अपराधी खाेज्न आईजीपी कञ्चनपुरमा
महेन्द्रनगर : निर्मला पन्त हत्याप्रकरण पछिल्लो अनुसन्धानबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले कञ्चनपुर पुगेर जानकारी लिएको छ। ‘अहिलेसम्म भइरहेको अनुसन्धानबारे संगठन प्रमुखले जानकारी लिनुभयो’, अनुसन्धान अधिकृत कृष्णराज ओझाले भने, ‘गहन र सूक्ष्म रूपले अनुसन्धानमा केन्द्रित हुन निर्देशनसमेत दिनुभयो।’ आईजीपी खनालले आइतबार नागरिक समाज, अधिकारकर्मी र पत्रकारसँग छलफलसमेत गरेका थिए।
छलफलमा खनालले प्रहरीको अनुसन्धानलाई शंकाको घेरामा नराखी विश्वास गरिदिन आग्रह गरे। उनले प्रहरीले ठूलो स्रोत, साधन र जनशक्ति लगाएर घटनाको अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाइछाड्ने बताए। उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, हाम्रो अनुसन्धानलाई विश्वास गरिदिनुस्, अपराधी पत्ता लगाएरै छाड्छौं।’ उनले प्रहरीको अनुसन्धानलाई शंकाका रूपमा मात्र नहेरी अपराधी पत्ता लगाउन आवश्यक सूचना भए दिएर सहयोग गर्नसमेत आग्रह गरे।
‘प्रहरीले कसैलाई बचाउन खोजिरहेको छ कि भन्ने तपाईंहरूको आशंका छ भने त्यस्तो आशंका नगर्नुस्’, छलफलमा सहभागीलाई आईजीपी खनालले भने, ‘यो घटनाको अनुसन्धानमा प्रहरीजति चिन्तित कोही छैन, जोसुकै अपराधी भए पनि छाडिनेवाला छैन।’ कसैलाई बचाउने र कसैलाई फसाउने सवाल हुनै
नसक्ने उनले बताए। भने, ‘अपराधी सानो–ठूलो भन्ने हुँदैन, यो घटनामा जोसुकै भए पनि उन्मुक्ति दिइन्न।’ उनले घटनाको अनुसन्धान क्रममा गल्ती गर्ने प्रहरी, कर्मचारी कसैले उन्मुक्ति नपाउने दाबी गरे। ‘उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन र एआईजी धीरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदन अध्ययनको काम सकिएको छ’, उनले भने, ‘प्रहरीको कमी–कमजोरीको अध्ययन गर्न गठित एआईजी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा जसको जेजस्तो संलग्नता र त्रुटि देखिन्छ उनीहरू सबै कारबाहीको भागीदार हुन्छन्।’
छलफलमा निर्मलाको न्यायका लागि गठित नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले जतिसक्दो गहन अनुसन्धान गरी छिटो निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्नेतर्फ ध्यान दिन आग्रह गरिन्।
‘हाम्रो एउटै माग निर्मला हत्यारा सार्वजनिक गर्नुपर्छ भन्ने हो’, उनले भनिन् ‘सोझासीधा मानिसलाई बिनाप्रमाण समात्ने र दुःख दिने काम नगरी प्रमाण सबै जुटाएर मात्रै अनुसन्धान गरियो।’ उनले निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउन अनुसन्धानमा आवश्यक सहयोग गर्न अधिकारकर्मी तयार रहेको बताइन्। छलफलमा सहभागी अन्य अधिकारकर्मीले समेत घटनाको सुरुवाती चरणबाट अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
आईजीपी खनालसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी नीरज शाही, एसएसपी उमेश जोशी, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, एसपी गणेश रेग्मी, महानगरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर, प्रहरी नायब निरीक्षक गजेन्द्र रावलसहितको टोली कञ्चनपुर पुगेको हो।
अनुसन्धानका लागि प्रहरीका थुप्रै समिति खटिएका छन्। तर, अहिलेसम्म हत्याराको सम्बन्धमा प्रहरीले ठोस प्रमाण जुटाउन सकेको छैन। साउन १० गते निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो। उनको शव साउन ११ गते भीमदत्त नगरपालिका– २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो।