भेरी–बबई निर्माणमा तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन्। भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तीखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराएका हुन्।
‘आयोजनाको काम अलि सुस्ताएको छ। कामलाई गति प्रदान गर्नुस्। छिटो कामअघि बढ्छ कि भन्ने थियो तर, काममा विलम्ब भयो’, उनले भने, ‘रिजल्ट छिटो दिने गरी काम सम्पन्न गर्नु पर्नेछ।’ लुम्बिनी प्रदेशको कृषि, ऊर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको उनले बताए। आयोजनाको काम सञ्चालन गर्दा मानवबस्ती सुरक्षित हुने गरी गर्नुपर्ने बताउँदै उनले नदी कटान र विपद् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध गरे। ‘स्थानीयसँग भएका सम्झौता कार्यान्वयन भएको छैन। त्यसलाई ध्यान दिनुस्, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ’, उनले भने, ‘बस्तीलाई सुरक्षित गर्न जरुरी छ। अनिवार्य नदीको दुवै किनारमा तटबन्ध गर्नेगरी योजना अघि बढाउनुस्।’ आयोजना कार्यालयसँग छलफल गर्नुअघि मुख्यमन्त्री आचार्यले बाँसगढी नगरपालिका–१ चेपाङ बर्दियाका स्थानीयसँग भेट गरेका थिए।
अबको दुई वर्षभित्र भेरी नदीको पानी बबई नदीमा झारेर सिँचाइ, विद्युत् उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए। बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जसअन्र्तगत टनेल निर्माणकार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइयो। हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रसारण लाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ।
यो राष्ट्रिय गौरवको आयोजना हो। बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रैमहिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ। १२ महिना सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आर्थिक वर्ष २०६८-६९ बाट आयोजना अघि बढेको थियो। सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण छ। आयोजनामा नेपालमा पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) को सफल परीक्षण भएको छ। सुरुङको लम्बाइ १२ किलोमिटरको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते ‘ब्रेक थ्रु’ गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !