जले सबै जायजेथा, मैनबत्ती बालेर छाड्दा विपत्ति

जले सबै जायजेथा, मैनबत्ती बालेर छाड्दा विपत्ति

काँकडभिट्टा : झापाको मेचीनगर-६ साठी बिघामा शुक्रबार बिहान प्रेमकुमारी श्रेष्ठ आगोले जल्न बाँकी टिन र कपडा पल्टाउँदै थिइन् । कतै राखेको सुनचाँदी भेटिन्छ कि भन्ने उनको आस रहेछ । सामान ओल्टाइपल्टाइ गरिरहँदा उनका आँखाबाट बरर्र आँसु झर्दै थियो ।

‘गरगहना यतै कतै कन्तुरमा राखेकी थिएँ तर भेटिएन’, उनले भनिन्, ‘आगोको लप्काले सबै निलेछ ।’ नानीहरूका लुगाबाहेक अरू केही जोगाउन नसकेको उनले सुनाइन् ।

उनले अघिल्लो दिन ४ हजार रुपैयाँ सापटी लिएर भारतको पानीट्यांकी बजारबाट सरसामान किनेर ल्याएकी थिइन् । शुक्रबार चोकमा लगेर बेच्ने र केही नाफा कमाउने उनको योजना थियो । ‘त्यही नाफाबाट छोरीको स्कुल फी तिरौंला भन्ने थियो’, उनले गला अवरुद्ध पार्दै भनिन्, ‘सबै सकियो । खरानी भयो ।’

नगरपालिकालाई भाडा तिरेर सार्वजनिक जग्गामा बनाएको घरमा बिहीबार राति आगलागी भएको हो । २२ घर केही छिनमै खरानीमा परिणत भए । अग्निपीडितले ज्यानबाहेक केही जोगाउन सकेनन् । पीडितले सडकछेउमा रात गुजारे । ‘दिनभरको कामले थाके पनि आराम गर्न पाइएन’, स्थानीय भूपाल तामाङले भने, ‘ससाना व्यापार गरेर कमाएको धन सबै डढ्यो ।’

बस्तीका अधिकांश युवा ट्याक्सी, ट्रक र ट्र्याक्टर ड्राइभर छन् । यहाँका महिला सीमावर्ती भारतबाट सामान ल्याएर काँकडभिट्टामा बिक्री गर्छन् । धेरैले कस्मेटिक, पान र मासु पसल चलाएका छन् । ‘खाना खाने बेला भएको थियो’, अर्की स्थानीय सरिता लिम्बूले भनिन्, ‘कोही सामान ल्याएर थन्क्याउँदै थियौं, कोही ढोका बन्द गर्दै थियौं । एक्कासि सिलिन्डर पड्किँदै आगलागी सुरु भयो । नसुतेकाले ज्यान बच्यो ।’ बेलुका ८ बजे आगलागी सुरु भएको थियो ।

अर्की पीडित हरिमाया खड्काले आयस्रोत राम्रो भएका कोही नरहेको सुनाइन् । भनिन्, ‘छोराछोरी पढाउन र केही रकम कमाइन्छ कि भनेर सिमाना बजारमा बसेका हामी अब कहाँ जाने ? ’

अधिकांश अग्निपीडित आफ्नो घर नभएका, परिवारसँग छुट्टिएर आएका र अन्य स्थानबाट विस्थापित भएर बसेकाहरू रहेको इलाका प्रहरी काँकडभिट्टाका डीएसपी महेश थापाले बताए । ‘आगलागीबाट सबै जेथा गुमाएर उनीहरू समस्यामा परेका छन्’, उनले भने । प्रहरीका अनुसार बिजुली गएका बेला आगलागी भएकाले घरभित्र भएकालाई निकाल्न समस्या भएको थियो ।

आगलागीले सुभाष शिवाकोटी, मदन कँडेल, मानबहादुर गुरुङ, भूपाल तामाङ, रत्न साम्सुहाङ, विक्रम साम्सुहाङ, शान्तिदेवी श्रेष्ठ, गोविन्द मि श्र, प्रदीप राजवंशी, मौलिय तामाङ, केशव श्रेष्ठ, नवीन राईको घर जलेका हुन् । त्यस्तै, वर्षा लिम्बू, हरिमाया खड्का, सारकेश गुरुङ, छविलाल आङ्देम्बे, सानु तामाङ, धनवीर तामाङ, रुन्ची आइन्द्रो, ज्ञानबहादुर तामाङ, मानबहादुर तामाङ र केशवबहादुर सुब्बाका घर तथा टहरामा आगो लाग्यो । दिनेश लिम्बू र केहन श्रेष्ठका घरमा भने सामान्य क्षति पुगेको छ । पीडितलाई रेडक्रस, जिल्ला विपद् व्यवस्थापन समितिले राहत सामग्री र नगद सहयोग गरेका छन् । नगरपालिकाको बैठक बसेर निर्णय गर्ने मेचीनगरका मेयर विमल आचार्यले बताए ।

मैनबत्ती बालेर छाड्दा विपत्ति

बिहीबार दिउँसो ४ बजेदेखि काँकडभिट्टा क्षेत्रमा विद्युत् आपूर्ति रोकिएको थियो । साठी बिघाका छविलाल आङ्देम्बेले भान्छामा मैनबत्ती बालेका थिए । ‘उनी मैनबत्ती बालेर बाहिर निस्किएका रहेछन्’, स्थानीय वेधनिधि प्याकुरेलले भने, ‘सिलिन्डर पड्किएर आगो ह्वारह्वारी भयो । अरू घरलाई भेटिहाल्यो ।’ मेचीनगरको दमकल आउँदा धेरै घर जलिसकेका थिए । ‘दमकल त ठीक समयमा आएको हो तर पानी कम रहेछ’, डीएसपी थापाले भने, ‘फेरि भर्न जाँदा समय लाग्यो । तर, बिर्तामोड र भद्रपुरबाट आएका दमकलको सहायताले डेढ घण्टामा आगो नियन्त्रणमा आयो ।’

आगलागी हुनासाथ स्थानीय सरिता लिम्बूले नगरपालिकालाई फोन गरेकी थिइन् । दुई किलोमिटर दूरीमा दमकल पुग्न आधा घण्टा लाग्यो । त्यो पनि आधा ट्यांकी पानी बोकेर । दुईपटक पानी छ्यापेर दमकल पानी भर्न गयो । त्यही बेला भद्रपुर र बिर्तामोडबाट ल्याइएका दमकलले आगो निभाए । ‘हाम्रै नगरपालिकामा भएको दमकलमा पानी नहुँदा धेरैे क्षति भयो’, पीडित विक्रम साम्सुहाङले भने, ‘नगरपालिकाको लापरवाहीले हामीले जायजेथा गुमाउनुपर्‍यो ।’

मेयर विमल आचार्यले भने दमकल ढिला नगएको बताए । पानी भर्ने स्थानसमेत अभाव नभएको तर स्टार्ट गर्न, कर्मचारीले ड्रेस लगाउन समय लाग्ने उनले सुनाए ।

शिवसताक्षी नगरपालिकामा गत मंसिर ९ गते आगलागी हुँदा पनि दमकल ढिलो पुगेको थियो । त्यो घटनामा एकै घरका चार जनाले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.