हिम्मत हे तो सामने आ !!
प्यारी रश्मि ! यो समय छोरीहरूले सपना देखिरहेको समय हो। धर्तीभरिका सहरमा भोक, प्याससँग जुँधेर, न्यास्रोको बर्कोे ओडेर कुदिरहेको समय हो। यो समय हार्दैन।
- उनले कानबाट एयरफोन थुतिन्। आँखा ठूलो पारिन् र अगाडिको भीडतिर हेरिन्। बाफरे क्या दबंग हेराई। कस्लाई कुट्न होला ?
- पुसको सिरेठो। कति चिसो ! भन्न पर्ला र ? रत्नपार्कको पुलले फिँजाउने मलमूत्रको सुगन्ध, नसुँघेको कुन सपना होला यो काठमाडौं सहरमा। त्यही सुगन्धसँग ककटेल बनेर आउने सुकुटीको बास्ना। हैट ! एकतमासले बत्तिरहेको पुलमुनिको हूल। कोही त बसोस न क्यामेरा समातेर, दिनकै एउटा फिलिम बन्थ्यो होला के ! ठेल्यो ठेल्यो, कुहिनाले ठेल्यो। खुट्टाले पेल्यो। चिसोले कक्रक्क परेका जुत्ताभित्रका औंलाले भने, ‘ऐया कुन बजियाले कुल्च्यो।’ ह्वार ह्वार हुरहर। सरक सरक सुरुक सुरुक। जाडोमा त चिप्लाचिप्ला चाइनिज ज्याकेटले निकाल्ने अर्केस्ट्रा। आय हाय ! आयो आयो कलंकीको नीलो माइक्रो आयो। त्यस्का बाजे एउटा हूल ढोकामा पोकै परेर झुन्डियो।
महिला न पुरुष ठेलामठेल। पेलाम पेल। जस्ले हान्यो उस्ले जान्यो। कति हेर्नु तमासा। चिसोले मुटु बटारिसक्यो। फेरि आयो अर्को मोटर। खलासी ब्रो कुर्ले ‘जाने हो सोल्टिमोड कलंकी, स्यम्बू।’ तोइट ! जानै त बस पर्खेको। बिटिटी कुद्यो ज्यान। ठेल्न आउनेलाई कुहिनोले आँखा तरेर भन्यो ‘हट साला !’ आजकल रत्नपार्कका आइटम दाजु मुकुन्दे पनि ट्विटरतिर सल्केका छन्। नत्र उनी पनि यतिबेला भाषण सकिवरि बस टिप्न हिँडेका भेटिन्थे होला। ड्युटी सकेर।
साँझको धुमिल प्रकाशमा यति नजारा रोज कि बात हे। अब बसमा चढियो। मधुरो बत्तीमा ओसिएको सहर। सडक उज्यालो पार्न के सरकारले ठेक्का लेको छ र ! उस्का कति काम छन् बरा ! बिचरा सर्खारको नि माया लाग्छ। यसरी नै धुलो, खाल्टो र हूल छिचोलेर घर पुगेकाहरूले ट्विटर र फेसबुकमा सराप्न थालिसके होलान्। धन्न सर्खारले गैंडाको छाला ओडेको छ। बाटाकोे खाल्टोमा जिप हाम्फालेको हिजैको समाचार उस्को कानमा नपरोस्। आफू चढेको बस खाल्टोमा ब्रेक नलिइकन कुदेको छ यतिबेला, यही काफी छ।
साँझको बेला बसको यात्रा। अघि रत्नपार्कको दृश्य सर्लक्क उक्लियो बसभित्र। अगाडिको सिटको छेउपट्टि बसेको कत्तिन। हूलमूलले पेलेर ज्यानले ‘नही नही’ भन्न थालिहाल्यो। धक्का माथि धक्का। लाफ्फा हान्नुपर्ने धक्का हो कि, कुहिनोले पेल्नुपर्ने आइटमवाला हो यसो हेर्थें। वरिपरि घेरिएका ठिटाहरूका मुद्रा ठीकै छ। महिला हिंसावाला त छैन। ल ठीकै छ केटा हो बच्यौ। फेरि नजर ओराल्थेँ।
मनले यसो भनिनसक्दै घाँटीतिर धक्का छ फेरि। कुनै काम बनेको बेहद दामी मुडमा थिएँ। बिथोलिन पनि मन छैन। यसकारण दवंगगिरि गर्न नपरोस्, केटाहरूको ढाडले ऐया भन्न नपरोस् भन्ने नै पवित्र चाहना मनमा थियो। यसो घरिघरि नजर मिल्काएर वातावरण चेक गरिरहेँ। अलि बढी ठेलिएको महसुस भएपछि हूलतिर ढाड फर्काएं। झ्यालतिर टाउको।
कालो बुट टिलिक्क टल्केको। त्यही माथि कालो कोट। टाउकामा चस्मा झ्लििक्क। ड्यासिंग छ ज्यान पनि। निर्धक्क निश्चिन्त मुद्रा। अरे वा ! म फिलिमको गुन्डा भए त डायलग मार्थे होला, ‘आइटम बबाल छ’। झ्यालको सिटमा बसेकी केटीको यस्तो थियो हुलिया।
