आर्टमा वैवाहिक विभाजन
काठमाडौं : ‘छोरीले पढे अर्काको भलो, छोराले पढे आफ्नो भलो।’ मानौं छोरी आफ्नो नभएर फरक परिवारका सन्तान हुन्। उनलाई लगानी गर्नु, पढाउनु भनेको अरूका लागि सम्पत्ति जोड्नु हो। ‘आइमाईको हात खाली र बाख्राको मुख खाली हुनु हुँदैन।’
समाजमा प्रचलित यो उखान सुन्दा यस्तो लाग्छ, महिला अनवरत काम गरिरहनुपर्ने मेसिनजस्तै हुन्। तिनलाई एकछिन पनि सुस्ताउने छुट छैन। ‘दूध उम्लिए अँगेनामा, छोरी उम्लिए भँगालामा।’ यसको अर्थ छोरीले पढ्नु, अघि बढ्नु र माथि उक्लन खोज्नु भनेको भँगालामा पस्नुजस्तै नराम्रो हो। छोराचाहिँ उम्लिएर पोखिए पनि सही ठाउँमै पर्छन्। ‘जहा श्री, त्यहाँ स्त्री।’ मानौं महिलाहरू भनेको सम्पत्तिसँग दाँजिने वस्तु हुन्। सम्पत्तिले महिलाको क्षमता पनि किन्न सकिन्छ।
हाम्रो समाजमा प्रचलित यस्ता उखानटुक्काले महिलाको आत्मसम्मान, स्वतन्त्रता र प्रतिष्ठाको अवमूल्यन गर्छन्। भनाइ मात्र नभएर समाजमा परम्पराको रूपमा विभेदकारी चलनहरू पनि जीवितै छन्। आज पनि हजारौं महिला परम्परा र धर्मको नाममा पीडा भोग्न बाध्य छन्। महिलाले भोगेको विभेद र यातनाको शृंखलालाई शिलासा राजभण्डारीले एक फरक खालको इन्स्टलेसन आर्टमा प्रदर्शन गरेकी छन्।
नेपालबाट सन् १९५० पछिको समयलाई प्रतिनिधित्व हुने गरी ३७ जना कलाकारका ९० वटा आर्ट भियनाको बेल्ट म्युजियममा प्रदर्शन हुँदैछ। त्यहाँ शिलासाले बनाएको आर्ट पनि समावेश हुनेछ। भियना म्युजियमले उनले बनाएको १० वटा आर्टको नमुना पनि संग्रह गर्दैछ। गत हप्ता भियना लैजाने आर्टहरूको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा गरिएको थियो।
प्रदर्शन कक्षको हलमा एउटा ठूलो काठको बाकस थियो। बाकसमाथि लस्करै सजाइएका छन् ससाना खाटहरू। चिटिक्क परेका खाटहरूले दर्शकको ध्यान खिच्छ। सुनौलो रङ पोतिएका खाटहरूले विवाहको संकेत गर्छ। खाटमा लगाइएको सुनौलो रङले विवाहमा महत्त्वपूर्ण ठानिने सुनको प्रतिनिधित्व गर्छ।
प्रत्येक खाटमा एक/एकजना महिलाको सुन्दर फोटोको प्रतिविम्ब सहितको बिस्तारा पनि बिछ्याइएको छ। महिलाहरूको पोट्रेटलाई केरकार गरिएको छ। चित्रमाथि इम्ब्रोइडरी ‘धागोले बुनिएका विभिन्न आकृतिहरू’ छन्। कुनैको आँखा छोपिएको छ त कुनैमा मुख बन्द गरिएको छ। प्रत्येक बिस्ताराले एउटा एउटा कहानी बताउँछ। हरेक चित्रमा महिलाका लागि मात्र बनेका उखानटुक्का र भनाइहरू समावेश छन्।
‘म्यारिज ट्याबुज सिरिज’ नाम दिइएको यो इन्स्टलेसन आर्टमा ९/१२ इन्चका ३२ वटा खाट छन्। खाटमा ओछ्याइएका तन्नामा उतारिएको चित्र वास्तविक महिलाका तस्बिर हुन्। अनुसन्धानका क्रममा शिलासाले केही महिलासँग विवाहको विषयमा अनुसन्धान गरेकी थिइन्।
