सात महिनामा पनि अक्सिजन ठगीको प्रतिवेदन आएन

सात महिनामा पनि अक्सिजन ठगीको प्रतिवेदन आएन

काठमाडौं : पर्यटन विभागले पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनमा अस्वाभाविक ठगी भएको फेला पारेसँगै छानबिन गर्न गठित समितिले सात महिनामा पनि प्रतिवेदन बुझाउन सकेको छैन। २ सय रुपैयाँ पर्ने अक्सिजन ६० हजारसम्म बिक्री गरेको र त्यो पनि गुणस्तरहीन रहेको पाइएपछि उपसचिव कोषनाथ अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो।

समितिले प्रतिवेदन बुझाउन आनाकानी गर्दै ७ महिना बिताएको छ। विभागकै अधिकृत होमनाथ पाण्डे र गोपाल भण्डारी समिति सदस्य छन्। छानबिन सके पनि संयोजक अधिकारीको सरुवा भएकाले प्रतिवेदन बुझाउन नसकिएको सदस्य भण्डारीले बताए।

बर्सेनि हिमालमा पर्वतारोही र कामदारले प्रयोग गर्ने अक्सिजनमा करोडौं ठगी हुने गरेको छ। समितिले प्रतिवेदन नबुझाउँदा गत असोज र कात्तिक महिनामा समेत डेढ सय पर्ने गुणस्तरहीन अक्सिजनलाई ६० हजारसम्म तिर्नु परेको पर्वतारोहीको गुनासो छ। समितिले अक्सिजनमा भइरहेको ठगीको विस्तृत अध्ययन गरी रिपोर्ट बुझाउन विभागको निर्देशन थियो। प्रतिवेदन पाएपछि कारवाही अघि बढाउने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

पर्वतारोहण आयोजना गर्ने कम्पनीले उचाइमा जाने आरोहीलाई लिक्विड अक्सिजन सिलिन्डरमा उपलब्ध गराउनु पर्नेमा सामान्य मेडिकल अक्सिजन भरेर दिने गरेका छन्। यसबापत् आरोहीसँग ट्रेकिङ कम्पनीहरूले ४–५ सय अमेरिकी डलरसम्म असुल गर्दै आएका छन्।

लिक्विड अक्सिजनको मापदण्ड पूरा हुन माइनस १ सय ८३ डिग्री हुनुपर्ने अक्सिजन जानकार डा.दिवश अमात्यले बताए। हिमालमा प्रयोग हुने लिक्विड अक्सिजनको ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ। जुन मेडिकल अक्सिजनमा पाइँदैन, गुणस्तर नभएपछि अक्सिजनले क्याम्प २ भन्दा माथि काम नदिने उनको भनाइ छ। अक्सिजनका बोतलमध्ये ६० प्रतिशतभन्दा धेरै गुणस्तरहीन ठगी हुने गरेको उनको दाबी छ।

 समितिले अक्सिजनमा भइरहेको ठगीको अध्ययन गरी रिपोर्ट बुझाएको छैन।

काठमाडौंमा टोपआउट र शंकर अक्सिजन बालाजुले पनि अवैध रूपमा अक्सिजन भर्दै आएको फेला परेको छ। हिमालमा काम गर्ने सरदार, शेर्पा, गाइड र अन्य आरोहण दलका सदस्यलाई जानकारी नहुँदा गुणस्तरहीन अक्सिजन प्रयोग गर्न बाध्य छन्। मेडिकल अक्सिजनको ठूलो सिलिन्डरबाट बोस्टिङ गरेर हिमालमा प्रयोग गरिने लिक्विड अक्सिजनको सानो सिलिन्डरमा भरेर ठगी गर्ने गरेको हो। सस्तो र बोस्टिङ गरेको मेडिकल अक्सिजनबाट ऊर्जा नआउने, कुनै अनुभूति नहुने, मुख सुक्खा हुने, फोक्सो सुक्खा भएर धेरै खोकी लाग्ने, स्वर सुक्ने र अक्सिजन लिँदा मुख नै कालो हुने गरेको छ। यसले फोक्सोमा समस्या र क्यान्सरसम्म हुने जोखिम बढाएको चिकित्सक बताउँछन्।

अक्सिजनबारे पर्यटन ऐन २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ ले कुनै उल्लेख गरेको छैन। विदेशबाट अक्सिजन आयात गर्दा कुनै कानुनी प्रावधान छैन। एक पटक प्रयोग गरिएका सिलिन्डर पुनः प्रयोग गर्न मिल्दैन। तर २० वर्षदेखि एउटै सिलिन्डर प्रयोग गरिरहेको फेला परेको थियो।

अहिले टोपआउट, पोइक्स, समिटलगायत नाममा ६ हजारभन्दा बढी सिलिन्डर प्रयोगमा छन्। त्यसमा पनि ३ हजारभन्दा बढी सिलिन्डर २० वर्ष पुराना छन्। विभागले सुधार गर्ने, मापदण्ड तोक्नेदेखि नियमनको कानुनी व्यवस्था गर्ने, अक्सिजन उत्पादन र बिक्री गर्नु पर्ने देखिन्छ। देशमा १० भन्दा बढी कम्पनीले अक्सिजन उत्पादन गर्दै आएका छन् तर लिक्विट अक्सिजन भने न्यून मात्रामा मात्र उत्पादन हुने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.