छेउको हुलले शिरदेखि ढाडसम्म पेल्न छोडेन मलाई। म चलिरहेँ। झ्यालकी केटीले थाहा पाई। यो क्रम नरोकिएपछि झ्यालकी केटीले कानमा घुसारेको एअरफोन स्वाट्ट तानी। स्थिर आसनमा अडिई। आँखा हूलतिर मिल्काई। केहीबेर आँखालाई त्यही हूलमा पज गरिदिई। आँखैआँखाले गरी निरीक्षण। के होला यो केटाहरूको नियत भनेर। पहिलोपटक, साँच्चै जीवनमा पहिलोपटक, सार्वजनिक यातायातमा आफ्नो लागि कसैको डिफेन्सी मुद्रा देखेँ मैले। चित्रकार हुँदो हँु त हुबबु उतार्थें एउटा चित्र उनको ऐले। म माथि कसैले बदमासी त गर्दै छैन। एक पटक होइन पटक पटक उनी त्यो भावले हूललाई हेरिन्। कसैले केही गरेको थिएन। फगत हूलको धकेलाई थियो। उनले मलाई रक्षा तम्सेको कति मन प¥यो म कसरी भँनु।
मैले केही होइन भन्दै भनिनँ। अझै लुसुक्क परेर उनीतिर टाँसिए। उनी झ्यालतिर सरिन्। बिना संवाद भनिन्, ‘मे हुँ ना।’ मलाई मनमनै आवाज निकालेर भन्न मन थियो, ‘राइट टु बी विक समटाइम यार।’ साँच्चै पहिलो पटक एक अजनवीले मलाई भनेजस्तो लाग्यो, ‘यु डिजर्भ इट।’ नत्र यो सहरमा हाम्रो दुःखको के हिसाब ! कहाँ कमजोर हुन पाइन्छ र !
थ्यांक यु माई डियर अपरिचित बहिनी। तिम्रै लागि लेख्दैछु यी हरफहरू आज। अस्ट्रेलिया हानिएकी दार्चुले बहिनी रश्मि रैकोलाले मेसेजमा लेखेकी थिइन्। दिदी यो सहरमा थाक्छु आत्तिन्छु। भन्ने बिसाउने ठाउँ कहीँ हुन्न। अनि हजुरले लेखेको सम्झन्छु, ‘फुक्काफाल केटीका रहरका दुःख।’ मन बुझाउँछु र यो सहरमा हराउँछु।’
प्यारी रश्मि ! यो समय छोरीहरूले सपना देखिरहेको समय हो। धर्तीभरिका सहरमा भोक, प्याससँग जुँधेर, न्यास्रोको बर्कोे ओडेर कुदिरहेको समय हो। यो समय हार्दैन। चोटहरूले बसालेका खतहरूले भन्नेछन् विजयको कथा एकदिन। त्यो झंकारले थामिनेछ हावा एकछिन। र तिमीजस्तै सबैलाई भन्छु म। हामी एक्लाहरूको पनि त बेग्लै संसार छ। गहिरो मायाले भरिएको संसार। न्यास्रो लागेको दिन लेख्नु है एउटा चिठी परदेशबाट।
दशक अघिसम्म साँझको ७ बजे कटेपछि अक्सर यात्रामा महिला भेट्नै कठिन थियो। सिंगो बस वा माइक्रोमा एक्लो महिला यात्रा गर्दा हुने मानसिक दबाब सामना गर्नु नियमित कुरा थियो। हरदम डिफेन्सिभ मुडमा बस्नुपर्ने। आफ्ना लागि र अरूका लागि पनि। घर आइपुग्दा दिमाग र शरीर उस्तै गल्थ्यो। जता हे¥यो उता महिलाको हूल कुदिरहेको अहिलेको दृश्यले भनिरहेको हुन्छ ‘उस्तै छैन है समय।’
यातायातमा एक अर्कालाई घेरा हाली उभिनु, बसेकाले उठेकाको ब्याग समाइदिनु सामान्य कुरा हुन्। नजिकको सिट खाली भयो भने एक महिलाले अर्कीलाई बस भनेर इसारा गर्नु झनै मीठो कुरा। यस्ता दृश्यसँग साक्षात्कार हुन पाउँदाको समय दिप्त हुन्छ। अर्काको लागि लड्न, भिड्न र रक्षा गर्न तम्सने नयाँ पुस्ता एकएक गरी बढे क्या गजब होला है। सहरको रौनकमा लाग्ला नि चार चाँद।
हूल बाँधी सार्वजनिक यातायात चढ्ने केटीहरू सिपाही हुन्, हानिरहेछन् एकएक इलाकामा कब्जा। एकपछि अर्को। वायुमण्डलमा कतै गीत गुञ्जिएझैं लाग्छ अचेल, ‘एक्लै एक्लै छैनौं अब हामी।’ कहाँ कम छ अहिलेको पुस्ता ! छिरिक्क गरोस् न कसैले केही, ठाडै झम्टन्छन्, ‘हिम्मत हे तो सामने आ’ वाला अदामा।
बसबाट ती दबंग नजरवाली केटीसँग छुटिएर म निक्लंँ। सहरका अजनवी स्वप्नील केटीहरूसँग यो मन गएर टाँसिएझंंै भयो। याम थियो शिशिर। मनमा खुसीको सुन्तले घाम मुस्कुरायो। ए ! छोरीहरूको सपनाले रंगिएको समय !! तिमीलाई सलाम !