आफ्नो मान्छे नपरेपछि योजना सम्झौतामा अवरोध
बझाङ : चिरवित्थड गाउँपालिकामा निर्माण थालिएको सुनकुडा धारीडोबा ग्रामीण सडक निर्माण उपभोक्ता समितिमा आफ्नो मान्छे अध्यक्ष नबनाएको भन्दै उपाध्यक्ष जानकी बोहराले सडकको सम्झौता गर्न दिएकी छैनन्।
गाउँपालिकाले एक महिनाअघि नै योजनाको सम्झौता गर्न सूचना गरेको हुँदा सुनकुडा धारी सडक क्षेत्रमा पर्ने उपभोक्ताको भेलाले स्थानीय वीरबहादुर ढाँटको अध्यक्षतामा सडक निर्माण समिति बनाएको थियो। वडाका जनप्रतिनिधिको रोहवरमा सहमतिबाट समिति बनाउँदा पनि गाउँपालिका उपाध्यक्ष बोहराले आफ्नो मान्छे अध्यक्ष बनाउनुपर्छ भनेर दाबी गरेपछि योजनाको निर्माण प्रभावित भएको छ।
२० दिनअघि उपभोक्ता समिति बनाएर योजनाको सम्झौता गर्न फाइलसहित गाउँपालिका पुगेका स्थानीय उपाध्यक्षकै स्वार्थका कारण योजनाको सम्झौता नभएपछि बुधबार आक्रोशित भएर उपभोक्ताले सम्झौताको फाइल नै उपाध्यक्षको कार्यकक्षमा च्यातिदिएका थिए। सडक निर्माण समितिका अध्यक्ष वीरबहादुर र सचिव अम्मर विष्टले सबै विधि, प्रक्रिया र सहमतिअनुसार समिति गठन भएको तर उपाध्यक्ष बोहराको गलत मनसायले योजनाको सम्झौता रोक्न लगाएको बताए। सचिव अम्मरले भने, ‘हामीले सडक क्षेत्रमा पर्ने सम्बन्धित वडाध्यक्ष र सदस्यसँग समन्वय भेला गरी समिति बनाएको हो तर किन उपाध्यक्षले यस्तो चाल गरिरहेकी छन् बुझ्नै सकिएको छैन।’ चिरवित्थड गाउँपालिकाको चालु आर्थिक वर्षमा उक्त सडकका लागि ५८ लाख विनियोजन गरेको छ।
सडक क्षेत्रमा पर्ने वडा नम्बर ९ का अध्यक्ष कलक विष्टले समिति सबै सहमतिअनुसार भए पनि उपाध्यक्ष जानकीको गलत स्वार्थका कारण योजना सम्झौतामा विवाद भएको बताए। उनले भने, ‘उपाध्यक्षले मलाई पनि पटक–पटक आफ्ना मान्छे राख्न आग्रह गर्नुभयो तर मैले उहाँभन्दा जनताको कुरालाई ध्यानमा राखेर उपभोक्ता समिति सहमतिमा बनाएँ। उपभोक्ता समितिको अध्यक्षका आकांक्षी उपाध्यक्षका देवर नाता पर्ने मोहन बोहरा र राईभान बोहराले समिति एकलौटी भएको र आमसहमति नभएको भन्दै गाउँपालिकामा उजुरी दिएका छन्।
गाउँपालिका उपाध्यक्ष बोहराले भनिन्, ‘सम्झौता मेरा कारणले अल्झिएको हैन, उपभोक्ताकै विवादका कारण गाउँपालिकामा उजुरी आएपछि मैले के भयो भनेर चासो मात्र राखेकी हुँ। यसमा मेरो कुनै स्वार्थ छैन। उपभोक्ताको सहमतिमा भएका काम अगाडि बढ्छन्।’