विवाहको संस्कारले महिलाको व्यक्तित्व र जीवनलाई कसरी नियन्त्रण गर्छ भन्ने विषयमा उनले अनेकौं विवाहित महिलाको अनुभव बटुलेकी थिइन्। महिलालाई दैवी शक्तिका रूपमा पुजिन्छ तर उसको क्षमता र सीपको अवमूल्यन गरिन्छ। पुरुषको स्वार्थपूर्तिको साधनका रूपमा महिलालाई प्रयोग गरिने संस्कार समाजमा रहेको उनले फेला पारिन्। केही उदाहरण आफैंले भोगेर पनि आएकी थिइन्।
विभिन्न ठाउँका ग्रामीण महिलालाई विवाहसम्बन्धी के कस्तो धारणा छ भनेर उनले सोधेकी थिइन्। ९० प्रतिशत महिलामा विवाहलाई लिएर निराशा भेटियो। कोही महिला बोल्न नै सकेनन्, कापीको पानामा यत्रतत्र कोरेर बसे। उनीहरूको यो हर्कतलाई शिलासाले आर्टमा उत्रार्ने कोसिस गरेकी हुन्। अनुसन्धानमा भेटेको तथ्यले उनलाई यो आर्टको सिर्जना गरायो। करिब ६ महिनादेखिको मेहनत हो उनको यो नमूना चित्र।
शिलासा भन्छिन्, ‘विवाहलाई दुई व्यक्ति र परिवारको युनियनका रूपमा लिइन्छ। तर समाजमा भएको सिस्टमलाई ध्यान दिने हो भने विवाहलाई युनियनभन्दा पनि विभाजनका रूपमा बुझ्न सकिन्छ।’ केटीहरू आफ्नो परिचय छाडेर, जन्मेको घर छाडेर श्रीमान्को घर जाने ह हुँदा यसलाई विभाजन र जन्मेको परिवारको नाता नै टुट्ने सेपरेसनको रूपमा पनि बुझ्न सकिन्छ।
विवाहमा गरिने कन्यादान नै एउटा विभेदपूर्ण प्रक्रिया भएको बताउँदै शिलासा थप्छिन्, ‘बुवाले आफ्नी छोरीलाई एउटा वस्तुजस्तो ठानेर केटाको हातमा दान गर्ने चलनले युनिटीभन्दा पनि नाता तोड्ने परम्पराको प्रतिनिधित्व गर्छ।’ ‘महिला र पुरुषबीच जति पनि विभेदका शृंखला चलिरहन्छ, यसको जड तत्त्व नै विवाह हो’, उनी दाबी गर्छिन्।
केटी भनेको अरूको घरमा जाने, अरूसँग सम्झौता गर्ने पात्र र केटा भनेको आफ्नै परिवारलाई निरन्तरता दिने, आफ्नै परिवारको सम्पत्तिमा बाँच्न पाउने सुप्रिम पात्रका रूपमा समाजले स्वीकार गर्ने भएर विभेदका घटना सदियौंदेखि चलिरहेको उनको बुझाइ छ।
छोरीलाई अर्काको घरमा पठाउने हो भन्ने सोच र चलन अन्त्य नभएसम्म महिलामाथिको विभेद पनि पूर्णतया नरोकिने उनले दाबी गरिन्। विवाहपछि महिलाले भोग्नुपर्ने सामाजकि दबाब, दमन र प्रताडनालाई उनले यो आर्टको विषयवस्तु बनाएकी हुन्। भन्छिन्, ‘विवाहअघि र पछि महिलाको मनोदशा अत्यन्तै फरक हुने गर्छ।’
ससाना काठको टुक्रा जोडेर बनाइएको हो यो खाट। यसलाई रंग्याउँदा गोलिफ भन्ने पेन्ट प्रयोग गरिएको छ। यो नेपालमा पाइँदैन अमेरिकाबाट ल्याइएको हो।
नेपालमा पाइने रङ प्रयोग गर्दा मेटालिक इफेक्ट नआएको शिलासाको भनाइ छ। त्रिपुरेश्वरकी रैथाने हुन् शिलासा। उनले त्रिभुवन विश्वविद्यालयबाट फाइन आर्टमा मास्टर्स पूरा गरेकी छन्। उनी फोटोग्राफीमा पनि रुचि राख्छिन्।
उनले इन्जिनियरसँगको सहकार्यमा टेक्नोलोजी प्रयोग गरेर पनि आर्टका विभिन्न प्रकार तयार पारेकी छन्। आफूले भन्न र देखाउन खोजेको कन्सेप्ट कुन माध्यम प्रयोग गर्दा प्रस्ट हुन्छ त्यही माध्यम प्रयोग गरिरहेकी हुन्छिन् उनी। भन्छिन्, ‘मेलै बनाएको कलाले मेरो धारणालाई देखाउन सक्नु पर्यो। यसका माध्यम अनगिन्ती हुन्छन्।’