्ति रकम रोकिएपछि तीन वटै विद्यालयका प्रध्यानाध्यपकले बुधबार धरान उपमहानगर कार्यालयमा गएर निकासा गर्न ध्यानाकर्षण गराएका छन्। ती विद्यालयमा आवासीय रूपमै विद्यार्थीहरू पढ्ने गर्छन् ।