समलैंगिकका लागि पूर्वाग्रही समाज

समलैंगिकका लागि पूर्वाग्रही समाज

 काठमाडौं : भारतीय नाटककार विजय तेन्दुलकरले समलैंगिक युवतीको प्रेम सम्बन्धलाई विषय बनाएर सन् १९८१ मा मराठी भाषामा ‘मित्राची गोस्ट’ नाटक लेखे। उनको यो नाटकले भारतमा मात्र होइन विश्वका कयौं राष्ट्रमा चर्चा कमायो। अनेकौं पटक विभिन्न थिएटरमा मञ्चन गरियो। अहिले यो नाटक राजधानीमा रहेको मण्डला थियटरमा मञ्चन भइरहेको छ। 

नाटकमा मुख्यतः पाँच पात्र छन्। आयुष प्याकुरेल ‘बाबुलाल’ सुष्मा निरौला ‘सुमी’ शारदा अधिकारी ‘नमा’ अनिल सुब्बा ‘पाण्डु’ र सूर्यमान लिम्बू ‘दलवीर’। पात्रबीचको प्रेम सम्बन्ध, मित्रता र सामाजिक घटना परिघटना नाटकको मुख्य विषयवस्तु बनाइएको छ। यो नाटक सागर चन्दले नेपालीमा अनुवाद गरेर ‘समलिंगी साथीको कथा’ बनाएका छन्। निर्देशकीय दायित्व निभाएकी छन् रेनुका कार्कीले। 
यो नाटक किन मञ्चन गरियो ? हाम्रो समाजमा समलैंगिकको अवस्था कस्तो छ ? नाटकले नेपाली समाजलाई प्रतिनिधित्व गर्न सफल भयो ? फरक परिचय चाहने समुदायको कुरा नाटकमा उतार्न कत्तिको कठिन भयो ? लगायत विषयमा नाटकका कलाकार तथा निर्देशक यस्तो धारणा राख्छन्। 

मञ्चमा बाबुलालले कथा भनिरहेको छ। उसले क्याम्पस जीवनमा भोगेको घटना र साथीहरूबीचको सम्बन्ध व्याख्या गरिरहन्छ। आफूले मन पराएको पात्र समलिंगी भएको थाहा पाएर पनि बाबुलाल सुमीलाई हरपल साथ दिइरहन्छ। आफ्नो भूमिकाबारे आयुष भन्छन्, ‘यो एउटा च्यालेन्जिङ जिम्मेवारी थियो मेरा लागि, सुमीसँगको सम्बन्ध अगाडि बढाउन र केमेस्ट्री मिलाउन लामो समय कुरा गर्ने, रिहर्सलपछि पनि संवाद गुनगुनाइरहने गर्थे।’ नाटकमा बाबुलालको चरित्र निर्वाह गरेपछि आफूमा त्यस्ता वर्गप्रति सकारात्मक सोच पलाएको उनको भनाइ छ। 
बाबुलालको क्लासमेटसँगै रुममेटको भूमिकाका पाण्डु अर्थात्् अनिल सुब्बा छन्। लैंगिक अल्पसंख्यकप्रति अत्यन्तै घृणा गर्ने पात्रको रूपमा नाटकमा आफूले अभिनय गरेको बताउँदै अनिल भन्छन्, ‘सुमीलाई मन पराउँछु तर उसको यथार्थ थाहा पाएपछि म भित्रभित्रै टुट््छु। आम मानिसले लैंगिक अल्पसंख्यकको परिचयलाई स्वीकार्न नसक्ने र आफ्ना साथी पनि विस्तारै टाढिने, संगत गर्न नदिने व्यवहार उनीप्रति गरिन्छ। हरेक मान्छे आफ्नो वास्तविक परिचयसँगै सहज रूपमा जीवनयापन गर्न पाउनुपर्छ। त्यसका लागि नाटकमा आफूले निभाएको भूमिका गलत छ।’ 
 ‘खासमा लैंगिक अल्पसंख्यकप्रति हाम्रो समाज नै विपक्षमा छ’, उनी भन्छन्  नाटकमा दलवीरको भूमिका गरेपछि एक पुरुषको हैसियतमा लैंगिक अल्पसंख्यकप्रति आफ्नो सोचाइ नै परिवर्तन भएको सूर्यमान लिम्बू बताउँछन्। नमालाई पाउन सुमीलाई अत्यन्तै दुःख दिने खराब चरित्र निर्वाह गरेका छन् उनले। 
सूर्यमान भन्छन्, ‘उनीहरू फरक मान्छे त होइनन्। अनुभूति मात्र फरक हो। किन नराम्रो सोच्ने ? ’ नाटकमा आफूले निभाएको चरित्रले आम दर्शकलाई सकारात्मक सन्देश पनि छाडेको उनले दाबी गरे। नाटकमा विरोधाभाष चरित्र निभाएकी छन् नमा अर्थात्् शारदा अधिकारीले। उनी समलिंगी साथी सुमीको सामीप्यमा खुसी देखिन्छिन्। उनीहरू सुनसान कोठामा घण्टौं बसिरहन्छन्। एकअर्कामा चुम्बन गर्छन्, शारीरिक स्पर्शमा खुसी हुन्छन्। तर पनि आफ्नो सम्बन्ध खुलाउन सक्दैनन्। दुई महिलाबीचको आत्मीयता र स्पर्श हेर्दा यस्तो लाग्छ, उनीहरूबीच असीमित आकर्षण छ। नाटकमा आफ्नो चरित्र बाइसेक्सुयल महिलाका रूपमा रहेका जानकारी उनले गराइन्। उनी आफ्नो केटासाथी दलवीरसँग पनि शारीरिक सम्बन्धमा सन्तुष्ट देखिन्छिन् भने समलिंगी साथी सुमीसँग नजिक छिन्।

