६ विद्यार्थीका लागि ७ प्राध्यापक

६ विद्यार्थीका लागि ७ प्राध्यापक

जनकपुरधाम : जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मैथिली विभागअन्तर्गत ६ विद्यार्थीका लागि सात जना प्राध्यापक कार्यरत छन्। विद्यार्थीभन्दा प्राध्यापकको संख्या बढी भए पनि मैथिली विभागमा विद्यार्थी पढ्नै नआएपछि कक्षा सञ्चालन गर्न नसकिएको प्राध्यापक रूपेश सिंह बताउँछन्। विभागका कर्मचारी तथा प्राध्यापकका लागि प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आएको छ।

त्यसैगरी, मानविकी संकायतर्फ विभिन्न विषयका लागि ३५ प्राध्यापक कार्यरत छन्। तर, अधिकांश विषयमा विद्यार्थीको नामांकन नै छैन। जनकपुरमा सञ्चालित अधिकांश निजी क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरूकै नाम, लगानी वा सहयोगले सञ्चालित छन्। क्याम्पसमा कार्यरत १ सय २ जना स्थायी प्राध्यापक र ५० पार्टटाइमरमध्ये अधिकांश हाजिरी गरी तलब बुझ्ने गर्छन्।

मैथिली विभागकी प्राध्यापक विनिता ठाकुर भन्छिन्, ‘स्वार्थ र अर्थमा डुबेको म्यानेजमेन्टका कारण क्याम्पस धराशयी भएको छ।’ उनका अनुसार त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये ०१६ सालमा स्थापित शैक्षिक दृष्टिले प्रथम स्थान ओगट्न सफल उक्त क्याम्पस ०६० सालसम्म ‘क’ वर्गमा सूचीकृत थियो। महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप, ओखलढुंगालगायत स्थानबाट विद्यार्थी आउने गर्थे।

बीएससी वा एमएससीका अधिकांश टपर यही क्याम्पसका विद्यार्थी हुने गरे पनि अहिले उक्त संस्था ‘डिग्री’ बाँड्ने थलोमा सीमित भएको उनले बताइन्। राजनीतिक दबाबमा क्याम्पस प्रमुख छनोट र प्राध्यापकको निजी क्याम्पसप्रतिको मोहले संस्थालाई धराशयी बनाएको उनको आरोप छ।

विद्यार्थी राजनीतिको अखडा

विद्यार्थी संगठनको अस्वस्थ राजनीतिको सिकार बनेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस पछिल्लो समय विवाद र तनावका कारण चर्चामा आएको छ। राष्ट्रिय जनता पार्टीनिकट राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीले आइतबार क्याम्पस प्रमुख विजयलाल दासलाई कार्यकक्षमै मसो दले। नियमित पठनपाठन, पुस्तकालयको उचित व्यवस्थापनलगायत १९ सूत्रीय माग राखी विद्यार्थीले आन्दोलन गर्दै आएका थिए। विवाद बढेपछि प्रहरीले बचाउ गर्दै विद्यार्थीद्वारा क्याम्पसमा लगाइएको ताल्चासमेत खोलेको थियो। यसै विषयलाई लिएर प्रमुख दासले पुस २ गते पदबाट राजीनामा दिएका छन्।

परीक्षाका बेला अनुगमनको नाटक गर्ने र पछि पोलिसी लेभलसम्मै आर्थिक मिलेमतो गर्ने प्रवृत्तिले क्याम्पसको अवस्था बिग्रिएको विद्यार्थी नेता ज्ञानेन्द्र झाले बताए।

‘अमर्यादित परीक्षा’

मधेस आन्दोलनपछि सक्रिय विद्यार्थी संगठनको दबाब र प्राध्यापक तथा कर्मचारीको मिलेमतोले परीक्षाको गरिमा समाप्त पारेको प्राध्यापक विमलचन्द्र झाले बताए। ‘०६२/६३ मा टेबुलमै किताब राखेर विद्यार्थी चोरी गर्थे,’ प्राध्यापक झाले भने। बाहिरबाट कापीमा लेखाउने क्रम पनि सोही बेलादेखि सुरु भएको उनले बताए। उनले भने, ‘एक विषयको कापी बाहिरबाट लेखाउँदा १० देखि १५ हजार रुपैयाँसम्म बार्गेनिङ हुन्थ्यो। उक्त क्रम जारी छ।’

यस्तो अमर्यादित क्रियाकलापमा समावेश भई लाभ लिनेमा अधिकांश प्रशासनिक निकायका कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका नेतासमेत रहेको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत मो. जमिर राइन बताउँछन्। चोरीको भरमा वा आर्थिक चलखेल गरी सजिलै सर्टिफिकेट पाइने प्रचारका कारण बढुवाका लागि समाजका सबै वर्गबाट यसको दुरुपयोग भएको राइनको आरोप छ।

निरन्तर तह घटुवा

०५३ सालमा १५ देखि १७ हजारसम्म विद्यार्थी भर्ना भएको उक्त क्याम्पसमा यस वर्ष १ हजार ५ सय विद्यार्थीले नामांकन गराएका छन्। पाँच हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पस ‘क’ वर्गमा पर्ने व्यवस्था छ। तर, हाल उक्त क्याम्पस ‘ख’ वर्ग हुँदै ‘ग’ मा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.