भारतीय ट्रकका कारण नेपाली व्यवसायी संकटमा, ट्रक रोक्न ७२ घण्टे अल्टिमेटम

भारतीय ट्रकका कारण नेपाली व्यवसायी संकटमा, ट्रक रोक्न ७२ घण्टे अल्टिमेटम

बिर्तामोड : भारतीय मालवाहक ट्रकको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायी संकटमा पर्न थालेका छन् ।

भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकले नै नेपालभर ढुवानी गर्न थालेपछि नेपाली ट्रक कामविहीन हुँदा व्यवसाय नै संकटमा परेको ट्रक व्यवसायीको गुनासो छ ।

भारतीय मालवाहक गाडीले भन्सार कार्यालयमा झार्न नमिल्ने, २४ घण्टाभित्र बिग्रने तथा फलफूल मात्र नेपालमा लिएर आउन पाउने भए पनि दाल, चामल, कोइला जस्ता सामग्री पनि लिएर आउन थालेपछि यस्तो समस्या सुरु भएको ट्रक व्यवसायी बताउँछन् ।

भारतीय ट्रकले नेपालमा सामान ल्याउँदा नेपाली भन्सारदेखि १७ किलोमिटर सम्म मात्र ढु्वानी गर्न पाउने पारवहन सम्झौतामा उल्लेख भए पनि उक्त नियमको उलंघन गर्दै देशभर ढुवानी गर्दा नेपाली व्यवसायी संकटमा परेको पूर्व नेपाल ट्रक व्यवासायी संघका उपाध्यक्ष तेजप्रसाद कडरीयाले बताए ।

‘हरियो तरकारी, फलफूलदेखि तेस्रो मुलुकबाट आयात गरिएका कच्चा पदार्थ तथा धेरैजसो ठोस सामान भारतीय ट्रकले नेपालभर ढुबानी गर्न थालेपछि हाम्रो ट्रकले बोक्ने सामान अभाव हुँदै जाँदा व्यवसाय नै संकटमा पर्न सुरु गरेको छ,’ उपाध्यक्ष कडरियाले भने, ‘यसको सोझो असर व्यवसायी साथै बैंक तथा वित्तीय संस्थालाई पनि परिरहेको छ ।’

नेपालका ट्रक व्यवसायीले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सरकारलाई पनि विभिन्न समयमा पटक पटक यस विषयमा सचेत गराउँदा समेत उनीहरुले चसो नदिँदा नेपाली ट्रक व्यवसायीको व्यवसाय नै धरापमा परेको झापा बिर्तामोडका ट्रक व्यवसायी राजिव शिवाकोटीले बताए ।

‘हामी ट्रक व्यवसायीले ऋणमा ट्रक लिएका हुन्छौँ, हामीले सामान बोकेर हिँड्ने भनेको नेपाल भित्रै हो, तर अहिले भारतीय ट्रकले अवैधानिक रुपमै नेपालका सबै स्थानमा सामान पु¥याउँछन्, यसलाई रोक्नुपर्छ भन्ने हाम्रो माग हो,’ व्यवसायी शिवाकोटीले भने ।

सम्झौता अनुसार भारतीय गाडीहरू सामान लिएर आए पनि फर्कँदा रित्तै जानुपर्छ । तर, सरकारले सामान लिएर फर्कँदा पनि कारवाही गर्न सकेको छैन । नेपालका ९५ प्रतिशत ट्रक ऋणमा सञ्चालित रहेको व्यवसायीको दाबी छ ।

भारतीय ट्रकलाई भन्सार कार्यालय र नेपालका उद्योगीको मिलेमतोमा देशभर अवैध रुपमा चल्न दिँदा नेपाली व्यवासायीका ट्रकले मासिक किस्ता र ब्याजसमेत बुझाउन नसक्ने अवस्था आएको व्यवसायीहरु बताउँछन् ।

झापामा मात्र ३ सय ट्रक व्यवासयीको एक हजार भन्दा बढी र नेपालमा झन्डै ६० हजार मालवाहक सवारी साधन सञ्चालनमा रहेको पूर्व नेपाल ट्रक व्यवासयी संघको तथ्याङ्कमा उल्लेख छ ।

विगतमा कोलकाता बन्दरगाह तथा अन्य भारतीय सहरबाट तयारी तथा कच्चा पदार्थ भारतीय ट्रकले नेपालका भन्सारसम्म र नियम बमोजिम भन्सारदेखि १७ किलोमिटरसम्म मात्र ल्याउने गरेका थिए ।

त्यसपछि नेपाली ट्रकले नै देशका विभिन्न ठाउँमा सामान ढुवानी गर्दै आएका थिए । तर, अहिले भारतीय ट्रकले नै नेपालमा निर्वाध रुपमा सामान बोकेर पुग्ने गरेका छन् । दुई वर्षयता उनीहरुले यसरी निर्वाध रुपमा सामान बोकेर गुड्न थालेका हुन् । तै पनि सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ ।

नेपालमा चल्ने सबै प्रकारका मालवाहक ट्रकले सरकारले तोकेको भारवहन क्षमता मापदण्ड अनुसार सञ्चालन हुने गरेको पाइन्छ । तर सोही अनुरूप भारतीय ट्रकले भने नेपालमा तोकिएको भन्दा तीन गुणा बढी बस्तु र सामानको भार बोकेर आउने गरेको ट्राफिक प्रहरीको तथ्यांकमा पनि उल्लेख छ ।

बढी भार बोकी आउने ट्रकलाई भन्सारमै भार मिलान गरी ढुबानी सहज गराउनुपर्ने झापाका ट्रक व्यवसायीको माग छ । ‘नेपालको सडकमा सामान बोकी हिँड्ने सवारी साधन तुलना गर्ने हो भने नेपाली नम्बर प्लेटका मालवाहक साधन र भारतीय नम्बर प्लेटका मालवाहक सवारी झन्डै ६०÷४० को अवस्था भइसक्यो,’ अर्का ट्रक व्यवसायी सुसिल बराईलीले बताए ।

पछिल्लो समय सरकारले ट्रकमा पनि सिण्डिकेट हटाएपछि व्यवसायी संघ पनि हटेको र अहिले संघले व्यवसायीको हितमा कुरा गर्न छाडेको ट्रक व्यवसायी गुनासो गर्छन् ।

व्यवसायीको अल्टिमेटम
यस्तैमा पूर्वका ट्रक व्यवसायीले आफ्नो गुनासो अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश १ सुनसरीलाई राखेपछि नेपाल कम्युनिस्ट क्रान्तिकारी माओवादी निकट सो ट्रेड युनियन महासंघले भारतीय गाडी रोक्न सरकार र भारतीय व्यवसायीलाई ७२ घण्टे अल्टिमेटम समेत दिएको छ ।

शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्ष बालकृष्ण बुढाथोकीले ७२ घण्टाभित्र भारतीय ट्रक व्यवसायीले नेपाली नियम नमाने कडा रुपमा आफूहरु प्रस्तुत हुने चेतावनी दिए ।

उनका अनुसार भारतीय ट्रक नेपालमा निर्वाध रुपमा सामान बोकेर गुड्न नपाउने भन्दै त्यसबाट नेपाली व्यवसायमा परेको असरबारे बुँदागत रुपमै आफ्नो अधवारणा समेत सार्वजनिक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.