किसान सहकारीको साधारणसभा
काठमाडौं : कैलालीको लम्की चुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाको उद्घाटन सुदुरपश्चिम प्रदेशको कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री बिनिता चौधरीले गरेकी थिइन्।
नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्ड रहेको धारणा राख्दै मन्त्री चौधरीले आगामी दिनमा प्रदेश सरकारले यस क्षेत्रको विकासमा विशेष ध्यान दिइने बताइन्।
कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले वार्षिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन पेस गर्दै महाप्रबन्धक शाहले संस्थाले ०७४/०७५ मा २९ करोड ४५ लाख ६९ हजार ६ सय १८ रुपैयाँ पुँजीकोष तथा एक अर्ब १५ करोड ९९ लाख ७८ हजार तीन सय १७ रुपैयाँ बचत संकलन गरेको जानकारी दिए। यसै गरी सोही अवधिमा संस्थाले एक अर्ब ८८ करोड १२ लाख २१ हजार कर्जा लगानी गरी सात करोड ३५ लाख ५१ हजार नौ सय त्रियासी रुपैयाँ खुद आम्दानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ।
संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले संस्थाको भावी योजनासम्बन्धी प्रतिवेदन समेत पेस गरेका थिए। कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको दुई इलाका र २१ शाखा छन्। ५० हजार तीन सय सदस्य रहेको संस्थामा १५७ जना कर्मचारी कार्यरत छन्।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारी तथा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र/छात्रालाई सम्मान तथा सोही अवधिमा दिवंगत भएका सेयर सदस्यको परिवारलाई जनही २५ हजार नगद राहतस्वरूप प्रदान गरेको थियो।
यसैबीच यस संस्थाले एटीएम सेवाको सुभारम्भ गरेको छ। संस्थाको केन्द्रीय कार्यालयमा रहेको उक्त एटीएमको २४औं वार्षिक साधारणसभासँगै उद्घाटन गरिएको हो। एटीएमको कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री बिनिता चौधरीले उद्घाटन गरिन्।