जाङमुको छात्रबृत्ति सपना

जाङमुको छात्रबृत्ति सपना

हिमाल हेर्दै हुर्कने मौका उनले पाइनन्। कहिले काहिँ पैतृक थलो संखुवासभातिर गएका बेला हिमाल देख्दा उनलाई डर लाग्थ्यो। तर हिमालको महत्व र महिमाबाट उनी अलग रहन सकिनन्। जीवनमा कहिल्यै हिउँ नटेकेकी उनलाई अनायसै पुर्खाको पदचाप पछ्याउने रहर जाग्यो। अनि सगरमाथाको चुचुरोमा पाइला राख्ने सपना सजाइन्।

 यो सपना साकार पार्न अभ्यासका लागि मिस मंगोल नेपाल २०१८ जाङमु इन् शेर्पा गत वर्ष सगरमाथाको बेस क्याम्पसम्म पुगिन्। ‘अल्टीच्युट सिकनेसबारे जान्न सगरमाथाको बेसक्याम्प सम्म पुगें। खासै समस्या भएन’, जाङमुले भनिन्, ‘हिम्मत बढेको छ।’

साहसीक, पृथक तर समाजले स्विकार्ने काम गर्न रुचाउने उनको सगरमाथा सपनालाई मिस मंगोलको ताजले युटर्न गरिदिएको छ। आगामी सिजनमा सगरमाथा आरोहण गर्ने योजनाका साथ अघि बढेकी उनी अहिले आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति कोष स्थापनामा जुटेकी छन्। ‘मिस मंगोल नेपालको उपाधि पाएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने सोच आयो। त्यसैले बालबालिकाको शिक्षाका लागि काम गर्ने लक्ष्यका साथ मिस मंगोल स्कलरसिप फन्ड स्थापनामा जुटेका छौंं’, उनी भन्छिन्, ‘सगरमाथा चढ्न उमेर छ। समय छ।’

जाङमुका अनुसार न्यूनतम् ५० लाख रुपैंयाँ पुर्‍याइने यो कोषको मुख्य श्रोत च्यारिटी र डोनेसन हुने छ। आगामी शैक्षिक सत्रदेखी विद्यार्थीलाई छात्रवृति प्रदान गर्न सुरु गरिने उनले जानकारी दिइन्। छात्रछात्राले जुनसुकै कक्षाबाट एसईईसम्मका लागि छात्रवृति पाउने छन्। यो अभियानमा मिस मंगोल नेपाल २०१८ की फस्ट रनरअप प्रीती गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाको पनि साथ छ।

केही दिनअघि दक्षिण कोरिया भ्रमण गरी फर्केकी उनले त्यहाँ यस अभियानका लागि राम्रो आश्वासन पाएकी छन्। ‘कोषका लागि योगदान गर्ने उहाँहरुको आश्वासनबाट म उत्साहित छु’, उनले भनिन्। त्यहाँ उनलाई आदिवासी जनजाती महासंघ, सेर्पा संघ र दक्षिण कोरियाले सम्मान पनि गरेको थियो। केही साताभित्र यो अभियानको भब्य कार्यक्रमबीच शुभारम्भ गर्ने तयारीमा उनी जुटेकी छन्। कोषमा जम्मा भएको रकम, दाता, छात्रवृति पाउने विद्यार्थी आदिको सम्पूर्ण विवरण पारदर्शी बनाउन र कोष सञ्चालन गर्न आधिकारिक वेभसाइट तयार भइरहेको उनले बताइन्।

सौन्दर्य प्रतियोगिताका अधिकांश विजेता कि चलचित्रतिर लाग्छन् वा मोडलिङ क्षेत्रमा रमाउँछन्। यी दुवै क्षेत्र उनको पनि रुचीमा पर्छ। तर समाजलाई केही दिन सकिएन भने ताजको अर्थ र महत्व नरहने उनको भनाइ छ। कतिपय सौन्दर्य प्रतियोगितका विजेता एवं प्रतिभावान युवा विदेशीएको देख्दा उनलाई दुख लाग्छ। ‘म देशमै बसेर केही गर्न चाहन्छु। घुम्न, पढ्न विदेश जानु ठिकै हो तर देश विर्सेर उतै हराउनु राम्रो होइन’, जाङमु भन्छिन्, ‘आगामी पुस्ताका लागि पनि हामीले केही गर्नुपर्छ।’

कक्षा ५ मा पढ्दै गर्दा एउटा बाल सौन्दर्य प्रतियोगितामा भाग लिएपछि यस क्षेत्रमा उनको रुची बढेको हो। मिस मंगोलमा सहभागी भएपछि शिरमा ताज लगाउने सपना साकार पारिन्। ‘मिस मंगोल नेपालजस्तो मौलिक र गरिमामय प्रतियोगिता जित्नु मेरो लागि गौरवको विषय हो’, उनले भनिन्, ‘यो प्रतियोगितार्फत मेरो जीवनको एउटा सपना साकार भएको छ। परिवार, आफन्त र शुभेक्षुकबाट स्यावासी पाएकी छु। मेरो लागि अवसरको ढोका खुलेको छ।’ नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति सचेत गराउन मिस मंगोल प्रतियोगिताले महत्वपुर्ण योगदान पुर्‍याएको उनको ठहर छ।

पुख्यौली घर संखुवासभा भए पनि उनी काठमाडौंमै जन्मे हुर्केकी हुन्। १९ वर्षिय जाङमुले दर्जनौं कार्यक्रममा एमसी गरीसकेकी छिन् भने दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्। नयाँ वानेश्वरस्थित किङ्स कलेजमा स्नातक अध्ययनरत जाङ्मु पढाइ सकेपछि चलचित्र क्षेत्रमा पनि काम गर्ने सोचमा छिन्। ‘पछिल्लो समय नेपाली चलचित्रको स्तर, विषयवस्तु र समाजले हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आएको छ’, उनले भनिन्, ‘अध्ययन सकेपछि चलचित्र निर्माण एवं अभिनय गर्ने रहर पनि छ।’

भविश्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी जाङ्मु सौन्दर्य प्रशाधनकी सोखिन छिन्। क्याजुअल पहिरन उनलाई मन पर्छ। फिट एन्ड फाइन रहने चाहनाले उनी नियमित जीम जान्छिन्। भ्याएसम्म उपन्यास पढ्छिन्। खुसी हुँदा होस वा दुख उनलाई गीत नसुनी हुँदैन।

फिट एण्ड फाइन, राम्री अनि डाइनामिक स्वभावकी जाङमुलाई केटाहरुले कतिको फलो गर्छन् त?        उनी भन्छिन्, ‘फेसबुकको इनबक्स प्रेम प्रस्तावले भरिएको हुन्छ। अफर नआएको दिन सायदै होला। तर अहिले मेरा लागि ति सबै वाइयात हुन्। विवाह गर्ने बेला भएपछि यसबारे सोचौंला।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.