पिँढी भयो खाली

पिँढी भयो खाली

काठमाडौं : ‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, आफैंले गाएको यो गीतको नियति झेल्दै शुक्रबार दिउँसो ६४ वर्षको उमेरमा आफ्नै पिँढीबाट सदाका लागि बिदा भए चर्चित लोकगायक बुद्धिकृष्ण लामिछाने। उनी केही वर्षदेखि भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित आफ्नै निवासको पिँढीमा उपचार गरिदिने दाताको पर्खाइमा थलिएका थिए। उनी प्यारालाइसिस, मिर्गाैला लगायतका रोगबाट पीडित थिए।

अशक्त आमाले बिदेसिएको छोराको पर्खाइमा कुरेको वेदनासहितको यो गीतजस्तै बित्यो लामिछानेको जीवन पनि। श्रीमतीको सहारामा भित्रबाहिर गर्ने उनी गाउँमा नौलो मान्छे देख्दा आफैंलाई भेट्न आएका हुन् कि भन्दै आँखा तन्काउँथे।

काम गर्न नसक्दा

खान लाउन नपाउँदा।

जाडोमा लुगलुग काम्दी हुनभोकै बसी रुँदी हुन्।

यो गीत उनले एउटी आमाको वेदना र पीडा सम्झेर गाएका थिए तर आफ्नै जीवनको भोगाइ बनाएर अस्ताए। एक दशकसम्म न उनले आफ्नो चाहनाअनुसर केही खान पाए न त हिँडडुल गर्न नै। औषधिको भरमा रुँदै दिन काट्नु सिवाय उनको अर्को विकल्प थिएन। धर्मपत्नी दुर्गादेवीको साथ, पिँढीको थाम अनि एउटा लौरो, यिनै थिए उनको जीवनका अन्तिम सहारा।

फाटेको दौरा लाएर

खोले र सिस्नु खाए

हात र खुट्टा टेक्दैछु

भारी बोक्दैछु।

यो गीतले घरपरिवार छोडेर खाना र नानाका लागि रोजगारी गर्न गएको सन्देश बोकेको छ। उनका अधिकांश गीतले लोकजीवनकै भाका बोकेको भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही बताउँछन्।

लामिछानेले नेपाली लोकगीतको क्षेत्रमा ठूलो योगदान दिएका छन्। जवानीमा लोकगीत संकलन गर्न उनले देशका धेरै भागको भ्रमण गरे। धेरै राम्रा र मर्मस्पर्शी गीत सिर्जना गरे। सरल भाषा र शब्दमा हलुको पाराले गाउने अनि नाच्ने लामिछाने आफूले गाउने गीत आफैं संकलन गर्थे भने संगीत पनि आफैं भर्थे।

घाँस काट्ने खुर्केर

आयो जोबन हुर्केर

कसलाई दिउँ यो जोवन।

पहाडी पाखा न्याउलीको भाखा

चिनेको छैन झिम्क्याउँछे आँखा

कसलाई दिउँ यो जोबन।

किलिप र काँटा नक्कली पाठा

आँखा झिम्क्याई बोलाउँछन् केटा

कसलाई दिउँ यो जोबन।

यो गीत लामिछानेको जवानीको बेला निकै चर्चित बनेको थियो। किसान परिवारमा जन्मेको भएर पनि होला; उनका गीतमा गाई, घाँस, दाम्लो, बाख्राजस्ता शब्दको प्रयोग धेरै भएका छन्। ‘गाई त बाँध्ने पाटको दाम्लो’, ‘बाखरी बाखरी’, ‘जस्ता उनका गीत चर्चित छन्। लामिछानेले लोकगायिका कोमल ओलीसँग गाएको ‘तिम्रो र मेरो मायाको डोरो’ बोलको गीत पनि उत्तिकै चलेको गीत हो। उनले पार्वती कार्कीसँग ‘हल्ला चल्यो टोलटोल, भयो डामाडोल’ दोहोरी गीतसमेत गाएका थिए।

लामिछानेले रेडियोमा लोकगीतसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरेका थिए। उनले ‘हिजोआजका कुरा’, ‘जिरे खुर्सानी’ लगायतका सिरियलमा अभिनय गरे। उनको जन्म २०१२ साल साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस–३ मा भएको थियो। बुबा टीकाराम र आमा ब्रह्मकुमारी लामिछानेका छोरा बुद्धिकृष्णका पाँच छोरी र दुई छोरा छन्। लामिछानेको शुक्रबार नै दाहसंस्कार गरिएको छ।

उनको घर जाने बाटो उनकै नाममा होला ?

गत साउन १ गते उनको ६४औं जन्मदिन मनाउँदा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुर–नगरकोट सडकबाट उनको घर पुग्ने सडकको नाम बुद्धिकृष्ण लामिछाने मार्ग राख्ने आश्वासन दिएका थिए।

भक्तपुर सांगीतिक समाजको अगुवाइमा मनाइएको उक्त जन्मदिनमा प्रमुख मिश्रले लोकगायक लामिछानेको सम्मानस्वरूप उनको परिवारलाई आवश्यकताअनुसार नगरपालिकाले आर्थिक सहयोग गर्ने वचनसमेत दिएका थिए। तर, त्यसपछि मेयर मि श्र र नपाका कुनै प्रतिनिधि उनको घर नपुगेको पारिवारिक स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.