बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा
बैतडी : बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ। सरकारको देशका सबै स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने लक्ष्यअनुसार बैतडीका सबै स्थानीय तहमा बैंकिङ सुविधा भएको हो।
जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा ग्लोबल आईएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक र मेलौलीमा एनसिसि बैंकका शाखा स्थापना भइसकेका छन्।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंकलगायतका अन्य बैंकका शाखा रहेका छन् भने पाटन नगरपालिकामा कृषि विकास बैंकलगायतका अन्य नीजि क्षेत्रका बैंकहरुले पनि शाखा सञ्चालन गरिरहेका छन्।
स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा नीजि कार्यालयलाई मात्रै नभएर व्यक्तिगत कामका लागि समेत सहयोग पुगेको सुर्नया ६ का मुरलीप्रसाद अवस्थीले बताए। उनले भने, 'गाउँपालिकाको क्षेत्रमा बैंक स्थापना भएपछि हामीलाई सजिलो भएको छ। बैंकका लागि सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको छ।'
'गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका लागि खाता खोल्न सदरमुकाम पठाउनुपथ्र्यो। गाउँपालिकामै बैंक स्थापना भएपछि हामीलाई सजिलो भएको छ। गाउँपालिभरीका विद्यालय, अन्य सरकारी गैरसरकारी निकायले पनि स्थानीय स्तरमै बैंकिङ सेवा पाएका छन्,' शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले भनिन्।
गाउँपालिकाको गाँजरीमा कृषि विकास बैंकको शाखा सञ्चालनमा आएयता केही सजिलो भएपनि इन्टरनेटको अभावमा सेवा प्रभावकारी हुन नसकेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। उनले भने, 'बैंक स्थापना भएपछि खाता सञ्चालन गर्न सजिलो भएको छ। इन्टरनेटको अभावमा केही समस्या भएको छ।'
गाउँपालिकाको सतबाँझमा बैंक स्थापना भएपछि विद्यालयका खाता समेत इन्भेष्टमेन्ट बैंकमै खोलेको रौलेश्वर माविका प्रधानाध्यापक किशोर महराले बताए। उनले भने, 'हामीले विद्यालयको बैंकिङ कारोबारका लागि सदरमुकाम जानुपथ्र्यो। सतबाँझमै बैंक स्थापना भएपछि त्यो बाध्यता हटेको छ।' सरकारले २०७४ सालको साउन महिनामै सबै स्थानीय तहमा बैंक पुर्याउने भने पनि बैतडीमा एक वर्ष ढिलोगरी सबै तहमा बैंक स्थापना भएका छन्।