अपायकमा स्वास्थ्यचौकी, सेवा लिन पुग्दैनन् सर्वसाधारण

अपायकमा स्वास्थ्यचौकी, सेवा लिन पुग्दैनन् सर्वसाधारण

बांगेमरोठ (प्युठान) : झिमरुक गाउँपालिका–१ सौतामारे प्युठानका तिलक परियारले आफूलाई सामान्य बिसन्चो भए छिमेकी स्वास्थ्यकर्मी भाइसँग चेकजाँच गराउँछन्। स्वास्थ्यचौकी जानुपरे छिमेकी जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र गुल्मीको पुर्कोटदह बजारमा पुग्छन्।

साविकको बांगेमरोठ गाविसको स्वास्थ्यचौकी घरदेखि तल सामुदायिक वनको बीचमा रहेको उनले सुनेका छन्। तर, ७९ वर्षीय परियार अहिलेसम्म उक्त स्वास्थ्यचौकी पुगेका छैनन्। ‘सौतामारेफेदी नजिकै स्वास्थ्यचौकी छ भन्ने सुनेको छु’, उनले भने, ‘त्यहा जानुभन्दा छिटो पुर्कोटदहमा पुगिन्छ।’ गाउँका धेरै व्यक्ति उक्त स्वास्थ्यचौकी नपुगेको उनले सुनाए।

साविकको बांगेमरोठ गाविस हुँदा पनि सेवाग्राहीको पहुँचबाहिर रहेको बांगेमरोठ स्वास्थ्यचौकी हाल वडामा विभाजन हुँदासमेत अपायकमै पर्छ। गाविस हुँदा करिब ८० प्रतिशत सेवाग्राही उक्त स्वास्थ्यचौकीमा नपुगेको तथ्यांक छ। गाउँका अधिकांश नागरिकले स्वास्थ्यचौकी नै देखेका छैनन्। स्थानीय निकाय पुनःसंरचनापछि यस स्वास्थ्यचौकी १ नम्बर वडाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा छ। ४ नम्बर वडा स्वास्थ्य संस्थाविहीन भएकाले दुवै वडाको काम गर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन्। साविकको बांगेमरोठ ६, ७, ८, ९ र वादीकोटको ८ र ९ का सेवाग्राही यसको कार्यक्षेत्रभित्र पर्छन्। तर, बांगेमरोठ साविकको ६ नम्बरका फाट्टफुट्ट बिरामीबाहेक अन्य गाउँबाट सेवाग्राही नआउने स्वास्थ्यकर्मी बताउँछन्।

एकातिर बस्ती, अर्कोतिर स्वास्थ्यचौकी हुँदा सेवा लिन नसकिएको सौतामारेकै स्थानीय छन्दबहादुर घर्तीक्षेत्रीले सुनाए। ‘बुहारी सुत्केरी हुँदा बुटवल लैजानुपर्‍यो’, उनले भने, ‘हाम्रा लागि खोलिएको स्वास्थ्यचौकीबाट सेवा लिएका छैनौं। गाउँको स्वास्थ्यचौकी गाउँघरकै बीचमा हुनुपर्छ।’ बस्तीको बीचमा स्वास्थ्यचौकी स्थापना गर्न पटक–पटक माग गरे पनि सुनुवाइ नभएको स्थानीयले बताएका छन्। सेवा लिन नपुग्ने स्वास्थ्य संस्था खोल्नु जनताको हितमा नभएको स्थानीय गुनासो पोख्छन्।

अपायकमा हुँदा कार्यक्षेत्रभित्रका २८ जना महिला चालु आवमै बाहिरी स्वास्थ्यसंस्थामा पुगेर सुत्केरी भएको स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट पुनम बिसीले बताइन्। नौ जना महिला मात्र यस स्वास्थ्यचौकीमा आएर सुत्केरी भएका छन्। ‘तीन गुणा महिला सुत्केरी हुन बाहिर गए’, उनी भन्छिन्, ‘सेवाग्राही आउनै मान्दैनन्।’ स्वास्थ्यचौकीमा सहज रूपमा एम्बुलेन्स लैजाने सडकसमेत छैन। सेवाग्राही नआउँदा कार्यालयले तोकेको वार्षिक लक्ष्य पूरा गर्नसमेत धौधौ परिरहेको बिसीको अनुभव छ।

यस क्षेत्रका कतिपय महिला घरमै सुत्केरी हुने अवस्था बढ्दै गएको सिनियर अनमी हरि जिसीले जानकारी गराइन्। उनका अनुसार गत आर्थिक वर्षमा १७ जना र चालु आर्थिक वर्षमा सात जना महिला घरमा सुत्केरी भएका छन्। स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भए पनि सोचेअनुसार महिला उपस्थित नभएको उनी बताउँछिन्। गर्भ जाँच गराउन आउने महिला सुत्केरी हुन जिल्लाबाहिर पुग्ने गर्छन्।

हाल कायम रहेको स्वास्थ्यचौकीको स्थानमा सामुदायिक स्वास्थ्य इकाइ र घना बस्ती रहेको सौतामारे गाउँमा स्वास्थ्यचौकी स्थापना हुनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन्। यसअघि गाउँमा स्वास्थ्यचौकी स्थापनाका लागि पहल गरे पनि सुनुवाइ नभएको वडाध्यक्ष ध्रुवराज खनालले बताए। सबैको पायक पर्नेगरी स्वास्थ्य संस्था स्थापनाका लागि पहल गर्ने उनले सुनाए। यसअघि झिमरुक गाउँपालिका–४ स्थित अगारामा स्थानीयले स्वास्थ्यचौकी स्थापना गर्न निःशुल्क जग्गा दिए पनि सौतामारेफेदी बजार क्षेत्रका स्थानीयले विरोध जनाएपछि प्रक्रिया अवरुद्ध भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.