आफूले निर्वाह गरेको जस्तो चरित्र भएका महिला समाजमा धेरै संख्यामा भएको र खुलेर आउन सक्ने वातावरण नभएको उनले बताइन्। आफ्नो चरित्रबारे प्रस्ट थाहा नहुने तर जीवन निर्वाहका लागि विभिन्न सम्बन्धमा अल्झिरहने समाजका अनगिन्ती पात्रका भूमिका आफूले निभाएको उनी बताउँछिन्। ‘मेरो चरित्रमार्फत धेरै साथीले आफ्नो परिचय र चाहना के हो थाहा पाउन सक्छन्। चरित्रले गरेको व्यवहार गलत होला तर यसले दिने सन्देश भने सकारात्मक छ’, उनले भनिन्। 
नाटकमा बोल्ड र दमदार क्यारेक्टर सुमीको भूमिकामा छिन् सुष्मा निरौला। उनी करिब ६ /७ वर्षदेखि रंगमञ्चमै छिन्। सुमीको चरित्र गर्दा आफूले धेरैपटक आफू समलिंगी महिलाका रूपमा भेटाएकी छन्। भन्छिन्, ‘चरित्रमा म यति धेरै डुबे कि मैले आफू केटी हुँ र पुरुषको सामीप्य चाहन्छु भन्ने नै बिर्सिएँ। समाजमा लैंगिक अल्पसंख्यकहरू कसरी बाँचिरहेका रहेछन् ? हामीले कति अप्ठ्यारो वातावरण सिर्जना गरिदिएका रहेछौं भन्ने राम्रोसँग थाहा पाए।’  फरक चरित्र निर्वाह गर्न गाह्रो भएको उनी बताउँछिन्। ‘कुनै दिन मलाई त्यस्तो केही फिल भयो भने म खुलेर परिवारमा भन्न सक्ने भएकी छु’, उनले भनिन्। 

नाटकमा केही अशोभनीय उखान टुक्का र महिलालाई कमजोर देखाउने खालका स्ल्याङ टिप्पणी पनि गरिन्छ। यसले गर्दा नाटक हेर्ने दर्शकलाई संवाद केही नमीठो लाग्छ। यस्तो किन गरियो त ? निर्देशक रेनुका कार्की भन्छिन्, ‘समाजमा जे छ त्यही देखाउन खोजिएको हो। लैंगिक अल्पसंख्यकले पाउने दुःख, हेलाँ र समाजका कुदृष्टि वास्तवमै पीडादायक छ।’ 

उनले नेपाली समाजमा लैंगिक अल्पसंख्यकलाई अपराधी जस्तै व्यवहार गरिने र उनीहरूको जीवन असहज बनाइदिने गरेको बताइन्। ‘फरक तरिकाले सोच्नै नपाउने भन्ने त छैन नि ? महिलाले महिलानै मन परायो त सँगै बस्न पनि नपाउने यो कस्तो विभेदकारी समाज ? ’ उनी आक्रोश पोख्छिन्।  विजय तेन्दुलकरले लेखेको नाटकको मूल कथामा केही परिवर्तन नगरी संवाद, दृश्य र शैलीमा मात्र आफूहरूले नयाँपन दिएको कार्कीको दाबी छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.